तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

महेश बस्नेतलाई जुत्ताको माला लगाएर मोसो दलिएको भिडियो यसकारण भ्रामक


महेश बस्नेतलाई जुत्ताको माला लगाएर मोसो दलिएको भिडियो यसकारण भ्रामक

नेकपा एमालेका नेता महेश बस्नेतलाई एक कार्यक्रममा मोसो दलेर जुत्ताको मालासहित जनताले लखेटेको दाबीसहितको एउटा भिडियो सामाजिक स‌ंजालमा भाइरल छ। तर, हाम्रो तथ्य जाँचले यो भिडियो भ्रामक रहेको देखाएको छ भने बस्नेतले बोलेको अडियो भने दुई महिनाअघिको रहेको पुष्टि भएको छ।

के हो दाबी ?

सुमन गाउँले नाम गरेको १ लाख ७ हजार फलोअर्स रहेको फेसबुक आईडीबाट डिसेम्बर २४ मा एउटा भिडिओ पोस्ट भएको छ। भिडियोको शीर्षकमा  ‘एमाले नेता महेश बस्नेतलाई जनताले कालोमोसो दलेर जुताको माला लगाएर कार्यक्रमबाटै लखेटे’ लेखिएको छ। भिडियोमा बोल्ने व्यक्तिले अडियोमा पनि एमाले नेता बस्नेतलाई जनताले जुत्ताको मालासहित मोसो दलेर लखेटेको दाबी गरेका छन्।

भिडियोमा भाषणकर्ता व्यक्तिको गलामा जुत्ताको माला र अनुहारमा मोसो दलिएको देखिन्छ भने अडियोमा महेश बस्नेतकै आवाज सुनिन्छ। अनुहारमा मोसो दलिएका व्यक्तिले भनेका छन्, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ, देशभरी आगो बोल्नेछ, आगो बोल्नेछ।’ 

यो तथ्य जाँच गर्ने समयसम्ममा यो भिडिओले ६ हजार ७ सय रियाक्ट,  ३१५ प्रतिक्रिया, ८ सय ५८ सेयर र २ लाख ५७ हजार भ्युज पाइसकेको छ।

हेर्नुहोस् अनुहारमा मोसो दलिएको र जुत्ताको माला लगाइएको भिडियोको स्क्रिनसट

हेर्नुहोस् सुमन गाउँले नामक फेसबुक आईडीबाट भाइरल भिडियोको स्क्रिनरेकर्ड

हेर्नुहोस् भाइरल भिडिओको अर्काइभ लिंक

यो भिडियोबाट हामीले मोसो दलिएको र गलामा जुत्ताको माला लगाएको भागको मात्रै फ्रेम निकालेर गुगल इमेज सर्च गर्दा फन्नी मिम नेपाल नामक टिकटक एकाउन्टमा यो भिडियो पोस्ट भएको भेटियो। भिडियोको शीर्षकमा ‘भोगटेलाई दशा लाग्यो’ लेखिएको छ।  तथ्य जाँच गर्दासम्म यो भिडिओले टिकटकमा मात्रै २९ हजार ८ सय रियाक्सन, १ हजार २ सय ६६ कमेन्ट र ८ लाख ७१ हजार भ्युज पाइसकेको छ ।

हेर्नुहोस्  फन्नी मिम नेपाल नामक टिकटक एकाउन्टमा पोस्ट भएको भिडियोको स्क्रिनसट

भिडिओको अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

सबैभन्दा पहिले हामीले भिडियोमा सुनिएको तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ, देशभरी आगो बोल्नेछ, आगो बोल्नेछ’ शब्दलाई गुगलमा ‘की वर्ड सर्च’ गर्‍यौँ।

यस क्रममा सेतो सर्ट र कोठे हाफकोट लगाएको पोशाकमा महेश बस्नेतका थुप्रै भिडिओ क्लिपहरु भेटिए। यी पोशाक भाइरल भिडिओसँग मेल खाँदैन। भाइरल भिडिओको अनुहारसँग महेश बस्नेतको अनुहार पनि अमिल्दो देखिन्छ।

त्यहि क्लिपमध्येबाट एउटाको  ‘फ्रेम’ निकालेर गुगल इमेज सर्च गर्‍यौँ। यस क्रममा सूत्र टिभी एचडीले अक्टोबर ९ मा युट्युब च्यानलमा लाइभ भिडियो भेटियो। यो भिडियोको सुरुको ६ मिनेटको आसपासमा महेश बस्नेतले आफ्नो भाषणमा यही शब्द प्रयोग गरेको भेटियो भने भाषणको अडियो लेभल पनि हुबहु मिल्यो। भाइरल भिडियोमा हाउभाउ र अडियोको लेभल मिलेपनि लिप्सिङ र अनुहारलाई अलि ध्यान दिएर हेर्दा ओरिजिनल भिडियोसँग मिल्दैन ।

हेर्नुहोस् सूत्र टिभीको युटुब च्यानलमा लाइभ भएको भिडियोको स्क्रिनरेकर्ड

सूत्र टिभीको युटुबमा भएको लाइभ भिडिओको अर्काइभ लिंक यहाँ छ ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने आवाज उठिरहेको थियो। यही सन्दर्भमा  भक्तपुरको गुण्डुमा अक्टोबर ९ को दिन भएको  पत्रकार सम्मेलनमा एमाले नेता बस्नेतले सम्बोधन गरेका थिए ।

त्यही सम्बोधनका क्रममा बस्नेतले भाइरल भएको भिडियोमा भएको अडियोको जस्तो भाषण गरेका थिए। यो पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सूत्र टिभीसहित अरु थुप्रै मुलधारका मिडियाका युटुब च्यानल र फेसबुकबाटसमेत सार्वजनिक भएको थियो।

हामीले भाइरल भिडिओमा एआईको प्रयोग भएको छ कि छैन भनेर भिडियोको स्क्रिनसटलाई निकालेर जाँच पनि गरेका छौँ। WaistAI मार्फत् जाँच गर्दा यो भिडिओ एआईबाट जेनेरेट भएको हुनसक्ने देखायो।

त्यसैगरी इमेजह्विस्पररबाट जाँच गर्दा पनि एआईबाट जेनेरेट भएको हुनसक्ने देखायो-

 

त्यसैगरी भिडियोलाई सूक्ष्म रुपमा हेर्दा केही फ्रेममा नै भिडियोको दृश्यमा अस्वभाविक परिवर्तन देखिन्छ, जुन एआई भिडियोको संकेत हो।

भिडियोको सुरुवाती फ्रेममा बायाँ छेउमा बस्नेतको लुगामा पनि कालो लागेको देखिन्छ भने अन्तिम फ्रेमतिर त्यो कालो हटेर कोठे लुगा देखिन्छ। केही सेकेन्डको फरकमा यस्तो परिवर्तन वास्तविक भिडियोमा सम्भव हुँदैन।

तथ्य जाँच

दावी : नेकता एमालेका नेता महेश बस्नेतलाई मोसो दलेर जनताले जुत्ताको माला लगाइदिएको दाबीसहितको भिडियो।

दावीकर्ता : सुमन गाउँले नाम गरेको फेसबुक प्रयोगकर्ता र फन्नी मिम नेपाल नाम गरेको टिकटक प्रयोगकर्ता ।

तथ्य जाँच : भ्रामक सूचना। नेकपा एमालेका नेता (हाल सचिव) महेश बस्नेतले दुई महिनाअघि भक्तपुरको गुण्डुमा भएको कार्यक्रममा गरेको भाषणको अडियोलाई अनुहारमा मोसो र गलामा जुत्ताको माला लगाएको एआई भिडियोमा प्रयोग गरेर भ्र‍ामक सूचना फैलाइएको हो। जेनजी आन्दोलनपछि महेश बस्नेतलाई जुत्ताको माला लगाएर अनुहारमा मोसो दलेर लखेटिएको विषय कहीँ कतै पनि सार्वजनिक भएको छैन‍।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add