- नेपाल फ्याक्ट चेक
- माघ १७, २०८२

पैसा, मोबाइल र पेट्रोल सित्तैमा बाँड्ने गगन थापाको भाइरल भाषण : सन्दर्भ लुकाउँदा बन्यो भ्रामक
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई प्रधानमन्त्री बनाए ६० वर्ष नाघेकालाई घरमै बसीबसी महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष नाघेकालाई निःशुल्क मोबाइल किनिदिने र मोटरसाइकल चलाउनेलाई बाइकमा तेल हालिदिने जस्ता दाबी गरिएको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।
तर, हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक भएको पुष्टि गरेको छ। उक्त भिडियो गगन थापाको भाषण काँटछाँट गरी गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको हो।
के छ दावी ?
एक लाख २२ हजार फलोअर्स रहेको विवेक इन जापान (Bibek in japan) नामक फेसबुक पेजमा ‘मलाई आइफोन है गगन दाइ’ क्याप्सन राखेर एउटा भिडियो अपलोड गरिएको छ।
भिडियोको स्क्रिनमा ‘सर्लाहीवासीहरु होसियार, यस्ता गफाडीबाट आस गर्नु मूर्खता हो’ लेखिएको छ।
भिडियोमा थापाले भनिरहेका छन्, – ‘मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्तो निर्णय गरिदिन्छु भने ६० वर्ष नाघेको सबै मानिसलाई घरमा बसिबसि ३० हजार रुपैयाँ,.. सप्पैलाई । १८ वर्ष पुरा भएको सबै मान्छेलाई एउटा मोबाइल फ्रि, त्यसमाथि पनि आइफोन चलाउने कि सामसुङ चलाउने रोजी रोजी। मोटरसाइकल चड्ने मान्छेलाई वर्षको सय लिटर तेल फ्रि । म जतिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ ? सप्पैलाई दिइदिन्छु, सप्पै कुरा फ्रि…।
जनवरी २७ मा अपलोड गरिएको उक्त भिडियोमा हामीले तथ्यजाँच गर्दासम्म ९२९ रियाक्सनसहित एक लाख भन्दा धेरै पटक हेरिएको छ। त्यस्तै, २९१ वटा कमेन्ट र ४३० पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनरेकर्ड
यही भिडियो क्लिप अरु पनि थुप्रैले सेयर गरेका छन्।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सुरुमा उक्त भिडियोको स्क्रिनसट निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ । त्यो क्रममा गगन थापाले भाषण गरेका विभिन्न भिडियो भेटिए।
ती भिडियोलाई हेर्ने क्रममा समाधान न्यूजले सन् २०२२ मार्च ४ मा फेसबुकमा एक घण्टा तीन मिनेट लामो भिडियो अपलोड गरेको भेटियो। फरक एंगलले खिचेको उक्त भिडियोमा ‘पोखरामा शुक्रबार कांग्रेस महामन्त्री गगन थापाको मन्तव्य’ क्याप्सन राखिएको छ।
हेर्नुस, पूरा भिडियोको लिंक
भिडियोको ब्यानरमा ‘नेपाली काँग्रेस मादी गाउँपालिका अगुवा कार्यकर्ता भेला’ लेखेको देख्न सकिन्छ। ब्यानरमा कार्यक्रमकाे मिति २०७८ साल फागुन २० र २१ गते उल्लेख छ भने स्थान शीतलादेवी पार्टी प्यालेस, पाेखरा उल्लेख छ। त्यो ब्यानरको विवरण र मञ्चमा बसेका मानिस थापाको भाइरल भिडियोमा देखिएका मानिसँग मिल्न जान्छ।
त्यसपछि हामीले उक्त भिडियोलाई पूरै सुन्यौँ। उक्त भिडियोको ४४ मिनेटमा थापाले ‘कमाउने धन्दा बन्द भयो भने दिने धन्दा पनि बन्द हुन्छ, हेर्नुस्…’ भनेका छन्। त्यसपछि उनले ‘दिने कुराको निर्णय गर्न सबैभन्दा सजिलो हुन्छ, हेर्नुस्,…. भनेपछि …मलाई प्रधानमन्त्री बनाइदिनुस्’ भनेको प्रसंग सुरु हुन्छ।
भाइरल भिडियोमा, ‘…म जतिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ ? सप्पैलाई दिइदिन्छु, सप्पै कुरा फ्रि….’ भनेपछिको प्रसङ्ग राखेर त्यो सकिने बेलाको भाषण भने काटिएको छ।
अर्थात् उनले, ‘… सप्पैलाई दिन्छु, सप्पै कुरा फ्रि .. भनेपछि ,… ‘ सबैले वाह वाह गर्छ ताली बजाउँछ । मलाई कसैले यो प्रश्न सोध्दैन कि त्यो नि:शुल्क दिन चाहिँ ढुकुटीमा कहाँ पाइन्छ भन्ने कसैले सोध्दैन्’ भनेका छन्।
तर भाइरल भिडियोमा थापाले प्रसङ्ग टुंगाउन भनेको यो प्रसङ्ग काटिएको छ। थापाले त्यसपछि त्यो प्रसङ्ग टुंग्याउँदै भनेका छन्, ‘यस्तो प्रश्न सोध्नु पर्छ। तर, सोध्दै सोध्दैनन्। ताली बजाएर बस्छ। किनभने उत्तेजनाको राजनीति छ।’
हेर्नुस्, स्क्रिनरेकर्ड
यो भिडियो यसअघिको निर्वाचन अर्थात् २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि फैलिएको थियो जसको तथ्य जाँच नेपाल चेकले गरेको थियो।
तथ्यजाँच
दावी : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई प्रधानमन्त्री बनाइदिए ६० वर्ष नाघेकालाई घरमै बसीबसी पैसा, १८ वर्ष नाघेकालाई मोबाइल र मोटरसाइलमा वर्षमा सय लिटर तेल फ्री गरिदिने बताए।
दावीकर्ता : विवेक इन जापान नामक फेसबुक पेज।
तथ्यजाँच : भ्रामक सूचना । कांग्रेस सभापति गगन थापाले त्यस्तो घोषणा गरेका होइनन्। उनले ‘दिने कुराको निर्णय गर्न सबैभन्दा सजिलो हुन्छ’ भनेर उदाहरण दिने क्रममा बोलेको अंशलाई तोडमोड गरी भ्रम फैलाइएको हो। उनले सबैकुरा निःशुल्क दिने निर्णय गर्दा त्यो कहाँबाट आउँछ भन्ने कुरा सोध्नुपर्छ भनेको प्रसङ्ग काटेर भिडियो हालिएको छ।
