- उमेश श्रेष्ठ
- जेष्ठ २७, २०७७
के अन्तर्राष्ट्रिय उडान खोल्न डब्लुएचओको सहमति आवश्यक पर्छ ?
नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको ‘अर्थ पत्रिका’ मा ‘विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी’ शीर्षकमा समाचार छापिएको छ। समाचारको तेस्रो अनुच्छेदमा लेखिएको छ- ‘अन्तर्राष्ट्रिय उडान खोल्न अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरूको संस्था आएटा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समेत सहमति आवश्यक पर्छ।’
के साँच्चिकै यी संस्थाहरुको सहमति आवश्यक पर्छ त अन्तर्राष्ट्रिय उडान खोल्न? हामीले फ्याक्टचेक गरेका छौँ।
समाचारमा उल्लेख गरिएको आएटा खासमा International Air Transport Association को संक्षिप्त रुप IATA हो। यो समाचारमा लेखिए जस्तो अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरुको संस्था नभएर अन्तर्राष्ट्रिय वायु सेवाहरुको संगठन हो। यसमा नेपालका कुनै पनि एयरलाइन्स कम्पनी सदस्य नै छैनन्।
अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरूको संस्था IATAN (International Airlines Travel Agent Network) हो। यो IATA को एउटा विभाग हो।
समाचारमा IATA र विश्व स्वास्थ्य संगठन WHO को समेत सहमति आवश्यक भएको दावी गरिएको छ। हामीले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई सोध्यौँ, के नेपालमा अन्तर्राष्ट्रिय उडान खोल्न आएटा र डब्लुएचओको समेत सहमति आवश्यक पर्छ?
उनले भने, ‘त्यस्तो होइन। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) आधिकारिक निकाय हो। नेपाल सरकारले निर्णय गर्यो भने हामी उडान तालिका स्वीकृत गरी खोल्छौँ।’
प्राधिकरण नेपालको हवाई क्षेत्रको नियामक संस्था हो।
डब्लुएचओले स्वास्थ्यका सम्बन्धमा सल्लाह मात्र दिन्छ। हवाई यात्राका बारेमा पनि डब्लुएचओले विभिन्न सल्लाह दिने गरेको छ। तर त्यसलाई मान्ने/नमान्ने सम्बन्धित सरकारको निर्णय हुन्छ। सरकारको निर्णय अनुसार सम्बन्धित देशको उड्डयन नियामक निकायले उडान खोल्ने वा बन्द गर्ने निर्णय गर्छ।
निश्कर्ष : अन्तर्राष्ट्रिय उडान खोल्न आएटा र डब्लुएचओको सहमति आवश्यक पर्ने समाचार गलत छ।