एक्सप्लेनर सही सूचना

एक्सप्लेनर : के हो हिमपात ? हिउँ पर्नु राम्रो कि नराम्रो ?


एक्सप्लेनर : के हो हिमपात ? हिउँ पर्नु राम्रो कि नराम्रो ?

गत शुक्रबारदेखि देशका विभिन्न जिल्लाहरूमा हिमपात भइरहेको छ। विशेष गरी, हिमाली र उच्च हिमाली जिल्लाहरूमा परेको हिमपातले किसानहरूलाई हर्षित बनाए पनि जनजीवन भने प्रभावित बनाइरहेको छ। यो एक्सप्लेनरमा हामी हिमपात के हो ? कहिले पर्छ ? हिमपातका फाइदा/बेफाइदाबारे चर्चा गर्दैछौं।

के हो हिमपात ? यो कसरी बन्छ ?

सामान्य भाषा भन्नुपर्दा, हिउँ पर्नुलाई नै हिमपात भनिन्छ। हिमपात भनेको बादलभित्र रहेका पानीका कणहरू अत्यधिक चिसो तापक्रमका कारण जमेर हिउँका साना कण बनेर जमिनमा खस्नु हो। सामान्यतया ० डिग्री सेल्सियसभन्दा कम तापक्रम हुँदा पानी वर्षाको सट्टा हिउँका रूपमा पर्ने गर्छ। अमेरिकी द नेशनल स्नो एन्ड आइस डेटा सेन्टर (एनएसआईडीसी)का अनुसार मौसम धेरै चिसो भएर तापक्रम शून्य डिग्री सेल्सियस भएपछि हावामा चिस्यान (पानीको वाफ) सिधै सिधै साना–साना बरफका टुक्रा (क्रिस्टल) बन्छन्। एक पटक सानो बरफ बनेपछि, त्यसले वरिपरिको हावाबाट अझै पानीको बाफ तान्छ र झन् ठूलो हुँदै जान्छ। यसरी धेरै साना बरफका टुक्रा मिलेर हिउँका दाना बन्छन्। ती हिउँका दाना भारी भएपछि आकाशबाट तल झर्छन्, र हामीले हिउँ परेको देख्छौ।

नेपालमा कहिले हुन्छ हिमपात ? कहाँ-कहाँ हुन्छ हिमपात ?

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार नेपालमा हिमपात प्रायः मङ्सिरदेखि माघ,फागुनसम्म (लगभग नोभेम्बर अन्त्यदेखि मार्चसम्म) हुने गर्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले हिउँदको अवधिमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने जानकारी दिए। हिउँदको अवधिमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, सोलुखुम्बु, कालिकोट, जाजरकोट र दैलेख लगायतका हिमाली तथा उच्च पहाडी जिल्लामा बढी मात्रामा हिमपात हुने गर्छ । त्यस्तै, दोलखाको कालिन्चोक, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा लगायतका जिल्लामा पनि हिमपात हुने गर्छ।

मौसमविद् दाहालका अनुसार पश्चिमी वायु प्रणाली सक्रिय हुँदा यसले हिमपात गराउँछ। ‘नेपालको सन्दर्भमा मनसुन सिजनबाहेक अन्य समयमा हावा पूर्वबाट पश्चिमतर्फ आउने गर्छ। पश्चिमी वायुको कारण न्यून चापीय प्रणाली बढ्ने हुन्छ। पश्चिमी वायु प्रणाली सक्रिय हुँदा यसले हिउँदे वर्षासँगै हिमपात गराउँछ’, उनी भन्छन् ।

मनसुनको समयमा हिमपात हुन्छ ?

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी पनि विशेष गरी जाडो याममा पश्चिमी न्यून चापीय प्रणालीको कारणले गर्दा नेपालमा हिमपात हुने बताउँछन् । तर, मनसुनको बेलामा हिमपात हुँदैन भन्न नसकिने उनको भनाइ छ।

मनसुनको बेलामा पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनको मिश्रण हुँदा तापक्रम ० डिग्री सेल्सियसभन्दा कम हुने उच्च हिमाली क्षेत्रमा हिमपात हुने उनी बताउँछन्। ।

“मनसुनको बेलामा हिमपात हुँदैन भन्न सकिँदैन । मनसुनको बेलामा पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनको मिश्रण हुँदा खेरी माथिल्लो भूभागहरूमा जहाँ तापक्रम ० डिग्री सेल्सियसभन्दा कम हुन्छ , त्यो ठाउँमा हिमपात नै हुने हो”, मौसमविद् पुडासैनी भन्छन्, “पश्चिमी न्यून चापीय प्रणालीको कसरी आगमन भयो भन्नेमा भर पर्छ ।”

हिमपातले बढाउँछ उत्पादन र पर्यटन

हिमपात हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने भएकोले उक्त क्षेत्रमा उत्पादन बढ्छ। हिउँदको समयमा उत्पादन हुने गहुँ, जौ लगायतका बालीनाली र अन्य बोटबिरुवाको लागि हिमपातले फाइदा पुर्‍याउने गर्छ ।

सिँचाइको पर्याप्त सुविधाहरू नपुगेको ठाउँमा कृषकहरू हिउँदे वर्षा र हिमपातमा आश्रित हुनुपर्ने हुन्छ। यसरी हिमपात हुँदा किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने मौसमविद् पुडासैनी बताउँछन्। उनी हिमपातले पर्यटन क्षेत्रमा पनि राम्रो फाइदा हुने जिकिर गर्छन्।

“हिमाली क्षेत्रमा सिँचाइको पर्याप्त सुविधाहरू नपुगेको ठाउँहरू पनि धेरै छ। कतिपय कृषकहरू हिउँदे वर्षा, हिमपातमा आधारित हुनुपर्ने अवस्था पनि छ। यसरी हिमपात हुँदा कृषकहरूलाई फाइदा हुन्छ”, उनी भन्छन्, “समग्रमा, हिउँदे वर्षा र हिमपातले कृषि समुदाय र पर्यटनमा राम्रो प्रभाव पर्छ।”

उनी थप्छन्, “हिमपातले आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्‍याउँछ । कालिन्चोक, सैलुङ पाथीभरा, रारा लगायतका क्षेत्रमा हिमपात भइसकेपछि हिमपातको अनुभव गर्न जानेहरूको सङ्ख्या पनि बढ्छ ।”

हिमपातले कसलाई गर्छ असर ?

हिमपातले जनजीवन भने कष्टकर बनाउँछ। हिमपातले विभिन्न सडकहरू अवरुद्ध गराउँछ भने हवाई उडान र यातायातलाई प्रत्यक्ष प्रभावित बनाउँछ । चिसोका कारण स्वास्थ्य जोखिमसँगै पशुपालन समेत प्रत्यक्ष रूपमा प्रभावित हुन्छ ।

साथै, मौसमविद् पुडासैनी भारी हिमपात र मौसम प्रतिकूल हुँदा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण गर्ने पर्यटकहरू प्रभावित हुने बताउँछन् । भारी हिमपात र मौसम प्रतिकूल हुँदा पर्वतारोहण गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

“भारी हिमपात र मौसम प्रतिकुल हुँदा पर्वतारोहण गर्नेहरू प्रभावित हुन सक्छन् । त्यस्तो अवस्थामा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण गर्दा खेरी विशेष सावधानी अपनाउनुपर्ने हुन्छ”, उनी बताउँछन्। भारी मात्रामा हुने हिमपातले हिमाली भेगहरूमा हिम पहिरोको समेत जोखिम निम्त्याउन सक्ने उनको बुझाई छ।

नेपालमा हिमपातलाई कसरी नापिन्छ ?

हिउँ वर्षाकै एक रूप हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार १० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई हल्का वर्षा वा हिमपात भनिन्छ । यस्तै, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई मध्यमको रूपमा चिनिन्छ ।

महाशाखाका अनुसार ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई भारी र १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्मको वर्षा वा हिमपातलाई धेरै भारी रूपमा लिइन्छ । त्यस्तै, २०० मिलिमिटर भन्दामाथिको वर्षा वा हिमपातलाई अति धेरै वर्षा वा हिमपात भनिने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add