- टेकमान शाक्य
- फाल्गुन २, २०८२

के रवि लामिछानेले ‘एमाले राम्रो नेताहरू भएको पार्टी हो’ भनेका हुन्? तथ्य यस्तो छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘एमाले राम्रो नेताहरु भएको पार्टी हो’ भनेर बोलेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
तर, हामीले गरेको तथ्य जाँचमा २० सेकेन्डको भिडियो क्लिप मात्रै राखेर भ्रम फैल्याइएको पुष्टि भएको छ।
के हो दावी ?
नेकपा एमालेको समर्थनमा निरन्तर पोस्ट सार्वजनिक गरिरहने रमेश लामा नाम गरेका फेसबुक प्रयोगकर्ताले फेब्रुअरी १० मा रवि लामिछानेको २० सेकेन्डको भिडियो राखे।
‘सत्य त थ्याट्टै मुखबाट निस्किहाल्यो। सत्य लुकाएर कहिल्यै लुक्दैन भनेको यही हो’ लेखेर पोस्ट गरिएको भिडियोमा लामिछानेले एमाले प्यारो छ भन्ने कुरा अब त हामीलाई थाहा छ त, राम्रा नेताहरु भएको पार्टी हो भन्दै गरेको सुनिन्छ। यही वाक्यलाई स्लो पिचमा पनि दोहोर्याइएको छ।
यो तथ्य जाँच गर्ने समयसम्ममा भिडियोलाई ३ हजार २ सय पटक रियाक्ट गरिएको छ भने २६९ पटक कमेन्ट र ४ सय ४३ पटक सेयर गरिएको छ । भिडिओलाई १ लाख २४ हजार पटक हेरिएको छ ।
रमेश लामाको भिडिओको स्क्रिन रेकर्ड हेर्नुहोस्
भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यो भिडियोको तथ्य जाँचका लागि हामीले भिडियोबाट एउटा फ्रेम निकालेर त्यसलाई गुगल रिभर्स इमेज सर्च गर्यौं। त्यसको नतिजामा Breaknlinks Nepali को आधिकारिक फेसबुक पेजमा १ मिनेट ५१ सेकेन्डको भिडियो पोस्ट भएको भेटियो।
भिडियोमा लामिछानेले एमाले र कांग्रेस पार्टी छाड्न नसकेपनि भोट भने घण्टी (रास्वपाको चुनाव चिह्न) मै हाल्न आग्रह गरिरहेका सुनिन्छन्। लामिछानेले ‘एमाले राम्रा नेताहरु भएको पार्टी भएको’ भनेका पनि छन् तर त्यसपछिका वाक्यले उनले त्यस्तो व्यङ्ग्य गर्दै भनेको सुनिन्छ।
भिडियोको १ मिनेटपछि लामिछानेले भनेका छन्,
तपाई कांग्रेस, तपाईँ एमालेमै रहनुहोस् । हामीले नरहनुहोस् भनेकै छैनौं । हामीले मागेको त घण्टीमा भोट त हो नि जाबो । तपाईँको घरमा कांग्रेसकै झण्डा राख्नुस् २ वटा झण्डा मै ल्याइदिन्छु, भोट पो घण्टीमा हाल्नु भनेको त। एमाले प्यारो छ भन्ने कुरा अब त हामीलाई थाहा छ त, राम्रा नेताहरु भएको पार्टी हो। पार्टीको बारेमा हामीलाई के भन्नु छ र ? तर काम हेरियो। काम हेरिसकेपछि, सारा चिज हेरिसकेपछि अब नयाँ साथीहरुले केही गर्छु भनेर आएकालाई एकपटक अवसर दिने कि नदिने भन्ने प्रश्न हो। त्यो अवसर अब दिनुपर्ने बेला आएको छ। त्यो सिद्दान्त लाई छाड्नुस् भनेकै छैन मैले त्यो झण्डा छाड्नुस् भनेको छैन मैले। बिहान घाम तापे भैगयो नि…’
भिडिओको ओरिजिनल लिंक यहाँ छ ।
सन्दर्भ
लामिछानेको अभिव्यक्ति चुनावी अभियानको क्रममा गरिएको भाषणको अंश हो, जहाँ लामिछानेले पारम्परिक दलप्रति मतदाताको भावनालाई स्वीकार गर्दै व्यंग्यात्मक ढंगले नयाँ विकल्पलाई अवसर दिन आग्रह गरेका छन्।
पूर्ण भिडियोमा उनले एमाले र कांग्रेस समर्थकलाई पार्टी नछाड्न तर भोट भने रास्वपालाई दिन अपिल गरेका छन् तथा व्यंग्यात्मक शैलीमा ‘राम्रा नेताहरू भएको पार्टी’ भनेका छन्।
तर सामाजिक सञ्जालमा फैलाइएको भिडियोमा केवल २० सेकेन्डको अंश काटेर सन्दर्भ बाहिर प्रस्तुत गरिएको छ।
तथ्य जाँच
दावी : रास्वपाका सभापति रवि लामिछानेले ‘एमाले राम्रो नेताहरु भएको पार्टी हो’ भनेर बोलेको दावीसहितको भिडियो ।
दावीकर्ता : रमेश लामा (फेसबुक प्रयोगकर्ता)
तथ्य : भ्रामक सूचना। रवि लामिछानेको अभिव्यक्तिको पूर्ण सन्दर्भबाट काटेर २० सेकेन्ड मात्र प्रस्तुत गरिएको हो। पूरा भिडियोमा उनले व्यंग्यात्मक शैलीमा उक्त कुरा भनेका छन् र मतदातालाई रास्वपालाई भोट दिन आग्रह गरेका छन्। आंशिक क्लिप प्रयोग गरी अर्थ परिवर्तन गरिएको छ।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।