- सुरज घिमिरे
- माघ ५, २०८२

एक्सप्लेनर : कुहिरो र हुस्सुमा के फरक छ ?
चिसो मौसम सुरु भएसँगै तराई-मधेसको भूभाग हुस्सु र कुहिरोले प्रभावित बन्ने गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागमा हुस्सु र कुहिरो हुने ठाउँको पूर्वानुमान गर्ने गरेको छ। तर, धेरैलाई हुस्सु र कुहिरोको बारेमा थाहा नहुन सक्छ। आज हामी हुस्सु र कुहिरोको बारेमा चर्चा गर्दैछौं।
के हो हुस्सु र कुहिरो ?
हुस्सु र कुहिरो भनेको जमिन नजिकै रहने बादल हो । यदि वरपर तथा नजिकको वस्तुहरू पनि देख्न सकिएको छैन भने त्यति बेला कुहिरो लागेको भनेर बुझ्नुपर्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कुहिरो लागेको समयमा एक किलोमिटरसम्म कुनै पनि वस्तुहरू देख्न सकिँदैन । कुहिरो लागेको बेलामा सापेक्षिक आद्रता लगभग १०० प्रतिशत हुने गर्दछ ।
हुस्सु लागेको बेलामा भने केही परसम्म देख्न सकिन्छ । यदि तपाईँले ५ किलोमिटरसम्म देख्न सक्नुभयो भने हुस्सु लागेको छ भनेर बुझ्नुपर्दछ । हुस्सु लागेको बेलामा सापेक्षिक आद्रता ७० प्रतिशतभन्दा बढी हुने गर्दछ । मौसमविद् लामिछाने भन्छन् – ‘सजिलोको लागि आफू नजिकैको वस्तु देखिएको छैन भने कुहिरो हो । यदि, केही परसम्म देखिएको छ भने हुस्सु हो ।’
एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र एक देखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।
कसरी बन्छ हुस्सु र कुहिरो ?
मौसमविद्का अनुसार हुस्सु र कुहिरो दुवै हावामा रहेको पानीको वाष्प चिसिँदा बन्ने प्राकृतिक अवस्था हुन् । साँझ वा राति आकाश खुल्ला हुँदा जमिन छिटो चिसिन्छ । जमिनसँग सम्पर्कमा रहेको हावा पनि चिसिँदै जान्छ । हावाको तापक्रम घट्दै जाँदा यसले पानीको वाष्प ग्यासको रूपमा सम्हाल्न सक्दैन । तब त्यो वाष्प साना पानीका थोपा वा सूक्ष्म कणमा रूपान्तरण हुन्छ । यी साना थोपा हावामै तैरिरहन्छन् र वातावरण धुम्म देखिन थाल्छ । त्यही अवस्थालाई नै हुस्सु र कुहिरो लागेको भनिन्छ ।
यदि हावामा बनेका पानीका थोपा कम मात्रामा छन् र टाढासम्म केही हदसम्म देख्न सकिन्छ भने त्यो हुस्सु हो । तर, पानीका थोपा धेरै बाक्लो रूपमा जम्मा भएर हेर्न सकिने दृश्य निकै घट्छ र एक किलोमिटरभन्दा कम मात्र देखिन्छ भने त्यसलाई कुहिरो भनिन्छ ।
कति समयसम्म रहन्छ ? कहिले र कसरी हट्छ ?
मौसमविद् हरिप्रसाद दाहालका अनुसार हुस्सु र कुहिरो हिउँदको समय (डिसेम्बर, जनवरी र फेब्रुअरी)मा लाग्ने गर्छ । तर, हुस्सु र कुहिरो ठ्याक्कै यतिसम्म रहन्छ भन्ने हुँदैन ।
हुस्सु र कुहिरो लागेको बेलामा हावा कताबाट बगिरहेको छ, त्यो बेलाको अवस्था कस्तो छ ? तापक्रम कस्तो छ ? भन्नेमा भर पर्छ। उनी भन्छन्, ‘यदि कुनै ठाउँको पारदर्शिता एक वा दुई किलोमिटर रहेको छ भने त्यो ठाउँमा हावाको गति बढ्दै गयो भने बिस्तारै बिस्तारै कम हुँदै जान्छ । यदि हावाको गति कम छ भने त्यस्तो अवस्थामा हुस्सु र कुहिरो लामो समयसम्म रही रहने अवस्था हुन्छ ।’
मौसमविद् दाहाल थप्छन्, ‘हुस्सु र कुहिरो हट्नलाई तापक्रम बढ्दै जानुपर्छ । हावाको गति बढ्दै गयो भने पनि हुस्सु र कुहिरो कम हुन्छ । यदि, पानी पर्ने अवस्था रह्यो भने पनि यो घट्छ ।’
जलवायु परिवर्तनले कस्तो प्रभाव पार्छ ?
हुस्सु र कुहिरो लाग्ने समयलाई ठाउँको विशेषको आधारमा जलवायु परिवर्तनसँग जोड्न सकिन्छ । जलवायु परिवर्तनको कारणले हुस्सु र कुहिरो लाग्ने समय परिवर्तन भएको हुन सक्ने मौसमविद्हरू बताउँछन् । उदाहरणको लागि : पहिलेको समयमा पुसको अन्तिम र माघको सुरुमा लाग्ने हुस्सु र कुहिरो, अहिले पुसको सुरुवातमै लाग्न थाल्यो भने त्यस्तो अवस्थामा जलवायु परिवर्तनको कारणले तापक्रममा आएको बदलावले अगाडि सर्यो भन्न सकिन्छ ।
हुस्सु/कुहिरो लाग्दा किन बढी जाडो महसुस हुन्छ ? यसले कुन कुन क्षेत्रमा प्रभाव पार्छ ?
हुस्सु र कुहिरो लाग्ने समयमा तापक्रम पनि कम हुने र न्यून तापक्रम लामो समयसम्म रहिरहने भएकोले जाडो धेरै महसुस हुने मौसमविद् दाहाल बताउँछन् । उनले हुस्सु र कुहिरोको लागि दैनिक जनजीवन नै प्रभावित बन्ने जिकिर गर्छन् ।
हुस्सु र कुहिरो लागेको बेलामा कृषि, स्वास्थ्य, सडक र हवाई यातायात जस्ता क्षेत्रहरूमा प्रत्यक्ष असर पुग्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनुपर्छ । भिजिबिलिटी कम हुँदा हवाई उडान मात्रै नभएर सडक यातायात पनि प्रभावित बन्छ । यस्तो अवस्थामा गाडी कुदाउँदा हेड लाइट बाल्ने, न्यानो भएर बस्ने, घरपालुवा जनावरलाई पनि चिसोबाट जोगाउनुपर्छ ।
मौसमविद् दाहालको सुझाव छ – ‘हुस्सु र कुहिरो लागेको बेलामा हाम्रो कृषि, स्वास्थ्य र यातायात जस्ता क्षेत्रमा असर गरिरहेको हुन्छ । त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुपर्छ । गाडी कुदाउँदा हेड लाइट बाल्ने, न्यानो भएर बस्ने, घरपालुवा जनावरलाई पनि चिसोबाट जोगाउनु होला ।’