- नेपाल तथ्यजाँच
- माघ २०, २०८२

सन्दर्भ काटेर फैलाइएको सोविता गौतमको ‘बलात्कार र थप्पड’ सम्बन्धी भनाइ भ्रामक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार सोविता गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ भनेको दावी गरिएको पोस्ट र छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
तर हाम्रो तथ्यजाँचले यो दावी पूरै सन्दर्भ लुकाएर भ्रम फैलाउने हिसाबले भाइरल भएको भेट्टाएको छ। गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ भनेकी छैनन्। १४ मिनेट लामो प्रसंगको १५ सेकेन्ड काटेर पूरा भनाई नराखी काँटछाँट हुँदा भ्रामक देखिएको हो।
दावी के हो ?
१२ हजार फलोअर्स रहेको ईश्वर अर्याल नामक फेसबुक प्रोफाइलमा २०२६ जनवरी १ मा ‘बलात्कार र थप्पड एउटै हो त? शीर्षकमा एउटा स्टाटस पोस्ट गरिएको छ।
उक्त स्टायटसमा, ‘बलात्कार र थप्पड एउटै हो भन्नेले कस्तो कानून बनाउलान् ? म अचम्म परिराछु…. बलात्कार र थप्पड एउटै हो भने, निर्मला पन्तलाई थप्पड हानेर कसैले हत्या गरेको हो भनेर भन्न सक्नुपर्यो’ लगायतका विवरण लेखिएको छ।
हेर्नुस्, अर्काइभ लिंक
यो स्टायटसमा कुनै भिडियो छैन तर तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २३७ रियाक्सन, ५६ वटा कमेन्ट छ भने ७० पटक सेयर गरिएको छ।
हामीले ‘बलात्कार र थप्पड’ किवर्ड राखेर थप सर्च गर्यौँ। त्यो क्रममा सोही आशयका कयौँ स्टाटस तथा भिडियो क्लिप सामाजिक सञ्जालमा कयौँ प्रोफाइलबाट अपलोड तथा सेयर भएको भेट्यौँ ।
२३ हजार फलोअर्स रहेका राजु पहारी दर्शन नामक फेसबुक पेजमा पनि गौतमको सोही क्लिप भाइरल छ।
उनले ‘झापड हान्नु र बलात्कार हुनु एउटै हो ? …. कसैले शारीरिक क्षति नपुर्याई बलात्कार गर्यो भने झापड सरह मानेर चुपचाप बस्नु हुन्छ होला कि कानुनी उपचार खोज्नु हुन्छ होला। उहाँलाई भेटे भने यो प्रश्न सोध्न मन छ’ क्याप्सन राखेर एउटा भिडियो क्लिप अपलोड गरेका छन्।
१५ सेकेण्ड अवधिको भिडियो क्लिपमा गौतमले भन्दै गरेको सुनिन्छ- ‘बलात्कृत महिला जसको शरीरमा उसलाई चाहीँ कुनै हानी नोक्सानी भएको छैन,… बलात्कृत भइसकेपछि पनि उसलाई केही पनि छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा केही पनि फरक छैन भन्छु के म।’
हेर्नुस्, भिडियो क्लिपको स्क्रिन रेकर्ड :
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ४७ सय रियाक्शन, ८४१ कमेन्ट र ४७३ पटक सेयर गरिएको छ।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सोविता गौतमको भाइरल भिडियोमा देखिएको दृश्यलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। त्यसैगरी युट्युबमा सोबिता गौतम भाइरल भिडियो किवर्ड राखेर सर्च गर्यौँ।
त्यो क्रममा नेक्स्ट रिभोलुसन नामक युट्युब च्यानलबाट सात वर्षअघि ’Daju Bhai talk show E #14 with Ms. Sobita Gautam’ शीर्षकमा अपलोड भएको एउटा भिडियो भेट्यौँ। यो भिडियो र सामाजिक सञ्जालमा भाइरल भएको क्लिप्समा देखिएको स्टुडियो र गौतमको पहिरन उस्तै देखिन्थ्यो।
उक्त भिडियो ३९ मिनेटभन्दा लामो छ। त्यसमा बलात्कार सम्बन्धी प्रसंग करिब १४ मिनेटसम्म चलेको छ। तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भने त्यसको केवल १५ सेकेन्डको अंश हो।
गौतमले बलात्कारको विषयलाई समाजले अत्यधिक “ग्लोरिफाइ” गरेको (इज्जत, जीवन समाप्त भएको जस्तो बनाएको) बताएकी छन्। उनका अनुसार बलात्कारलाई यसरी प्रस्तुत गर्दा पीडित महिलाले “अब मेरो जिन्दगी सकियो” भनेर सोच्न बाध्य हुन्छन्, जसले पुनर्स्थापनालाई झन् गाह्रो बनाउँछ।
उनले उदाहरणका लागि “थप्पड” को कुरा उठाएकी हुन्। कसैले थप्पड खाँदा त्यो पनि हिंसा हो, पीडा हुन्छ, तर समाजले त्यसलाई जीवन समाप्त भएको घटनाजस्तो बनाउँदैन। तर बलात्कारको हकमा भने समाजले पीडितलाई छि–छि, दुर–दुर गर्दै उसको भविष्य नै सकिएको जस्तो व्यवहार गर्छ—यही सोच बदल्नुपर्ने उनको मुख्य तर्क हो।
उनको भनाइको सार के हो भने, बलात्कार जघन्य अपराध नै हो तर, यदि जीवनमा नहुनुपर्ने यस्तो घटना भइसकेको छ र पीडितको शरीरमा दीर्घकालीन हानी भएको छैन भने, समाजले पीडितलाई “अब त सबै सकियो” भनेर हेर्नु हुँदैन। बरु पुनः जीवन अघि बढाउन सहयोग गर्नुपर्छ।
छोटकरीमा बुझ्दा
सोविता गौतमले बलात्कारलाई थप्पडजस्तै सामान्य अपराध भनेकी होइनन्। उनले उदाहरण (analogy) प्रयोग गरेर समाजको दृष्टिकोण बदल्नु पर्ने बताएकी हुन्। उनको जोड अपराधको गम्भीरता घटाउन होइन, पीडितलाई थप मानसिक पीडा नदिई पुनर्स्थापनामा सहयोग गर्नुपर्ने कुरामा देखिन्छ।
पूरा भिडियो हेर्न लिङ्कका लागि यहाँ क्लिक गर्नुस्।
अन्तर्वार्तामा बलात्कारको विषयमा के छ ? (जस्ताको तस्तै ट्रान्स्क्रिप्ट)
कार्यक्रममा प्रस्तोताले बलात्कारको प्रसंग निकाल्दै सोध्छन्, ‘अहिले नेपालको सन्दर्भमा बलात्कारको घटना महिनामा एक दुई वटा हुने गर्छन्, यो चिजहरु किन भइराको छ, अझ नाबालिकाहरुलाई स्पेशल्ली टार्गेट गर्ने गरिन्छ, किन यसो गरिराको छ, अझ यसलाई रोकथामको लागि के गर्न सकिन्छ?
गौतमले बलात्कारको प्रसंग अघि बढाउँदै भन्छिन्, ‘बलात्कार भन्ने शब्दलाई मैले अहिले व्याख्या गरे भने कति दर्शकहरुबाट नराम्रो कमेन्ट पनि आउन सक्छ। तर मलाई पर्सनल्ली के लाग्छ भने बलात्कार भनेको भावनासँग जोडिएको विषय हो, त्यो भएर यसलाई चाहीँ एकदमै ग्लोरिफाइ गरिन्छ। के के न भएजस्तो गरिन्छ।’
प्रस्तोताले बीचमा रोक्दै फेरि सोध्छन्, ‘ अहिले नाबालिकाहरुमा टार्गेट भएको छ पछिल्लो समय, जस्तो कि कञ्चनपुरको घटना हेरौँ, मात्र १५ वर्षको थिइन्, अन्य ठाउँमा पनि यस्तो भएको छ, किनकि नाबालिकाहरुले आफुलाई डिफेन्स गर्न सक्दैनन्, त्यही भएर उनीहरुलाई टार्गेट गरिरहेको हुन्छ, यी कुरालाई जोड दिनुस् न्।
त्यसपछि गौतम भन्छिन्,- ‘जहाँ बलात्कारको इस्यू उठ्छ म भन्ने गर्छु, बलात्कार एक दुईवटा केस मात्र एक्सिडेन्ट्ली हुन्छन्, झ्याप्प केटी देख्यो समायो बलात्कार हुने भनेको एकदम रेयर केसमा हुन्छन् । बलात्कार हुनचाहीँ प्रायजसो केसमा चाही सिलसिलाबद्ध घटनाहरु भएका हुन्छन के।
पहिलो अटेम्प के हुन्छ ? May be जिस्काउने, ओ मैया के छ देखि लिएर हुनसक्छ… । फलो गर्नेदेखि लिएर हुनसक्छ।
हामी नेपाली समाजमा के गर्छौ भने त्यो पहिलो इनसिडेन्ट सुरु हुन्छ नि त्यसलाई नै हामी रोक्न खोज्दैनौ। हामी मात्र नभएर हाम्रो बुवा आमा र समाजले पनि रोक्न खोज्दैन्, कसैले जिस्कायो भने छाड्दे, त्यो त्यस्तै हो भनिन्छ।
महिलाहरुले त्यो पोइन्टमा नै स्टप गराउन सक्नुपर्छ के । किन जिस्कायो मलाई, जिस्काउनु भनेको दुर्व्यवहार हो, मलाई दुर्व्यवहार गर्ने अधिकार कसैसँग छैन् भनेर त्यो पोइन्टमा रोक्न सक्नुपर्छ।
उनी यही प्रसंग अघि बढाउदै थप्छिन्, – इनकेस ती घटनाहरु भए , नहुनुपर्ने घटना भयो, अब त्यसलाई के गर्ने भन्ने कुरा पनि आउँछ। त्यसपछि पुनर्स्थापनाको कुरा पनि आउँछ। हाम्रो समाजमा बलात्कार भएपछि एक त त्यो व्यक्ति स्वयंले म बलात्कार भएँ, अब मेरो जिन्दगी सक्यो भन्ने सोचेको हुन्छ।
अनि समाजले पनि बिचरा ऊ बलात्कार भयो भन्ने पक्ष हुन्छ। अनि केही मानिसहरु यस्ता हुन्छन्, जसले चाहीँ यो बलात्कार भइ अब यो सिद्धिइ, अब यसलाई कसले बिहे गर्ने भन्ने खालका कुराहरु उठ्ने गर्छन्।
तर म चाहीँ के भन्छु भनेदेखि जबसम्म त्यो बलात्कृत महिला जसलाई चाहीँ उसको शरीरमा कुनै हानी नोक्सानी भाको छैन, बलात्कृत भइसकेपछि पनि उसलाई केही पनि भाको छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लाउनुमा चाहीँ कुनै फरक छैन भन्छु के म। किनभने बलात्कृत हुनु पनि एउटा घटना थियो, झापड लाउनु पनि एउटा घटना थ्यो। यी दुबै महिला हिंसा अन्तर्गत पर्ने कुरा हुन्।
गौतम यो प्रसंगलाई थप व्याख्या गर्दै थप्छिन्, – अब ऊ बलात्कृत भाकी छे भनेदेखि नहुनु थियो, त्यो त भयो। उसको शरिरमा कुनै हानी नोक्सानी छैन, उसलाई कुनै एउटा समयमा दुर्व्यवहार भाको थ्यो, तर त्यसपछि त उसको जिन्दगी स्वतन्त्र छ नि त, उसले जे पनि गर्न सक्छे, उसलाई केही पनि नराम्रो छैन।
यति हुदाँ हुदै पनि हामी समाजमा कस्तो गर्छौ भनेदेखि उ चाहीँ कामै नलाग्ने हो, उसको चाहीँ जिन्दगी नै सकियो जसरी ट्रिट गर्छौ । सो, अलिकति हामीले कन्सेप्ट पनि बदल्नुपर्ने अवस्था छ, बलात्कृत भन्ने बितिकै एकदम छि छि दुर दुर गर्नुपर्ने अवस्था पनि छैन् र बिचरा भन्नुपर्ने अवस्था पनि छैन, बलात्कृत भाको र कसैले झापड हानेको अथवा कसैले हात भाँचिदिएको, खुट्टा काटिदिएको इक्वएल घटनाहरु हुन्, त्यसलाई हामीले एक्वल्ली सिभिएर हेर्नुपर्छ ।
बलात्कार गरेकोचाहीँ जघन्य अपराध र कसैले उसको हात काटिदियो भने त्यो चाहीँ सामान्य अपराध भनेर हामीले नहेरौँ। यसलाई चाहीँ नेपाली समाजमा महिलाहरुले अथवा महिला अधिकारवादीहरुले बढी फोकस गरेर बलात्कार भन्ने शब्दलाई समाचारमा पनि ठूलो अक्षरमा राख्ने गरिन्छ । त्यो शब्द नै खतरा हो भन्ने मान्न थालिसक्यौँ। त्यो शब्दलाई सामान्य मानेर ट्रिट गर्न थाल्ने हो भने सायद बलात्कार भइसकेपछि महिलाहरुलाई पुनर्स्थापना हुन सजिलो हुन्छ जस्तो मलाई लाग्छ।
प्रस्तोताले गौतमलाई फेरि भन्छन्, – तपाईले यो कुरालाई जसरी एक्सप्लेन गर्नुभयो । त्यो कुरालाई हाम्रो समाजका धेरैले बुझ्नुहुन्न नि त । तपाइले भनेको कुरालाई कसैले राम्रोसँग बुझ्न सकेन भने त बलात्कार भन्ने कुरा ठूलो कुरा हैन रैछ भन्ने जान्छ कि !
गौतम अगाडि भनेको प्रसंग थप प्रष्ट पार्दै भन्छिन्, ‘ठूलो कुरा त होइन्, अन्टिल एण्ड अनलेस, उसको शरीरमा कुनैपनि हानीनोक्सानी भाको छैन।
मानौँ, म आफ्नै उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार गर्यो, म एउटा पीडित महिला भएँ नि त । यो एउटा सिनारियो ।
अर्को सिनारियो, कोही मान्छेले आएर मेरो दुइटै खुट्टा काटिदियो।
अब दुई वटा इन्सिडेन्टलाई तपैले कम्पेयर गरेर हेर्नोस्, म बलात्कृत महिला धेरै बिचरा भएँ, या कसैले दुबै काटिदियो, त्यो सोबिता बिचरा भइ , यसरी हेर्दाखेरि त दुबै खुट्टा काटिदिएको जघन्य अपराध हो नि त , दुबै खुट्टा काटिदिएपछि त मेरो जिन्दगी सकियो नि त , अब के गर्ने ?
तर बलात्कृत हुँदैमा पुनर्स्थापना हुन गाह्रो हुँदैन अन्टिल एण्ड अनलेस हाम्रो शरिरमा कुनैपनि हानी नोक्सानी हुँदैन, त्यसले दीर्घकालीन असरहरु केही पार्दैन, खाली समाजले बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि त्यसले गर्दा महिलाहरु बढी भावुक भाको जस्तो लाग्छ।
हेर्नुस्, स्क्रिनरेकर्ड
तर बलात्कारको प्रसंगमा १० मिनेट भन्दा लामो उनको भनाइको एक टुक्रा काटेर सञ्जालमा हाल्दा भ्रम फैलिएको हो ।
छोटकरीमा भन्दा गौतमले भनेकी छिन्- बलात्कृत हुनु हिंसामा पर्नु हो । तर, जीवनमा नहुनुपर्ने घटना भइगयो भने समाजले ‘यसको जिन्दगी सकियो भनेर छि छि र दुरदुर’ गर्दा पीडितलाई पुनर्स्थापना हुन गाह्रो हुन्छ । त्यसलै जीवनमा नहुनुपर्ने घटना भयो र त्यो अवस्थामा शरिरमा हानी नोक्सानी भएन भने त्यो अवस्थामा थप्पड खाएको जस्तो महिला हिंसा सम्झेर पुनर्स्थापनामा लाग्नुपर्छ।
तथ्यजाँच
दावी : सोविता गौतमले भनिन्, बलात्कृत हुनु र थप्पड खानु एउटै हो।
दावीकर्ता : ईश्वर अर्याल, राजु पहारी लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँच : भाम्रक सूचना । सोविता गौतमले बलात्कृत हुनुलाई थप्पड हानेजस्तो सामान्य घटनाको रुपमा लिनुपर्छ भनेकी छैनन् । बलात्कारको विषयमा उनले बोलेको १४ मिनेट लामो भनाइलाई सामाजिक सञ्जालमा १५ सेकेन्डको मात्र हालिएको छ जसमा सन्दर्भ लुकाएर गलत अर्थ लाग्ने सानो टुक्रा मात्र राखिएको छ। भिडियोमा उनले प्रष्टसँग जीवनमा कथमकदाचित् बलात्कार जस्तो नहुनुपर्ने घटना घट्यो भने जिन्दगी सकियो भनेर बस्नुभन्दा पुनर्स्थापनाको लागि लाग्नुपर्ने भनेकी छिन् ।
(नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्य)