तथ्यजाँच भ्रामक सूचना

भाइरल भिडियो बुर्ज खलिफाको होइन, कुवेतको


भाइरल भिडियो बुर्ज खलिफाको होइन, कुवेतको

केही दिनदेखि सामाजिक सञ्जालमा नेपालीहरूले विदेशको अग्ला भवनका सिसाहरू सफा गरिरहेका भिडियोहरू सार्वजनिक भएका छन्। भिडियोलाई केहीले विश्वको सबैभन्दा अग्लो भवन युएईको बुर्ज खलिफा भएको दाबी गरिरहेका छन्। तर, हाम्रो तथ्य जाँचले उक्त भवन कुवेतको भएको पुष्टि भएको छ।

के हो दाबी ?

24 Ghanta Nepal (२४ घण्टा नेपाल) नामक फेसबुक पेजमा नोभेम्बर २४ सोमबार दिउँसो एउटा भिडियो अपलोड गरिएको छ। क्याप्सनमा लेखिएको छ, “दुबईको ८२८ मिटर अग्लो विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको माथिल्लो तल्लाका झ्यालहरू नेपाली कामदारहरूले सफा गरिरहेको देखियो। यति ठूलो उचाइमा काम गर्दा यस्ता ठूला भवनहरूलाई सफा र सुरक्षित राख्न नेपाली कामदारहरूको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरा देखिन्छ। युएईमा ६,००,००० भन्दा बढी नेपाली कामदारहरू बस्छन् र काम गर्छन्, निर्माण, होटेल र सरसफाइ जस्ता क्षेत्रमा मद्दत गर्छन्। धेरै नेपालीहरू राम्रो काम खोज्न र आफ्नो परिवारलाई सहयोग गर्न युएई जान्छन्। “

१६ सेकेन्ड लामो उक्त भिडियो हामीले तथ्य जाँच गर्दासम्म ६ हजार दुई सय लाइक, २८ कमेन्ट र ६० पटक शेयर गरिएको छ । ११ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको भिडियोलाई हालसम्म ३ लाख ६० हजार पटक हेरिएको छ।

भिडियोमा एक नेपाली युवाले डोरीको सहायताले भवनका सिसा सफा गरिरहेको देखिन्छ । भिडियो खिच्ने अर्का नेपाली युवाले भनिरहेका छन्, “यस्तो छ पानी दिएको अवस्था, के छ लिलु आजको मौसमसम्बन्धी। पानी पर्ला तर हामी बादलमाथि छौँ”

भिडियोको स्क्रिन रेकर्ड :

उक्त फेसबुक पेजमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

के हो तथ्य ?

तथ्य जाँचको लागि हामीले उक्त भिडियोको स्क्रिनसट निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। यस क्रममा हामीले टिकटकमा ‘suku.a28’ युजर नेम भएको मोटु स्पाइडरको टिकटक एकाउन्ट फेला पार्‍यौँ।

उक्त एकाउन्टमा भाइरल भएकै भिडियो अपलोड भएको देखियो। उनको टिकटकमा अपलोड गरिएको उक्त भिडियोमा ८० हजार लाइक, ६ सय बढी कमेन्ट छन् भने १५ लाख पटक उक्त भिडियो हेरिएको छ। तर, उक्त भिडियोमा त्यो दृश्य कहाँको भन्ने खुलाइएको भने छैन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

उनले सो टिकटक एकाउन्टमा सोही किसिमका ५० बढी भिडियोहरु अपलोड गरेका छन्, जसमा केही भिडियोमा कुवेत भनेर पनि लेखेका छन् ।

हेर्नुहोस् स्क्रीन सट :

उक्त टिकटक एकाउन्टमा अपलोड गरिएका भिडियोलाई हामीले थप नियालेर हेर्‍यौँ, धेरै भिडियोको पछाडि एउटा भवन देखिन्छ जुन कुवेतको लिबरेशन टावर भएको पायौं ।

हेर्नुहोस्, गुगलमा भेटिएको तस्वीर :

हेर्नुहोस्, गुगल स्ट्रीट भ्यूबाट देखिएको लिबरेशन टावर :

तथ्य जाँच

दावी : विश्वकै सबैभन्दा अग्लो भवन यूएईको बुर्ज खलिफाको माथिल्लो तल्लाका झ्यालहरू नेपाली कामदारहरूले सफा गरिरहेको भन्दै भाइरल भिडियो ।

दावीकर्ता : “२४ घण्टा नेपाल” नामक फेसबुक पेज ।

तथ्य : भ्रामक सूचना । उक्त भिडियो यूएईको बुर्ज खलिफाको नभई कुवेतको लिबरेशन टावर आसपासको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add