एक्सप्लेनर सही सूचना

एक्सप्लेनर : सुख्खा र न्यानो हिउँद – किन परेन पानी ?


एक्सप्लेनर : सुख्खा र न्यानो हिउँद – किन परेन पानी ?

हिउँद वर्षको सबैभन्दा चिसो मौसम हो। डिसेम्बरदेखि फेब्रुअरीसम्म अर्थात् १५ मङ्सिरदेखि १५ फागुनसम्मको अवधिलाई हिउँद मानिन्छ। सामान्य अवस्थामा नेपालमा हिउँदमा औसत ६०.९ मिलिमिटर वर्षा हुने गर्छ।

तर यस वर्ष माघ सुरु भइसक्दा पनि नेपालभर अस्वाभाविक रूपमा सुख्खा हिउँद देखिएको छ। पहाड र तराईमा अपेक्षित पानी परेको छैन भने हिमाली क्षेत्रमा पनि अपेक्षित हिमपात हुन सकेको छैन।

यो वर्षको हिउँद किन यति सुख्खा भयो ? यही प्रश्नको उत्तर खोज्न हामीले मौसमविद्‍हरुसित कुरा गरेका छौँ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हिउँदको वर्षा मुख्यतः पश्चिमी वायु प्रणाली (Western Disturbance) को प्रभावबाट हुन्छ। यो प्रणाली भूमध्यसागर आसपास विकसित भएर इरान–पाकिस्तान हुँदै उत्तर भारत र नेपालसम्म आइपुग्छ। सक्रिय हुँदा यसले बादल, वर्षा र हिमपात गराउँछ।

सामान्य अवस्थामा पुसदेखि फागुनसम्म यो प्रणाली २–३ पटक सक्रिय हुन्छ। त्यसबेला पहाडी र हिमाली क्षेत्रमा पानी तथा हिउँ पर्छ, जसले खेती, जलस्रोत र वातावरणलाई सन्तुलनमा राख्न मद्दत गर्छ।

यस वर्ष हिउँदमा किन पानी परेन ?

यस वर्षको हिउँद सुक्खा र न्यानो रहनुको मुख्य कारण भनेकै पानी पार्ने पश्चिमी वायु प्रणाली सक्रिय नहुनु हो।

मौसमविद् अशोक बख्रेलका अनुसार हिउँद सुरु भएदेखि नै वर्षा हुने सम्भावना न्यून देखिएको थियो।  “नेपालमा हिउँदमा कुल वार्षिक वर्षाको दुईदेखि पाँच प्रतिशत मात्रै पर्छ,” बख्रेल भन्छन्, “हिउँद आफैंमा कम पानी पर्ने मौसम हो। यस वर्ष त सुरुदेखि नै पश्चिमी प्रणाली कमजोर देखियो।”

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा हुने मौसमको ठूलो चाललाई एल निनो–ला निना भनिन्छ। अहिले यो प्रणाली ला निना तर्फ कमजोर अवस्थामा छ, जसको अर्थ यसले नेपालमा पानी पार्न सहयोग गर्ने शक्ति राम्रोसँग देखाउन सकेको छैन। हिउँदको अन्त्यतिर यो अवस्था सामान्य (तटस्थ) बन्दै जाने अनुमान छ, अर्थात् न धेरै असर गर्ने, न धेरै पानी पार्ने।

यस्तै, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल पनि अहिले तटस्थ अवस्थामा छ। तटस्थ अवस्था भनेको मौसमलाई न त विशेष रूपमा सहयोग गर्ने, न त रोक्ने स्थिति हो। यी दुवै महासागरबाट सहयोग नपाउँदा नेपालमा हिउँदमा पानी पर्न सकेन र मौसम अस्वाभाविक रूपमा सुक्खा रह्यो।

“प्रशान्त महासागरमा कस्तो किसिमको मौसम प्रणाली सक्रिय छ भन्ने कुराले नेपालमा पानी पर्ने वा नपर्ने निर्धारण गर्छ,” बख्रेलको भनाइ छ।

यसै आधारमा जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो। गत वर्ष २०८१ को हिउँदमा पनि यही अवस्था देखिएको थियो।

हिउँद सुख्खा हुँदा के असर पर्छ ?

हिउँदको वर्षा सामान्यतया हल्कादेखि मध्यम खालको हुन्छ। मनसुनजस्तो निरन्तर र भारी हुँदैन। तर यही थोरै वर्षाले पनि खेती, हिमाल र वातावरणमा महत्वपूर्ण भूमिका खेल्छ।

यस वर्ष पानी नपर्दा गहुँ, जौ, तोरी, मुसुरो, आलु, तरकारी र फलफूलजस्ता हिउँदे बालीमा प्रत्यक्ष असर परेको छ। हिमाली क्षेत्रमा हिमपात नहुँदा हिमालहरू कालो ढुंगाजस्ता देखिन थालेका छन्। धुलो जम्दा वायु प्रदूषण बढ्दो क्रममा छ।

अब कहिलेदेखि पर्ला पानी ?

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन। तर मौसमविद्हरूले हिउँद सकिनु अघि केही वर्षाको सम्भावना भने देखेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार माघको दोस्रो सातातिर पानी पर्न सक्छ। “माघ ९ गतेदेखि पश्चिम नेपालबाट सुरु हुने झरी माघ १३ गतेसम्म रहने सम्भावना देखिन्छ,” उनी भन्छन्, “माघे झरी पर्ने संकेत देखिएको छ।”

यस वर्षको हिउँद सुक्खा हुनु आकस्मिक घटना होइन। कमजोर पश्चिमी वायु प्रणाली, महासागरीय मौसम चक्रको तटस्थ अवस्था र पूर्वानुमानअनुसारकै कम वर्षाले यो अवस्था आएको हो। अब हिउँद सकिनुअघि थोरै भए पनि पानी परे कृषि र वातावरणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add