- सुरज घिमिरे
- माघ १६, २०८२

के बालेनको फेसबुक स्टायटस एआईले लेखेको हो?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले शुक्रबार सहिद दिवसको अवसरमा फेसबुकमा लेखेको स्टायटस एआई प्रयोग गरेर लेखेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ तर, हाम्रो तथ्य जाँचमा भने यो स्टायटस एआईबाट नै लेखिएको प्रमाण भेटिएन, फलस्वरुप दावी पुष्टि हुन सकेन।
के हो दाबी ?
शुक्रबार (जनवरी ३०) बिहान १० बजे हुसेन मिया नामका फेसबुक प्रयोगकर्ताले बालेनले सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको स्टायटस एआईले लेखेको दाबी गरे।
‘एआईबाट स्ट्याटस लेखेर वाहवाही बटुल्नको साटो बरु प्रधानमन्त्री नै एआईबाट बनाम…’ शीर्षकसहित गरिएको दाबीमा १०० प्रतिशत एआई जिपिटी लेखिएको स्क्रिनसट पनि राखिएको छ। हामीले तथ्य जाँच गर्दैगर्दा ३ हजार ५ सय रियाक्सन, ६३३ कमेन्ट र ५३ पटक सेयर गरिएको छ ।
हेर्नुहोस्, हुसेन मियाले पोस्ट गरेको फोटोको स्क्रिन सट :

हुसेन मियाले फेसबुकमा गरेको पोस्टको लिङ्क र अर्काइभ लिङ्क
अरु पनि धेरै फेसबुक प्रयोगकर्ताले यही स्क्रिनसट राख्दै यस्तै दावीसहितका पोस्ट गरेका छन्।
के हो तथ्य ?
भाइरल दावीमा कुन टुल प्रयोग गरी जाँच गरिएको भनेर त लेखिएको छैन। तर रिजल्टमा प्रयोग गरिएको गज मिटर र शैली जेरोजिपिटीसित मेल खान्छ। हामीले बालेनले लेखेको स्टायटसका शब्दहरु कपि गरेर त्यसमा राखी हेर्दा नतिजा यस्तो आयो-
त्यसैगरी हामीले अर्को एआई डिटेक्टर जिपिटीजिरोमा राखेर चेक गर्यौँ। तर, जीपीटी जिरोले एआईको प्रयोग नगरिएको नतिजा दियो।
हेर्नुहोस्, जीपीटी जिरोले दिएको नतिजा :

हामीले थप जाँच गर्ने क्रममा स्क्रिबर नामक एआई डिटेक्टरमा पनि बालेनले लेखेको स्टायटसलाई राखेर हेर्यौँ। स्क्रिबर नामक एआई डिटेक्टरले पनि उक्त स्टायटसमा एआई प्रयोग नभएको निष्कर्ष निकाल्यो ।
हेर्नुहोस्, स्क्रिबरले दिएको नतिजा :

यस्तै, हामीले एआई डिटेक्टर ग्रामर्लीमा पनि बालेनको स्टाटसलाई जाँच गर्यौँ। ग्रामर्लीले पनि उक्त स्टाटस एआईको प्रयोग गरी लेखिएको भन्ने दाबीलाई पुष्टि गर्न सकेन।
हेर्नुहोस्, एआई डिटेक्टर ग्रामर्लीले निकालेको नतिजा :

एउटा टुलले मात्र एआई देखाएको र अरु टुलहरुले नदेखाएको कारण हामीले एआई प्रयोग भएको नतिजा देखाउने टुल जेरोजिपिटीमा हामी आफैले लेखेको यो तथ्य जाँचको सुरुको अनुच्छेदलाई राखी हेर्यौँ।
यसले हामी आफैले लेखेको अनुच्छेदलाई पनि ६३.४२ प्रतिशत एआईले लेखेको नतिजा दियो। हेर्नुस् स्क्रिनसट-
के एआईले लेखेको हो/हैन पत्ता लगाउन सकिन्छ ?
च्याटजिपिटी बनाउने कम्पनी ओपनएआईले सन् २०२३ मा एआईले लेखेको हो कि हैन भनी अनुमान लगाउने भन्दै एआई क्लासिफायर सेवा सुरु गरेको थियो।
तर परिणाम के भयो भने धेरै फल्स पोजिटिभ देखियो अर्थात् मानिसको लेखाइलाई एआई भनेर देखाउने भयो। नेपाली, हिन्दी, जस्ता भाषामा झन् कमजोर देखियो। छोटो टेक्स्टमा लगभग काम नगर्ने देखियो।
त्यसपछि उसले २०२३ को जुलाई २० देखि यो सेवा बन्द गर्यो।
ओपनएआईको स्पष्ट सन्देश थियो- एआईले लेखेको हो कि हैन प्रभावकारी रुपमा पत्ता लगाउने टुल अहिले छैन।
यसको अर्थ हो अहिले चलिरहेका ZeroGPT, GPTZero, स्क्रिबर, ग्रामर्ली लगायतका सेवा सबै अनुमानमा आधारित छन्, प्रमाणमा होइन। च्याटजिपिटी बनाउने ओपनएआईले नै आफ्नो एआई टेक्स्ट डिटेक्टर अविश्वसनीय भन्दै बन्द गरिसकेको अवस्थामा, तेस्रो पक्षका डिटेक्टरलाई प्रमाण मान्न मिल्दैन। । यस्ता उपकरणहरूले प्रमाण होइन, अनुमान (probability) मात्र दिन्छन्।
यसकारण, एआई डिटेक्टरको स्क्रिनसट मात्र देखाएर गरिएको दावी भ्रामक हुन्छ।
तथ्य जाँच
दावी : बालेन शाहले एआईको प्रयोग गरी सहीद दिवसबारे स्टायटस लेखेको भन्दै गरिएको दाबी।
दावीकर्ता : हुसेन मिया नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : अपुष्ट सूचना। एआई डिटेक्टरको स्क्रिनसट मात्र देखाएर गरिएको दावी भ्रामक छ। कुनै एआई डिटेक्टरले एआई हो भन्छ भने कुनैले एआई होइन। एआई हो भन्ने र होइन भन्ने दुवैका लागि ठोस प्रमाण उपलब्ध छैन।



