- पवित्रा पराजुली
- माघ २६, २०८२

नुवाकोटमा रास्वपालाई लखेटे भन्दै भाइरल भिडियो जाजरकोटको खेलकुद प्रतियोगिताको
पछिल्लो केही दिनयता नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तर, हाम्रो तथ्य जाँचले उक्त भिडियो नुवाकोटको नभई जाजरकोटको राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रमको भएको पुष्टि गरेको छ ।
के हो दाबी ?
Rai_राई नामक फेसबुक पेजमा फेब्रुअरी २ तारिख सोमबार दिउँसो ३ः७ बजे एउटा भिडियो पोस्ट गरिएको छ । ‘नुवाकोटमा रास्वपालाई लखेटे’ लेखिएको भिडियोसँगै पोस्टमा यस्तो लेखिएको छ, ‘देशै भरिबाट यसरी नै लखेट्नु पर्छ । भ्रमको खेती गर्ने पार्टीलाई’।
१३ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको १ मिनेट ५ सेकेन्ड लामो भिडियोमा एक सार्वजनिक कार्यक्रममा केही युवाहरूबीच झडप भएको र प्रहरीले नियन्त्रणमा लिन खोजेको देखिन्छ । हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा ६ हजार ६ सय लाइक, एक हजार तीन सय कमेन्ट र एक हजार ६ सय पटक शेयर गरिएको छ । उक्त भिडियोलाई पाँच लाख २७ हजार बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :
सोही भिडियोको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
हामीले तथ्य जाँचको क्रममा भाइरल उक्त भिडियोबाट केही फ्रेमहरू निकालेर गुगलमा रिजर्भ इमेज सर्च गर्यौ । यसरी खोज्ने क्रममा लाल बहादुर गिरी नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २ तारिख बिहान ८ः५८ बजे सोही भिडियोलाई अपलोड गरेको फेला पार्यौ । जहाँ उनले क्याप्सनमा लेखेका छन्, ‘जाजरकोट नलगाड नगरपालिका वडा ५ सिर्केमा जेन्जीहरूले हाम्रा मेयर ज्यूलाई पनि छोडेनन्’ ।
गिरीले फेसबुकमा अपलोड गरेको भिडियोको स्क्रिन सट :

उक्त भिडियोको लिङ्क र अर्काइभ लिङ्क
हामीले थप खोज्ने क्रममा इन्द्र जित शाही नामक फेसबुक प्रयोगकर्ताले पनि सोही सोही भिडियो फेसबुकमा पोस्ट गरेको फेला पार्यौ । फेब्रुअरी २ तारिख सोमबार बिहान ११ः२० बजे उक्त भिडियोको पोस्ट गर्दै लेखेका छन्, ‘जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ५ मा एक कार्यक्रम मा त्यहाँका युवाहरूले मेयरलाई काम गर्न सकेन भन्दै राजीनामा मागेका छन् ।’
हेर्नुहोस्, स्क्रिनसट :

भिडियोको लिंक र अर्काइभ लिंक
सन्तोष विक्रम सिंह ठकुरी नामक फेसबुक प्रयोगकर्ताले पनि सोही सन्दर्भको भिडियो फेसबुकमा पोस्ट गरेका छन् ।
फेब्रुअरी २ तारिख सोमबार बिहान १२ः४७ बजे ‘जनताका साना गुनासाहरू नसुनेर गाउँ आउँदाको अवस्था हेर्न सक्नुहुन्छ’, भन्दै पोस्ट गरिएको उक्त १ मिनेट १० सेकेन्ड भिडियोको कमेन्टमा रिप्लाई दिँदै ठकुरीले उक्त भिडियो नलगाड नगरपालिका–५ सिर्के, जाजरकोटको भएको स्पष्ट पारेका छन् ।
हेर्नुहोस्, स्क्रिन सट :

भिडियोको लिङ्क र अर्काइभ लिङ्क
के भएको थियो त्यतिबेला ?
जाजरकोटको नलगाड नगरपालिका– ५ र बारेकोट गाउँपालिका– ८ जोड्ने झोलुङ्गे पुल दशकौंदेखि जीर्ण अवस्थामा रहेको र मर्मतमा कसैले ध्यान नदिएपछि युवाहरूले राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रममा विरोध जनाएको माघ १९ गते जेन्जी युवा नलगाड नगरपालिका ५ सिर्के जाजरकोटका संयोजक विशाल सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
माघ १३ देखि सुरु भएको प्रतियोगिताको क्रममा माघ १५ गते पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, नलगाड नगरपालिकाका मेयर डम्बर रावत लगायतलाई पुल नबनाउन्जेल सम्म भोट माग्न नआउन आग्रह गरेको र माघ १८ गते मेयर रावत आएपछि नाराबाजी गरी भगाउने प्रयास गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हेर्नुहोस्, विज्ञप्ती

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले पनि हामीसँग कुरा गर्दै सो भिडियोमा देखिएको दृश्य नलगाड नगरपालिकाको सातौँ नगरप्रमुख खेलकुद प्रतियोगिताको अन्तिम दिनको भएको पुष्टि गरेका छन् ।
तथ्य जाँच
दाबी : नुवाकोटमा रास्वपा लखेटिएको भन्दै भाइरल भिडियो ।
दाबी : Rai_राई नामक फेसबुक पेज
तथ्य : भ्रामक । उक्त भिडियो नुवाकोटको नभई जाजरकोटमा राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रमको भएको हाम्रो तथ्य जाँचले पुष्टि गरेको छ ।