तथ्यजाँच भ्रामक सूचना मधेश

जनकपुर अस्पतालका चिकित्सकले बिरामी कुटेको भन्दै भाइरल भिडियो वास्तवमा भारतको


जनकपुर अस्पतालका चिकित्सकले बिरामी कुटेको भन्दै भाइरल भिडियो वास्तवमा भारतको

सामाजिक सञ्जालमा अस्पतालमै चिकित्सकले बिरामीमाथि कुटपिट गरेका भिडियोहरू भाइरल बनेका छन्। उक्त भिडियो जनकपुर अस्पतालको भएको दाबी गरिएको छ । तर, हाम्रो तथ्य यो भिडियो नेपालको नभई भारतको भएको पुष्टि गरेको छ।

के हो दाबी ?

४ लाख २० हजार फलोअर्स भएको ‘नेपाल अपडेट’ नामक फेसबुक पेजमा ‘डाक्टरले बिरामीलाई अस्पतालमै कुटेपछि …’ भन्ने शीर्षकसहित समाचारको शैलीमा डिसेम्बर २३ तारिख मंगलबार एक भिडियो पोस्ट भएको छ। चिकित्सक र बिरामीबिच भएको कुटपिटको भिडियोलाई ब्याकग्राउण्डमा राखेर एक महिलाले उक्त भिडियो जनकपुर अस्पतालको भएको दाबी गरेकी छिन्।

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा १२ सय बढी लाइक, २८ कमेन्ट र १५८ पटक शेयर गरिएको छ भने भिडियोलाई ६५ हजार बढीले हेरेका छन्।

हेर्नुहोस् भिडियोको स्क्रिनरेकर्ड :

उक्त पेजमा अपलोड गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

यस्तै, उक्त भिडियो जनकपुर अस्पतालको भएको दाबी गर्दै ‘देश दुनियाँ अपडेट’ नामक फेसबुक पेजमा पनि अपलोड गरिएको थियो। बुधबार बिहानअपलोड गरिएको उक्त भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा एक लाख १८ हजार लाइक, ३ हजार एक सय कमेन्ट र १३ हजार बढी पटक शेयर गरिएको थियो । उक्त भिडियो ५ मिलियन बढीले हेरेका थिए । यद्यपि, अहिले उक्त भिडियोलाई पेजबाट हटाइएको छ।

हेर्नुहोस् स्क्रिन रेकर्ड भिडियो :

के हो तथ्य ?

हामीले तथ्य जाँचको क्रममा उक्त भिडियोबाट स्क्रीनसट लिएर गुगलमा रिजर्भ इमेज सर्च गर्‍यौँ। सोही क्रममा हामीले भारतीय सञ्चारमाध्यम आजतकमा डिसेम्बर २२ मा “शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजमा बिरामी र डाक्टरबीच भएको झगडाको भिडियो भाइरल” शीर्षकमा प्रकाशित समाचार भेट्यौं, जहाँ भाइरल भिडियोको प्रसङ्ग उठाइएको छ।

आजतकले भारतको हिमाचल प्रदेशको शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी) का मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल रावले घटना गत सोमबार दिउँसो १२ः३० देखि १ बजेको बीचमा भएको बताएको उल्लेख छ। समाचारमा अर्जुन पनवार नामका बिरामी एन्डोस्कोपीको लागि अस्पताल आएका थिए। उनलाई जाँचपछि दुई घण्टा पर्खन सल्लाह दिइएको थियो। यस क्रममा उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अर्को वार्डमा गएर ओछ्यानमा सुतेका थिए । यो विषयमा डाक्टरले उनीमाथि दुर्व्यवहार गरेको समाचारमा उल्लेख गरिएको छ।

हेर्नुहोस् आजतकमा प्रकाशित समाचारको स्क्रिनसट :

 

‘आजतक’मा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् :

यस्तै, भारतीय सञ्चारमाध्यम एनडीटीभीले पनि उक्त भिडियो इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी) को भएको समाचारमा उल्लेख गरेको छ ।

एनडीटीभीमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् :

चिकित्सकले बिरामीमाथि कुटपिट गरेको भिडियोहरू भारतीय इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी) को भएको अस्पताल स्रोतलाई उल्लेख गर्दै थुप्रै भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

तथ्य जाँच

दावी : जनकपुर अस्पतालमा चिकित्सकले बिरामीमाथि कुटपिट गरेको दाबीसहित भाइरल भिडियो।

दावीकर्ता : नेपाल अपडेट, देश दुनियाँ अपडेट लगायतका फेसबुक पेज।

तथ्य जाँच : भ्रामक सूचना। चिकित्सकले बिरामीमाथि कुटपिट गरेको दाबीसहित भाइरल भिडियोहरू जनकपुर अस्पतालको नभई भारतको हिमाचल प्रदेशको शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी) को भएको भारतीय मिडियामा आएका समाचार र त्यसमा राखिएका भिडियोहरुबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add