- नेपाल फ्याक्ट चेक
- माघ २९, २०८२

के कलाकार सुरक्षा पन्तले शंका गरे जस्तै एचपिभी खोप लगाउनु असुरक्षित हो?
अभिनेत्री सुरक्षा पन्तले एचपिभी खोपको बारेमा फेसबुकमा स्टाटस लेखेकी छिन्। उनको स्टाटसले आम मानिसमा खोप सुरक्षित नभएको र यसको प्रभावकारितामा प्रश्न उठेकाले हामीले त्यसको बारेमा तथ्यजाँच गरेका छौँ । विश्व स्वास्थ्य संगठन तथा सिडिसीले एचपिभी खोप प्रभावकारी भएको बताएका छन्। विभिन्न अध्ययनले खोपले दुष्प्रभाव गर्ने पुष्टि गरेको छैन। लामो समय लगाएर गरिएका विभिन्न अध्ययन र ट्रायलले खोपलाई सुरक्षित र प्रभावकारी पुष्टि गरेको छ।
अभिनेत्री सुरक्षा पन्तले आफ्नो फेसबुक प्रोफाइलमा फेब्रुअरी ५ मा रातोपाटी अनलाइनको फेसबुक पेजमा प्रकाशित ‘आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने’ शीर्षकको समाचार सेयर गरेकी छिन् ।
उनले उक्त समाचार सेयर गर्दै ‘CONCERNED! CONCERNED! But why? Why more vaccines!’ लेखेकी छिन्। उनले स्टायटसमा स्पष्ट रूपमा खोपविरुद्ध अभिव्यक्ति त दिएकी छैनन्, तर उनको पोस्टले केही पाठकमा खोपसम्बन्धी शंका तथा दुविधा पैदा गराएको देखिन्छ जुन उनको पोस्टमा आएका कमेन्टहरुले पनि झल्काउँछन्।
हेर्नुस्, स्क्रिनसट, अर्काइभ लिंक

पन्तको फेसबुक पोस्ट सेयर गर्ने अन्य मानिसले पनि भ्याक्सिनले क्यान्सर गराउने, नेपाललाई प्रयोगशाला बनाउन लागेको, ट्रायल भर्सनबाट बचौँ’ लगायत लेखेर पन्तको स्टायटस सेयर गरेका छन्।
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १९६ रियाक्सन दिइएको छ भने ९१ वटा कमेन्ट छ। त्यस्तै, उक्त पोस्टलाई ८ जनाले सेयर गरेका छन्।
त्यसैले, हामीले एचपिभी खोपको बारेमा फैलिएका भ्रम समेटेर एक्सप्लेनर लेख्ने निधो गरेका छौँ।
तथ्य के हो ?
सुरक्षा पन्तले आफ्नो फेसबुक स्टाटसमा एचपिभी खोप किन लगाउनुपर्यो भनेर शंका र चिन्ता व्यक्त गरेकी छिन्, के एचपिभी खोप लगाउनु साँच्चिकै चिन्ताजनक हो त ?
हामीले यो प्रश्नको जवाफ खोज्न एचपिभी खोपका बारेमा फैलिएका भ्रम चिर्न विश्व स्वास्थ्य संगठन, युनिसेफजस्ता निकायमा एचपिभी खोपको बारेमा सर्च गर्यौँ।
त्यो क्रममा नेशनल इन्स्टिच्युट अफ हेल्थमा ‘Myths and fake messages about human papillomavirus (HPV) vaccination: answers from the ESGO Prevention Committee’ शीर्षकमा एउटा लेख प्रकाशित छ।
उक्त लेखमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) जस्ता संस्थालाई उदृत गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक एचपिभी भाइरस भएको उल्लेख छ। त्यसैले यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि दिइन्छ।
डब्लुएचओ, र सिडिसी जस्ता वैज्ञानिक प्रमाणका आधारमा चल्ने स्वास्थ्यका ठूला निकायहरुले खोपको सुरक्षा पुष्टि गरेका छन्। त्यस्तै लामो समय लगाएर गरिएका अध्ययनहरूले एचपिभी खोपको कुनै स्वास्थ्य जोखिम देखिएको छैन। खोपले क्यान्सर जस्ता गम्भीर रोगहरूको रोकथाममा ठूलो योगदान पुर्याउँछ।
हामीले एचपिभी खोपका बारेमा सामाजिक सञ्जालमा फैलिएका अन्य भ्रमको पनि तथ्यजाँच गरेका छौँ।
दावी – ‘एचपिभी भाइरस प्रायः सबै वयस्कहरुमा पाइन्छ, अनि अधिकांश समय त्यसले बिगार गर्दैन र अक्सर आफै निको भएर पनि जान्छ’ ।
तथ्य – बालबालिकाहरु यौनिक गतिविधिमा संलग्न हुनुअघि खोप दिँदा एचपिभी भाइरसले गराउने क्यान्सरको जोखिम कम हुने उल्लेख छ।
सिडिसीका अनुसार खोप दिने भनेको उपचारको लागि नभएर रोकथामको लागि हो । त्यसैले बालबालिकाहरुलाई समयमै खोप दिदाँ भविष्यमा एचपिभी भाइरसको कारण हुने क्यान्सरको जोखिम कम हुन्छ।
दावी : खोपले ‘अटोइम्युन डिजिज’ , बाँझोपन तथा अन्य समस्याका साथै मृत्यु भएका घटनाहरु धेरै छन्। एचपिभी भ्याक्सिनमा हुने हानिकारक तत्व अरु मध्ये एलुमिनियम पनि हो, जुन आफैमा क्यान्सर कारक अनि ब्रेन ड्यामेज (एल्जाइमर्स र सुस्त मनस्थिति) गराउने तत्व हो।
तथ्य : खोपले बाँझोपन तथा अटो इम्युन गराउन सक्छ भन्ने दाबीमा कुनै वैज्ञानिक प्रमाण नभएको सिडिसीले उल्लेख गरेको छ। डब्लुएचओ र सिडिसीजस्ता संस्थाहरुले खोपलाई सुरक्षित र प्रभावकारी मानेका छन्। नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित लेख अनुसार, एचपिभी खोप लगाएका मानिसबारे गरिएको अध्ययनमा कुनै दुष्प्रभाव देखिएको छैन। त्यस्तै १० लाख महिलामा गरिएको अध्ययनमा बाँझोपन सम्बन्धि कुनै समस्या देखिएको छैन।
अमेरिकन क्यान्सर सोसाइटीको लेख अनुसार, एचपीभी खोपमा ‘एल्युमिनियम’ प्रमाणित रुपमा सुरक्षित रहेको छ। यो खोपको प्रभावकारिता बढाउन प्रयोग गरिने एक प्रकारको तत्व हो। केही खोपहरूको अतिरिक्त एल्युमिनियम विभिन्न खाद्य तथा पेय पदार्थमा पाइन्छ। जसमा फलफूल, सागसब्जी, मसला, मैदा, अन्न, नट, दुधजन्य उत्पादन तथा मह समेत पर्छ। वयस्क मानिसले सामान्यतया प्रत्येक दिन ७ देखि ९ मिलिग्राम एल्युमिनियम पिउँछन्, जबकि एचपीभी खोपमा प्रति डोजमा ०.५ मिलिग्रामभन्दा बढी एल्युमिनियम हुँदैन।
विश्व स्वास्थ्य संगठनको ग्लोबल एडभाइजरी कमिटी अन भ्याक्सिन सेफ्टीको अध्ययनले पनि भ्याक्सिनमा भएको ‘एल्युमिनियम’ले स्वास्थ्यमा जोखिम नगराउने भनेको छ।
दावी : पाठेघरको मुखको क्यान्सर हुने औसत उमेर ४५, ५० हो भने ९ देखि १४ वर्षका बालिकाहरुलाई अहिलेबाट यो दिनु महाअपराध र अनैतिक कार्य हो ।
तथ्य : जति कम उमेरमा खोप लगाइन्छ त्यति नै भाइरसविरुद्ध इम्युनिटी प्राप्त हुने सिडिसीको भनाइ छ। सिडिसीको अनुसार, १५ वर्ष भन्दा कम उमेरमा खोप लगाउदाँ खोपको डोज धेरै आवश्यक पर्दैन।
दावी : एचपिभि संक्रमित भएर त्यसको कारणले मर्ने भन्दा त्यही खोपका कारण क्यान्सर भएर मर्ने सम्भावना बढी हुन्छ भनेर विश्वविख्यात डाक्टर, वैज्ञानिकहरुले भनिसकेका छन्।
तथ्य : यो विषयमा फूलफ्याक्ट नामक तथ्यजाँच संस्थाले ‘HPV vaccines have been shown to be safe and effective शीर्षकमा तथ्यजाँच गरेको छ।
उक्त तथ्यजाँच अनुसार, एचपिभी खोप सुरक्षित छ र यसका दुष्प्रभावहरू अत्यन्तै कम छन्। डब्लुएचओ, र सिडिसी जस्ता वैज्ञानिक प्रमाणका आधारमा चल्ने स्वास्थ्यका ठूला निकायहरुले खोपको सुरक्षा पुष्टि गरेको फूल फ्याक्टको तथ्यजाँचमा उल्लेख छ । त्यस्तै लामो समय लगाएर गरिएको अध्ययनहरूले एचपिभी खोपको कुनै स्वास्थ्य जोखिम देखिएको छैन। खोपले क्यान्सर जस्ता गम्भीर रोगहरूको रोकथाममा ठूलो योगदान पुर्याउँछ।
दावी : एचपिभी खोपको नेपालमा क्लिनिकल ट्रायल गरिएको हो ?
तथ्य : होइन । स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा अहिले एचपीभी खोपको क्लिनिकल ट्रायल गरिएको होइन। अन्य देशमा भएका क्लिनिकल ट्रायलको नतिजाले खोपलाई सुरक्षित र प्रभावकारी मानेपछि विश्व स्वास्थ्य संगठनले प्रयोगको लागि स्वीकृति दिइसकेको छ।
यो विषयमा नेपाल तथ्यजाँचले यसअघि तथ्यजाँच गरिसकेको छ।
हालसम्म संसारका १६४ वटा देशले एचपिभी भ्याक्सिन लगाइसकेका छन् । यसलाई विश्व स्वास्थ्य संगठन र सिडिसीजस्ता संस्थाले पाठेघरको मुखको क्यान्सरबाट बचाउने प्रभावकारी खोप प्रमाणित गरेका छन् । यो सुरक्षित र प्रभावकारी पनि छ।