- सुरज घिमिरे
- पुस ४, २०८२

कतारमा हात्ती जोडीको स्वागतबारे भाइरल भिडियो एआईले बनाएको
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप दिएका दुई वटा हात्तीलाई कतारको विमानस्थलमा स्वागत गरिरहेको भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल भिडियो वास्तविक नभई एआई प्रविधिको प्रयोग गरी बनाइएको पुष्टि गरेको छ।
के हो दाबी ?
निर्मल रावत (nirmal_rawat20) नामक टिकटक प्रयोगकर्ताले बिहीबार बिहान ७ बजे टिकटकमा अपलोड गरेको भिडियोमा नेपालको झण्डा र माला लगाइएका दुई हात्तीहरू विमानस्थलमा हिँडिरहेको देखिन्छ। भिडियोमा लेखिएको छ, “रुद्रकली र खगेन्द्रप्रसाद दुई वटा हात्तीलाई सकुशल कतार पुर्याइयो। कतारमा भयो हात्तीहरूलाई भव्य स्वागत।”
३५ हजार ४ सय बढी फलोअर्स भएको उक्त टिकटक एकाउन्टमा राखिएको भिडियोमा हामीले तथ्य जाँच गर्दा ८ हजार १७२ लाइक र तीन सय कमेन्ट गरिएको छ। १० सेकेन्ड लामो भिडियो एक लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ।
निर्मल रावत नामक टिकटक एकाउन्टमा राखिएको भिडियोको स्क्रिनरेकर्ड :
उक्त टिकटक एकाउन्टमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
के हो तथ्य ?
हामीले यस विषयमा बुझ्न भिडियोको स्क्रिनसट लिएर गुगल रिभर्स इमेज सर्च गर्यौँ। धेरैले यो भिडियोलाई विभिन्न सामाजिक सञ्जालहरूमा अपलोड गरेको पायौँ। सोही क्रममा न्युज नेपाल मिडिया नामक फेसबुक पेजले बुधबार राति ९ : ३२ मा सोही भिडियो अपलोड गरेको भेटियो ।
२ लाख ९२ हजार फलोअर्स भएको उक्त पेजमा अपलोड गरिएको भिडियोमा हामीले तथ्यजाँच गर्दै गर्दा ३० हजार बढी लाइक, ५१४ कमेन्ट र दुई हजार बढी पटक शेयर गरिएको छ। साथै, २४ सेकेन्डको उक्त भिडियोलाई १४ लाखभन्दा बढी पटक हेरिएको छ।
“कतार पुगे खगेन्द्रप्रसाद र रुद्रकली” शीर्षकसहित राखिएको उक्त भिडियोमा एआई भिडियो भनेर खुलाइएको छ। साथै, भिडियोको पुछारपट्टी एआई टुल्स जेमिनाइ (Gemini) र भीइओ (Veo) को लोगो देख्न सकिन्छ । यी टुल्सहरू एआई फोटो तथा भिडियो बनाउन प्रयोग गरिन्छ।
हेर्नहोस् स्क्रिनसट :

उक्त फेसबुक पेजमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कतार सरकारलाई नेपाल सरकारले उपहारस्वरूप दिएका दुई वटा हात्ती लिएर कतार एयरवेजको कार्गो विमान बुधबार साँझ साढे ५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। सोही सन्दर्भलाई आधार बनाएर एआई भिडियो बनाइएको हो।
तथ्य जाँच
दावी : कतारमा रुद्रकली र खगेन्द्रप्रसादलाई भव्य स्वागत भन्दै भाइरल भिडियो ।
दावीकर्ता : निर्मल रावत लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य जाँच : भ्रामक सूचना। कतार सरकारलाई नेपाल सरकारले दिएका हात्तीहरू कतार पुगेको सन्दर्भ सत्य भए पनि भाइरल भिडियो एआई प्रविधिको प्रयोग गरी बनाइएको त्यसमा देखिने एआई टुल्सको लोगोबाट पुष्टि हुन्छ।
