- टेकमान शाक्य
- फाल्गुन १, २०८२

ओलीको आलोचना गर्दै गरेको रामकुमारी झाँक्रीको भाइरल भिडियोको तथ्य के हो?
सामाजिक सञ्जालमा नेकपा एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारको आरोप लगाएको दाबी गर्दै भिडियो सेयर गरिएको छ।
तर, हाम्रो तथ्य जाँचमा रामकुमारी झाँक्रीले बोलेको भिडियो वास्तविक भए पनि सन्दर्भ हटाएर फैलाएको देखियो। भिडियो ४ वर्ष पहिले नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएको समयको भएको पुष्टि भएको छ।
के हो दावी ?
५२ हजार फलोअर्स रहेको दैनिक नाम गरेको फेसबुक पेजले फेब्रुअरी १० मा नेकपा एमालेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीको ७ मिनेट १८ सेकेन्डको एउटा भिडियो राखेको छ। भिडियोमा एमाले नेतृ झाँक्रीले ‘केपी शर्मा ओलीले भ्रष्टाचारबाहेक अरु केही पनि नगरेको’ आरोप लगाएकी छिन्।
यो तथ्यजाँच गर्ने समयसम्ममा भिडियोले ११ हजार पटक रियाक्ट पाएको छ भने १ हजार ४ सय वटा कमेन्ट गरिएको छ र ४ लाख १० हजार पटक हेरिएको छ ।
हेर्नुहोस् दैनिक नामक फेसबुकले गरेको भिडियो पोष्टको स्क्रिन रेकर्ड
भिडियोको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दैनिक नाम गरेको फेसबुक पेजले नै फेब्रुअरी ११ को दिन ३ मिनेट ८ सेकेन्डको अर्को भिडियो सार्वजनिक गरेको छ। त्यसमा झाँक्रीले ओलीलाई यूरोपेली देश रोमानियाका शासक निकोलाई चाउचेस्कुसँगसमेत तुलना गरेकी छिन्।
तथ्य जाँचको समयसम्ममा भिडियोमा १८ हजार पटक रियाक्ट भएको छ भने २ हजार वटा कमेन्ट र ४ हजार ७ सय पटक सेयर भएको छ। भिडियोलाई ६ लाख ९७ हजार पटक हेरिएको छ।
हेर्नुहोस् दैनिक नाम गरेको फेसबुक पेजबाट सार्वजनिक भएको अर्को भिडियो क्लिप
भिडियोको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
भाइरल भिडियोको सत्यता जाँच्न हामीले भिडियोभित्रै देखिने दृश्य संकेतबाट अनुसन्धान सुरु गर्यौँ। भिडियोको १५ औँ सेकेन्डतिर देखिने ब्यानरमा “नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रत्ननगर नगर कमिटी घोषणा कार्यक्रम, २०७८” लेखिएको स्पष्ट देखिन्छ।
हेर्नुहोस् दैनिकीले सार्वजनिक गरेको भिडियो पोष्टमा देखिएको ब्यानर

यसले भिडियो हालैको नभई २०७८ सालतिरको कार्यक्रमसँग सम्बन्धित हुनसक्ने संकेत दिन्छ।
त्यसपछि हामीले ‘रामकुमारी झाँक्री’, ‘नेकपा (एकीकृत समाजवादी)’, ‘रत्ननगर नगर कमिटी घोषणा कार्यक्रम’ जस्ता किवर्ड प्रयोग गरी एड्भान्स गुगल सर्च गर्यौँ। खोजीका क्रममा सन् २०२१ अक्टोबर ३ मा “Bips Media” नामक युट्युब च्यानलमा अपलोड गरिएको १ घण्टा १४ मिनेट ४३ सेकेन्ड लामो भिडियो भेटियो।
उक्त भिडियो नेकपा (एकीकृत समाजवादी) को रत्ननगर नगर कमिटी घोषणा कार्यक्रमकै पूर्ण रेकर्डिङ रहेको पुष्टि हुन्छ।
हामीले भाइरल क्लिपलाई मूल भिडियोसँग तुलना गर्यौँ:
-
फेसबुकमा फेब्रुअरी १० मा पोस्ट गरिएको ७ मिनेट १८ सेकेन्डको क्लिप मूल भिडियोको करिब २५ मिनेटपछि दिइएको अभिव्यक्तिको अंशसँग ठ्याक्कै मिलेको भेटियो।
-
फेब्रुअरी ११ मा पोस्ट गरिएको ३ मिनेट ८ सेकेन्डको अर्को क्लिप मूल भिडियोको ५५ मिनेट २२ सेकेन्डपछिको भागसँग मिलेको पुष्टि भयो।
दुवै क्लिपमा अडियो, दृश्य, र अभिव्यक्तिको क्रम पूर्ण रूपमा मिलेको देखिन्छ, जसले भिडियो सन् २०२१ को कार्यक्रमबाट लिइएको पुष्टि गर्छ।
हेर्नुहोस् २५ मिनेटपछिको क्लिप
हेर्नुहोस् ५५ मिनेट २२ सेकेन्डपछिको क्लिप
ओरिजिनल भिडियोको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
मूल भिडियो सार्वजनिक रूपमा उपलब्ध रहेको छ।
यस आधारमा सामाजिक सञ्जालमा हालैको जस्तो प्रस्तुत गरिएको भिडियो वास्तवमा चार वर्ष पुरानो कार्यक्रमको अंश भएको पुष्टि हुन्छ।
त्यतिबेलाको राजनीतिक सन्दर्भ
सन् २०२१ (२०७८ साल) मा तत्कालीन नेकपा एमाले विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो। उक्त विभाजन केपी शर्मा ओली नेतृत्वको एमालेसँगको आन्तरिक विवादपछि भएको थियो।
भिडियो रत्ननगरमा आयोजित सोही नयाँ पार्टीको नगर कमिटी घोषणा कार्यक्रमको हो, जहाँ रामकुमारी झाँक्री अतिथिका रूपमा सहभागी थिइन्। त्यस समय उनी एमालेबाट अलग भई नयाँ पार्टीमा सक्रिय भूमिकामा थिइन्। सो राजनीतिक पृष्ठभूमिमा उनले एमाले नेतृत्वको आलोचना गरेको देखिन्छ। अहिले भने नेकपा (एकीकृत समाजवादी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको छ। उक्त पार्टी एकीकरणमा सहमत नभएका झाँक्रीसहितका नेताहरु गत कात्तिक २४ मा एमाले प्रवेश गरेकी थिइन्।
तथ्य जाँच
दावी : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रामकुमारी झाँक्रीले लगाएको आरोपसहितको भिडियो।
दावीकर्ता : दैनिक नामक फेसबुक पेज।
तथ्य : रामकुमारी झाँक्रीले केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भिडियो वास्तविक हो। तर सामाजिक सञ्जालमा हालैको जस्तो प्रस्तुत गरिएको उक्त भिडियो सन् २०२१ (२०७८ साल) मा नेकपा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन भएको समयको कार्यक्रमबाट लिइएको हो।
पूर्ण १ घण्टा १४ मिनेट लामो मूल भिडियोसँग तुलना गर्दा भाइरल क्लिप क्रमशः २५ मिनेट र ५५ मिनेटपछि दिइएको अभिव्यक्तिको अंश भएको पुष्टि हुन्छ।
त्यसैले उक्त भिडियो हालैको अभिव्यक्ति जस्तो देखाएर सेयर गर्नु सन्दर्भबाहिर फैलाइएको भ्रामक प्रस्तुति हो।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।