एआई जेनेरेटेड कोशी तथ्यजाँच मिथ्या सूचना

हर्क साम्पाङ समर्थकको भनिएको विमानस्थलको भाइरल फोटो एआईबाट बनेको


हर्क साम्पाङ समर्थकको भनिएको विमानस्थलको भाइरल फोटो एआईबाट बनेको

  • भोजराज श्रेष्ठ

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङको फोटो टाँसिएको लगेजका साथ मलेसियाबाट नेपालीहरु फर्कँदै गरेको दावीसहित एउटा फोटो सामाजिक सञ्जालमा फैलिएको छ।

तर, हाम्रो तथ्य जाँचले यो फोटो वास्तविक नभएर एआईबाट बनेको पुष्टि गरेको छ।

के हो दाबी ?

बन्धन राई (Bandhan Rai) नामक फेसबुक प्रयोगकर्ताले आइतबार (फेब्रुअरी १५) बिहान १२ः३६ बजे फेसबुकमा एउटा फोटोसहितको पोस्ट राखे जसमा विदेशबाट फर्किएका केही युवा आफ्नो स्टिकर टाँसिएको लगेज गुडाइरहेको देखिन्छ।

हर्क साम्पाङलाई मेन्सन गर्दै अपलोड गरिएको फोटोको क्याप्सनमा लेखिएको छ, ‘मलेसियाबाट आउनुहुने सम्पूर्ण माटो प्रेमी दाजुभाइहरूलाई हार्दिक स्वागत गर्दछौं… जय माटो, जय देश !!’

माटो हर्क साम्पाङको श्रम संस्कृति पार्टीको चुनाव चिह्न हो।

१३ हजार फलोअर्स भएको बन्धन राईको फेसबुकमा राखिएको उक्त पोस्टमा हामीले आइतबार तथ्य जाँच गर्दैगर्दा ५ हजार २ सय रियाक्सन, ६ सय ७६ कमेन्ट र एक सय ५५ पटक शेयर गरिएको छ।

हेर्नुहोस्, स्क्रिनसट :

बन्धन राईको फेसबुकमा राखिएको उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

जन दियम राई (Jann Diyam Rai) नामक फेसबुक प्रयोगकर्ताले सोही फोटोलाई फेब्रुअरी १४ (शनिबार) फेसबुकमा पोस्ट गरेका थिए । सोही फोटोसहित उनको पोस्टमा लेखिएको छ, ‘स्वागत छ हाम्रो दाजुभाइहरू भोट हाल्न आयो है खाडी र मलेसियाबाट जय माटो’

८८ हजार फलोअर्स भएको जन दियम राई नामक फेसबुकमा राखिएको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा ५ हजार ५ सय रियाक्सन, चार सय १४ कमेन्ट र एक सय ८७ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

जन दियम राईको फेसबुकमा राखिएको उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा सुरुमा हामीले फोटोलाई ध्यान दिएर हेर्‍यौँ। फोटोमा झट्ट हेर्दा देखिएका सबै अनुहारमा कुनै पनि भावभङ्गिमा नदेख्ने बित्तिकै यो एआई फोटो हुन सक्ने शंका गर्‍यौँ। वास्तविक फोटो भएको भए फोटोमा देखिने अनुहारहरुमा फरक फरक भावभङ्गिमा प्रतिबिम्बित हुनसक्थ्यो।

त्यसैले हामीले केही टुलहरुबाट एआई फोटो हो कि हैन भनेर जाँच्यौँ।

सुरुमा हाइभ मोडरेसनमा जाँच्दा यसले ९९.९ प्रतिशत एआईद्वारा निर्मित हुनसक्ने नतिजा दियो।

हेर्नुहोस्, हाइभ मोडरेसन गरिएको जाँचको नतिजा :

त्यसपछि हामीले उक्त तस्वीरलाई वाज इट एआईमा पनि जाँच गर्‍यौँ। त्यहाँ पनि यो फोटो एआईद्वारा बनेको हुनसक्ने नतिजा आयो।

हेर्नुहोस्, स्क्रिन सट :

त्यसपछि हामीले यो फोटोको सूक्ष्म अध्ययन गर्‍यौँ। त्यसमा देखिएका अमिल्दा कुराहरु यस्ता छन्-

  • सबैको लगेज उस्तै आकारको छ जुन वास्तविकतामा सम्भव हुँदैन
  • हरेकको लगेजमा भएका दुई वटा ब्यागको रङ समान छ।
  • अराइभल गेट लेखिएको अक्षर बाहेक अरु साइनबोर्डका अक्षरहरु प्रष्ट देखिन्नन्। सामान्यतया एआईद्वारा निर्मित फोटोमा यस्तो हुने गर्छ।
  • जुम गरी हेर्दा केही अनुहारहरु खप्टिएका, प्रष्ट नदेखिएका छन्। वास्तविक फोटोमा यस्तो हुँदैन। हेर्नुस् स्क्रिनसट

सन्दर्भ र प्रभाव

निर्वाचनको पूर्वसन्ध्यामा विदेशबाट ठूलो संख्यामा समर्थक फर्किएको देखाउने सामग्रीले मतदातामा प्रभाव पार्ने उद्देश्य राखेको हुनसक्छ। यस्तो एआई निर्मित दृश्य सामग्रीले राजनीतिक धारणामा भ्रम सिर्जना गर्न सक्छ।

तथ्य जाँच

दावी : हर्क साम्पाङको समर्थन गर्दै मलेसियाबाट दर्जनौं युवा स्वदेश फर्किएको दावीसहितको फोटो।

दावीकर्ता : बन्धन राई र जनदियम राई नामक फेसबुक प्रयोगकर्ता।

तथ्य : मिथ्या सूचना सामाजिक सञ्जालमा सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङको समर्थनमा मलेसियाबाट युवा स्वदेश फर्किएको दावीसहित भाइरल गरिएको फोटो वास्तविक नभई एआईबाट निर्मित भएको पुष्टि हुन्छ। फोटोको भिजुअल विश्लेषण गर्दा समान आकारका लगेज, दोहोरिएका रङ संयोजन, अस्पष्ट अनुहार र विकृत साइनबोर्ड जस्ता एआईका संकेतहरू देखिएका छन्। साथै, Hive Moderation र Was It AI जस्ता स्वतन्त्र एआई डिटेक्शन टुलहरूले पनि उच्च सम्भावनासहित यो फोटो कृत्रिम रूपमा सिर्जना गरिएको देखाएका छन्। त्यसैले उक्त फोटोका आधारमा विदेशबाट समर्थकहरू ठूलो संख्यामा फर्किएको भन्ने दाबी सही होइन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add