एक्सप्लेनर सही सूचना

एक्सप्लेनर : किन बढिरहेछ काठमाडौँ उपत्यकामा वायु प्रदूषण?


एक्सप्लेनर : किन बढिरहेछ काठमाडौँ उपत्यकामा वायु प्रदूषण?

काठमाडौं उपत्यकाको आकाश हिजोआज तुवाँलोले यसरी ढाकेको छ कि यहाँको हावा अब सास फेर्न नै अस्वस्थ्यकर भइसक्यो। हालैको तथ्याङ्कलाई हेर्ने हो भने, फेब्रुअरी ११ (बुधबार) दिउँसो १२ः४५ सम्म काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (‘एयर क्वालिटी इन्डेक्स’) १५५ मापन गरिएको थियो।
एक्यूआई १५५ हुनुको अर्थ यहाँको हावा ‘अस्वस्थकर’ तहमा पुग्नु हो। सामान्य नागरिकले यसलाई केवल ‘धुलो र धुवाँ’ को रूपमा मात्र बुझ्नु हुँदैन किनभने जब हावाको गुणस्तर यो स्तरमा पुग्छ, यसले स्वस्थ मानिसहरूमा समेत तत्कालै स्वास्थ्य समस्या निम्त्याउन सक्छ। हामी यो एक्सप्लेनरमार्फत वायु प्रदूषण, वायु प्रदूषणका कारण, स्वास्थ्यमा पर्ने असर र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासहरूबारे चर्चा गर्दैछौं।

के हो वायु प्रदूषण ?

हावामा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्‍याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु वायु प्रदूषण हो। वायु प्रदूषण मानवीय क्रियाकलाप र प्राकृतिक दुवै कारणले हुन सक्दछ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार सवारीका साधन, उद्योग कलकारखाना, फोहोर जलाउने काम, कृषिजन्य वस्तुहरू (जस्तैः पराल जलाउने, वन डढेलो, मरुभूमिबाट हावाले उडाउने धुलो आदि) वायु प्रदूषणका स्रोतहरू हुन्।

के हो एअर क्वालिटी इन्डेक्स ? कसरी नापिन्छ वायु प्रदूषण ?

एअर क्वालिटी इन्डेक्स (एक्यूआई) दैनिक रूपमा वायुको गुणस्तर रिपोर्ट गर्ने सूचकाङ्क हो। यसले हावा कति सफा वा प्रदूषित छ भन्ने बताउँछ। एक्यूआईले प्रदूषित हावासँग सम्बन्धित स्वास्थ्य प्रभावहरूबारे जानकारी दिने काम गर्छ। एक्यूआईमा ग्राउन्ड–लेभल ओजन (भू–तहको ओजन), कण प्रदूषण (कण पदार्थ), कार्बन मोनो अक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको गणना गरिन्छ।

कुन अवस्था कति खतरनाक ?

एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ। कुन अवस्था कस्तो भन्नेबारे निम्न उल्लेख गरिएको छ :

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार पनि ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ ।

यसलाई थप विस्तृतमा बुझौं :

  • एक्यूआई ०–५० (राम्रो) : यो वायुको गुणस्तर सन्तोषजनक मानिन्छ । यसमा वायु प्रदूषणले थोरै वा कुनै जोखिम उत्पन्न गर्दैन ।
  • एक्यूआई ५१–१०० (मध्यम) : यो वायुको गुणस्तर स्वीकार्य हुन्छ । तर, केही प्रदूषकहरूका लागि अत्यन्त कम सङ्ख्यामा व्यक्तिहरूमा मध्यम स्वास्थ्य चिन्ता हुन सक्छ । उदाहरणका लागि, ओजनप्रति असामान्य रूपमा संवेदनशील व्यक्तिहरूमा श्वासप्रश्वाससम्बन्धी लक्षणहरू देखिन सक्छन् ।
  • एक्यूआई १०१–१५० (संवेदनशील समूहका लागि अस्वस्थ) : यो एक्यूआई दायरामा सामान्य जनतालाई प्रभाव पार्ने सम्भावना कम हुन्छ । तर, फोक्सोको रोग भएका व्यक्ति, वृद्ध वृद्धा र बालबालिकाहरू ओजनको सम्पर्कबाट बढी जोखिममा पर्छन् । त्यस्तै, मुटु र फोक्सोको रोग भएका व्यक्ति, वृद्ध वृद्धा र बालबालिकाहरू हावामा रहेका कणहरूबाट बढी जोखिममा हुन्छन् ।
  • एक्यूआई १५१–२०० (अस्वस्थ्य) : वायु प्रदूषण १५१–२०० एक्यूआई मापन हुँदा सबै व्यक्तिहरूले केही प्रतिकूल स्वास्थ्य प्रभावहरू अनुभव गर्न थाल्न सक्छन् । साथै, संवेदनशील समूहका व्यक्तिहरूले अझ गम्भीर प्रभावहरू अनुभव गर्न सक्छन् ।
  • एक्यूआई २०१–३०० (धेरै अस्वस्थ) : जब वायु प्रदूषण २०१ देखि ३०० एक्यूआई सम्म हुन्छ । तब सबै व्यक्तिहरूले गम्भीर स्वास्थ्य प्रभावहरूको सामना गर्न बाध्य हुन्छन् ।
  • एक्यूआई ३०१ बढी (खतरनाक) : वायु प्रदूषण ३०० एक्यूआई भन्दा बढी मापन हुनु खतरनाक अवस्था हो । यसले आपत्कालीन अवस्थाको स्वास्थ्य चेतावनी जारी गर्छ । यसबाट सम्पूर्ण जनसङ्ख्यालाई प्रभावित बन्ने सम्भावना बढी हुन्छन् ।

वायु प्रदूषण बढ्नुको कारणहरू के-के हुन् ?

वायु प्रदूषण बढ्नुको मुख्य कारण नै मौसम सुख्खा रहनु हो । वातावरण विभागका अनुसार जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण एवं मानवीय क्रियाकलापका कारण राजधानी लगायत देशका प्रमुख सहरहरूको वायुको गुणस्तर सन्तोषजनक अवस्थामा छैन ।

काठमाडौं उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थितिका कारण विभिन्न स्रोतहरूबाट निस्कने प्रदूषण वायुमण्डलीय इन्भर्सनका कारण फैलावट हुन नपाई लामो समयसम्म वायुमण्डलमा रहने गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा उल्लेख गरिएको छ ।

विभागका अनुसार यातायात, औद्योगिक, आवासीय, कृषि लगायतका क्षेत्रहरू नै वायु प्रदूषणका मुख्य स्रोतहरू हुन् । सवारी साधनबाट निष्कासन हुने धुवाँ तथा धुलो, सडकमा जमेको धूलो, इँट्टा भट्टा, व्वाइलर जडित उद्योग र डि जी सेट, निर्माणजन्य गतिविधिहरू, घरमा प्रयोग हुने ऊर्जाका स्रोतहरू, कृषिजन्य फोहोर जलाउने कार्यहरू, खुल्ला रूपमा फोहोर जलाउने कार्यहरू र प्राकृतिक एवं कृत्रिम डढेलोहरू नै वायु प्रदूषणका मुख्य स्रोतहरू रहेको उक्त कार्य योजनामा उल्लेख गरिएको छ।

वायु प्रदूषणले स्वास्थ्यमा कस्तो असर गर्छ ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणको कारण प्रत्येक वर्ष विश्वव्यापी रूपमा करिब ७० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ । यस्तै, नेपालमा पनि वायु प्रदूषणकै कारण प्रत्येक वर्ष करिब ४० हजार मानिसले ज्यान गुमाउने गरेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार श्वासप्रश्वास, मुटु, फोक्सो, मधुमेह लगायतको प्राणघातक रोगको प्रमुख कारण नै वायु प्रदूषण बन्ने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम वायु प्रदूषण र जाडो सँगसँगै हुँदा ज्येष्ठ नागरिकहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू बढी प्रभावित हुने बताउँछन् । उनका अनुसार क्यान्सर, कलेजो, मधुमेह, श्वासप्रश्वासका समस्या भएकाहरू, गर्भवती महिलाहरू र ५ वर्षमुनिका बालबालिकाहरू वायु प्रदूषणको अत्यधिक जोखिममा पर्छन् ।

‘वायु प्रदूषण र जाडो सँगसँगै हुँदा खेरी विशेष गरी ज्येष्ठ नागरिकहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका (क्यान्सर, कलेजो, मधुमेह रोगीहरू, श्वासप्रश्वासका समस्या भएकाहरू, गर्भवती महिलाहरू र ५ वर्षमुनिका बालबालिकाहरू)लाई प्रभावित बनाउने गरेको छ ’, डा. बम भन्छन्, ‘बालबालिकाहरूमा श्वासप्रश्वास, फोक्सोको सङ्क्रमणहरू अत्यधिक बढ्ने सम्भावनाहरू हुन्छ ।’

उनी छाला, पाचन प्रणाली, मिर्गौला, कलेजो तथा मानसिक समस्या ल्याउने काम वायु प्रदूषणले गरिरहेको जिकिर गर्छन् । धूम्रपान नगर्ने मान्छेहरू पनि प्रदूषणमा जीवनयापन गर्न थालेको अवस्थामा ती पनि धूम्रपान गर्ने व्यक्ति सरह नै हुने उनको बुझाई छ । डा. बम भन्छन्, ‘सिगरेट नपिउने मान्छेहरू पनि प्रदूषणमा जीवनयापन गर्न थालियो भने त्यो धूम्रपान गर्ने व्यक्ति सरह नै हुन्छ । यसले प्रत्येक व्यक्तिको उमेर पनि घटाइदिन्छ ।’ यस्तै, वायु प्रदूषणले कृषि उत्पादन, पर्यटन तथा समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पुराइरहेको हुन्छ ।

सबैभन्दा प्रदूषित देश कुन ?

सन् २०२४ को एक्यूआई अनुसार वायु गुणस्तर सबैभन्दा खराब भएको देशको वरीयतामा पहिलो नम्बरमा चाड रहेको थियो । दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो प्रजातान्त्रिक गणराज्य र पाँचौँमा भारत रहेको थियो । त्यस्तै, छैटौँमा ताजिकिस्तान रहेको थियो भने सातौँ नम्बरमा नेपाल रहेको थियो । प्रदूषित देशहरूको आठौँ नम्बरमा युगान्डा, नवौँ नम्बरमा रुवान्डा र दशौं नम्बरमा बुरुण्डी रहेको सन् २०२४ को एक्यूआई रिपोर्टले देखाएको छ ।

प्रदूषण रोक्न कस्तो छ नेपाल सरकारको नीतिगत व्यवस्था ?

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ मा सरकारले निर्धारण गरेको एअर क्वालिटी इन्डेक्सको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिइने उल्लेख गरेको छ जसअनुसार, विपद्जन्य कार्यहरू रोक्नको लागि खुल्ला रूपमा फोहर बाल्ने कार्य पूर्णरूपमा रोक्न स्वयंसेवक परिचालन गर्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याक्युमको प्रयोगलाई व्यापक गर्ने, अनावश्यक रूपमा घरबाहिर नआउन र घर बाहिर आउँदा एन ९५ मास्कको प्रयोग गर्न सूचना जारी गर्ने लगायतका गतिविधिहरू सञ्चालन गरिने उल्लेख गरिएको छ।

त्यस्तै, स्वैच्छिक रूपमा सम्भव भएसम्म गाडी नचलाउन सार्वजनिक सूचना जारी गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने तथा हप्ताको दुई दिन छुट्टी दिने लगायतका विषयहरू समावेश गरिएको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार जल, वायु, माटो, ध्वनि, विद्युत् चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथाम सम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ । उक्त नीतिमा प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठान लगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शांकन गरिने रणनीति तथा कार्यनीति उल्लेख गरिएको छ ।

साथै, औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने, उद्योग र अन्य व्यवसायहरूबाट निष्कासन हुने प्रदूषणयुक्त धुवाँ, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरण मैत्री प्रविधि कार्यान्वयनमा ल्याइने र घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुल्हो, विद्युतीय चुल्हो, वायोग्याँस, सुधारिएको चुल्हो, चिम्नी जस्ता उपकरणहरूको प्रवर्द्धन गरिने लगायतका विषयहरू नीतिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add