- टेकमान शाक्य
- माघ १३, २०८२

त्रिशुली किनारमा मानव अवशेष भेटिएको भन्दै भाइरल फोटो सही होइन
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन् गर्ने क्रममा मानव कङ्काल भेटिएको भनेर अहिले एउटा फोटो भाइरल बनिरहेको छ। तर हाम्रो तथ्य जाँचले मानव अवशेष भेटिएको कुरा साँचो भएपनि भाइरल भइरहेको फोटो भने सही नभएको पुष्टि भएको छ।
के हो दाबी ?
२ लाख ४७ हजार फलोअर्स रहेको ‘रुटिन अफ पाँचखाल’ नामक फेसबुक पेजले सिमलताल पहिरो उद्धारको क्रममा त्रिशुली किनारमा मानव अवशेष भेटिन थालेको दाबीसहितको फोटो पोष्ट गरेको छ। उत्खननमा खटिएका व्यक्तिहरुले शरीरभन्दा माथिको मानव कंकाल भेट्टाएर देखाइरहेको फोटोमा यो तथ्य जाँच गर्ने समयसम्ममा २ हजार ६ सय लाइक, ४७ कमेन्ट र ३३ सेयर पाइसकेको छ ।
पोष्टमा लेखिएको छ –
सिमलताल पहिरो उद्धारको १७औँ दिन: त्रिशूली किनारबाट मानव अवशेष भेटिन थाले😲
सिमलतालको भीषण पहिरोले निलेको गणपति डिलक्स बसको उद्धार कार्य १७औँ दिनमा पनि जारी छ। उद्धारका क्रममा माटो, बालुवा र पानीले पुरिएको क्षेत्रमा मानव शव–कंकाल भेटिन थालेपछि घटनाले फेरि सबैलाई स्तब्ध बनाएको छ। डेढ वर्षसम्म मौनजस्तै बनेको त्रिशूली नदी किनार आज पुनः पीडाको साक्षी बन्दै गएको छ। प्रत्येक भेटिने अवशेषसँगै आफन्तहरूको आशा, प्रतीक्षा र आँसु झल्किरहेको अनुभूति हुन्छ। यो उद्धार कार्य केवल बेपत्ता बसको खोजी मात्र नभई, अधुरो कथा र नटुंगिएको विदाइको पीडासँग जोडिएको छ। खोजी कार्य निरन्तर जारी छ र साथसाथै सबैको प्रार्थना पनि।
हेर्नुहोस् भाइरल फोटोसहितको फेसबुक पोष्ट

फेसबुक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यस्तै फोटोसहितको दावी यो फेसबुक पेजमा पनि गरिएको छ।
के हो तथ्य ?
यो फोटोको तथ्य जाँचको क्रममा सबैभन्दा पहिले हामीले उत्खननको क्रममा मानव कंकाल भेटिएको समाचार कतै प्रकाशित भएको छ कि छैन भनेर खोज्यौं । यसैक्रममा नागरिकन्यूजले ‘सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो’शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो ।
हेर्नुहोस् नागरिक न्यूजको समाचारको स्क्रिनसट

नागरिक न्यूजमा प्रकाशित समाचारको अर्काइभ लिंक यहाँ छ ।
यसबारे हामीले जिल्ला प्रहरी कार्यलय तनहुँका डीएसपी श्रवण कुमार विकलाई पनि सम्पर्क गर्यौँ। उनले पनि त्रिशुली नदी किनारमा एकजना व्यक्तिको कम्मरभन्दा माथिको कंकाल भेटिएको पुष्टि गरे।
त्यसपछि हामीले आँबुखैरेनी प्रहरीका इन्सपेक्टर प्रदीप सुवेदीलाई सोध्यौँ। सुवेदीले पनि नेपालफ्याक्टचेकसँग कुरा गर्दै मानव कंकाल भेटिएको पुष्टि गरे।
तर उनले कंकाल भेटिएको फोटो अहिलेसम्म कतै पनि सार्वजनिक नगरको बताए। मानव कंकाल भेटिएपछि त्यसलाई परीक्षणका लागि सम्बन्धित ठाउँमा लगिएको, नतिजा नआउन्जेलसम्म उद्दारको कामसमेत रोकिएको सुवेदीले बताए । सामाजिक संजालमा आएका सबै फोटो वास्तविक नरहेको उनले दाबी गरे।
सुवेदीले घटना सत्य भएपनि तस्बिर भने सत्य नरहेको बताएसँगै हामीले ती फोटो एआई जेनेरेटेड हो कि होइन भनेर जाँच गरेर हेर्यौँ। WasitAI मा जाँच गर्दा यसले एआईमार्फत बनाइएको देखायो ।
हेर्नुस् स्क्रिनसट-

त्यसैगरी इमेजह्विस्पररमा जाँच गर्दा पनि यसलाई एआई जेनेरेटेड नै देखायो।
