- सुरज घिमिरे
- माघ १५, २०८२

एक्सप्लेनर : मानिस र जङ्गली जनावर किन आमनेसामने परिरहेका छन् ?
चितवनको माडीमा घाँस–दाउरा गर्न गएका माडी नगरपालिका–१ का अशोक भट्टराईलाई सोमबार दिउँसो करिब तीन बजे गैँडाले आक्रमण गर्यो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही साँझ भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भयो।
यस्तै, दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा आँगनमै घाम तापेर बसिरहेका ८० वर्षीय प्रदीप सिंहको जङ्गली बँदेलको आक्रमणबाट ज्यान गयो।
यसअघि सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पनि केही दिनकै अन्तरमा पाटे बाघको आक्रमणबाट तीन जनाको मृत्यु भयो। ज्यान गुमाउनेमा सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारू, सल्यान कालीमाटी गाउँपालिका–७ की धनसरी रावत र कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडी रहेका छन्।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्था भयावह बन्दै गएपछि अन्ततः डिभिजन वन कार्यालय सल्यानले उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्न बाध्य भयो ।
यी सबै घटना एकै हप्ताभित्र भएका हुन्, जसले समस्या आकस्मिक नभई गम्भीर बन्दै गएको संकेत गर्छ।
यी घटनालाई किन सामान्य दुर्घटना भन्न मिल्दैन ?
यी घटना अलग–अलग ठाउँमा भए पनि कारण एउटै दिशातर्फ देखिन्छ।
पछिल्ला केही वर्षयता नेपालमा मानव–वन्यजन्तु द्वन्द्व अकल्पनीय रूपमा बढ्दै गएको छ। बाघ, हात्ती, गैँडा, चितुवा र भालुजस्ता जङ्गली जनावरसँग मानिसको जम्का भेट बढ्दै गएको छ। यसका कारण मानिसको ज्यान जाने, घाइते हुने, पशुधन मर्ने र खेतबारी नष्ट हुने घटना निरन्तर बढिरहेका छन्।
यी सबैलाई सामान्य संयोग वा दुर्घटना भनेर छोड्दा जोखिम झन् बढ्ने विज्ञहरूको चेतावनी छ।
के हो मानव–वन्यजन्तु द्वन्द्व ?
मानव–वन्यजन्तु द्वन्द्व भनेको मानिस र जङ्गली जनावरबीच हुने टकराव हो। जङ्गली जनावरले मानिसमाथि आक्रमण गर्नु, किसानको बालीनाली नष्ट गर्नु वा मानिससँगको टकरावमा जनावर मारिनु यसका रूप हुन्।
नेपालमा यस्तो द्वन्द्व विशेष गरी तराईका संरक्षित क्षेत्र वरपरका बस्तीहरूमा बढी देखिन्छ। हात्ती, बाघ, गैँडा, चितुवा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु र बाँदरजस्ता जनावर यसमा संलग्न हुने गरेका छन्।
द्वन्द्व किन बढ्दै गइरहेको छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार द्वन्द्व भनेको एउटै स्रोत एउटै समयमा दुई पक्षले उपभोग गर्न खोज्दा हुने टकराव हो। उनका अनुसार नेपालमा मानव–वन्यजन्तु द्वन्द्व बढ्नुका पछाडि प्राकृतिक र मानवीय दुवै कारण जिम्मेवार छन्।
नेपालमा अधिकांश द्वन्द्व संरक्षित क्षेत्र वरपर देखिन्छ। बढ्दो जनघनत्व र अव्यवस्थित भू–उपयोगका कारण जङ्गल क्षेत्र घट्दै गएको छ। यसले वन्यजन्तुको वासस्थान सानो बनाएको छ र उनीहरू गाउँबस्ती पस्न बाध्य भएका छन्। यसबाट संरक्षित क्षेत्रभित्र र वरपर बसोबास गर्ने समुदायले मानवीय र आर्थिक क्षति भोग्दै आएका छन्।
जङ्गल उपयोग गर्दा किन द्वन्द्व बढ्छ ?
नेपालमा राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रमा मानव प्रवेश प्रतिबन्धित भए पनि मध्यवर्ती र सामुदायिक वन मानिसहरूले नियमित रूपमा प्रयोग गर्दै आएका छन्। घाँस, दाउरा र अन्य स्रोत उपभोग गर्ने क्रममा मानिस र वन्यजन्तु दुवैका लागि जोखिम बढ्ने अवस्था सिर्जना हुन्छ। आचार्यका अनुसार मानिस र जनावर दुवैलाई घाटा नहुने गरी स्रोतको उपयोग गर्न सक्नु नै सहअस्तित्वको बाटो हो।
विकास र पूर्वाधारले कसरी समस्या बढायो ?
वन क्षेत्रमा सडक, भवन र अन्य भौतिक पूर्वाधार विस्तार हुनु पनि द्वन्द्वको अर्को कारण हो। जङ्गल कृषि भूमि हुँदै सडक र बस्तीमा रूपान्तरण हुँदै जाँदा जनावरको पुरानो बाटो र वासस्थान हराउँदै गएको छ। यसबारे आचार्य भन्छन्,
“आजभन्दा १०–२० वर्ष अगाडि वन रहेको क्षेत्रमा अहिले बस्ती बसेको हुन सक्छ। कतिपय वन्यजन्तुले आफ्नो पुर्खाले प्रयोग गरेको वन र जमिन प्रयोग गर्न सिकेका हुन्छन्। पहिले जङ्गल थियो भनेर सोचेर बाहिर निस्किँदा अहिले त्यहाँ मानव बस्ती हुँदा जम्का भेट हुन्छ, र त्यहीँबाट द्वन्द्व सुरु हुन्छ।”
वन्यजन्तु बढ्नु पनि समस्या किन बन्यो ?
संरक्षित क्षेत्रमा बाघलगायत जङ्गली जनावरको संख्या बढ्दै गएको छ। संख्या बढेपछि उनीहरू नयाँ क्षेत्र खोज्दै मध्यवर्ती र सामुदायिक वनसम्म पुग्छन्। यी वन क्षेत्र मानिसहरूले वर्षौँदेखि प्रयोग गर्दै आएका हुनाले त्यहाँ मानिस र जनावरको भेट हुने सम्भावना बढी हुन्छ।
यसबारे आचार्य भन्छन्, “निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुको सङ्ख्या वृद्धि हुँदै जाने र उनीहरूले नयाँ ठाउँ खोज्ने क्रममा मध्यवर्ती र सामुदायिक वनमा पुग्दा मानिससँग द्वन्द्व हुने सम्भावना बढी हुन्छ।”
तथ्यांकले के भन्छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो आठ वर्षमा मात्रै वन्यजन्तुको आक्रमणबाट २५१ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा १४ जनाको मृत्यु भयो भने हजारौँ क्षतिको घटना दर्ता भए। अघिल्लो वर्ष २०८०/८१ मा मात्रै १८ जनाको मृत्यु भयो। यस अवधिमा सयौँ मानिस घाइते भए र सयौँ घरगोठमा क्षति पुग्यो। उता, संरक्षित क्षेत्रमै सयौँ वन्यजन्तुको मृत्यु भएको तथ्यांक पनि छ।
जलवायु परिवर्तनले द्वन्द्व कसरी बढायो ?
मानव–वन्यजन्तु द्वन्द्व बढ्नुमा जलवायु परिवर्तनको भूमिका गहिरो छ। तापक्रम बढ्नु, लामो समयसम्म खडेरी पर्नु र अत्यधिक वर्षाले जङ्गलभित्रको सन्तुलन बिगारेको छ।
पानीका स्रोत सुक्दा र सिकार जनावर घट्दा बाघ र चितुवाजस्ता जनावर गाउँबस्ती नजिक आउन थालेका छन्। यसबारे आचार्य भन्छन्, “तापक्रम बढ्दा पानी पर्ने प्रणाली प्रभावित हुन्छ। पानीको खोजीमा वन्यजन्तुहरू लामो दूरीसम्म हिँड्नुपर्ने र गाउँ बस्ती पस्नुपर्ने अवस्था आउँछ।”
वन्यजन्तुको आक्रमणबाट जोगिन के गर्न सकिन्छ ?
मानव–वन्यजन्तु द्वन्द्व पूर्ण रूपमा हटाउन कठिन भए पनि न्यूनीकरण गर्न सकिन्छ। आचार्यका अनुसार मध्यवर्ती र सामुदायिक जङ्गलमा घाँस–दाउरा गर्न जाँदा एक्लै नभई समूहमा जानुपर्छ। बिहान र साँझभन्दा दिउँसोको समयमा हिंस्रक जनावर कम सक्रिय हुने भएकाले जोखिम कम हुन्छ। यसबारे उनी भन्छन्,“द्वन्द्वलाई न्यूनीकरण गर्न सकिन्छ, तर शून्यमा ल्याउन चुनौती छ। निरन्तर सचेतता र प्रयास जरुरी हुन्छ।”
मानव–वन्यजन्तु द्वन्द्व मानिस वा जनावरको मात्रै समस्या होइन। यो विकास, जङ्गल व्यवस्थापन र जलवायु परिवर्तनसँग गाँसिएको साझा संकट हो। सहअस्तित्वको सोच, प्रभावकारी नीति र नागरिकको सचेत व्यवहार बिना यो समस्या झन् गहिरिँदै जानेछ। अबको बाटो भनेको मानिस र जङ्गल दुवै सुरक्षित हुने गरी समाधान खोज्नु नै हो।



