तथ्यजाँच अपुष्ट सूचना सुदूरपश्चिम

भीम रावल लखेटिएको भन्दै अपुष्ट भिडियो भाइरल


भीम रावल लखेटिएको भन्दै अपुष्ट भिडियो भाइरल

यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अछाम जिल्ला निर्वाचन क्षेत्र १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावल अछामबाट लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, हामीले गरेको तथ्य जाँचमा भीम रावल अछामबाट लखेटिएको दाबी पुष्टि हुने तथ्य फेला पर्न सकेन ।

के हो दाबी ?
नेकपा एमालेको समर्थनमा निरन्तर फेसबुक पोष्ट सार्वजनिक गरिरहने लक्ष्मण धामी नाम गरेका ३६ हजार फलोअर्स रहेको फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ८ को दिन अछाममा भीम रावल लखेटिएको दाबीसहितको १० सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् ।

भिडिओमा व्यक्तिहरू हुलहुज्जत गरिरहेको देखिन्छ । भिरालो ठाउँबाट हुलहुज्जत गर्दै तलतिर झर्दै गरिरहेको दृश्यमा धूलो उडेको देखिन्छ भने अलि तल केही भौतिक संरचना र पारिपट्टि पहाडसमेत देखिन्छ ।

भिडिओमा दाबी गरिएजस्तो अछाम १ का उम्मेदवार भीम रावललाई भने देख्न सकिँदैन । यो तथ्य जाँचको समयसम्म भिडिओ क्लिपले ९ हजार ७ सय पटक रियाक्ट पाएको छ भने ६ सय ९३ पटक कमेन्ट पाएको छ । पोष्टले ६३४ पटक सेयर पाएको छ भने १३ लाख पटक भिडिओलाई हेरिएको छ ।

हेर्नुहोस् लक्ष्मण धामी नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोष्टको स्क्रिन सट

लक्ष्मण धामीको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

२६ हजार फलोअर्स रहेको रोशन क्षेत्री नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि यही दाबीसहित १० सेकेन्डको भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओ पोष्टमा ४०९ पटक रियाक्ट भएको छ भने ४८ पटक कमेन्ट भएको छ । ५६ हजार पटक हेरिएको यो पोष्टलाई १०२ पटक सेयर गरिएको छ ।

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ

के हो तथ्य ?

यो भिडिओको तथ्य जाँच गर्नका लागि हामीले भिडिओबाट थुप्रै फ्रेम निकालेर पटक-पटक गुगल रिभर्स ईमेज सर्च गरेर हेर्‍यौ । यसको नतिजामा पछिल्ला दिनका पोष्टहरु मात्रै भेटिए । पुराना पोष्ट भेट्न सकेनौँ  । ‘भीम रावल’, ‘अछामबाट लखेटिए’ लगायत किवर्ड प्रयोग गरेर गुगलमा एडभान्स सर्च पनि गरेर हेर्‍यौँ । यसबाट पनि पछिल्ला दिनका भाइरल पोष्टहरु मात्रै भेटिए ।

भीम रावल लखेटिएको समाचार कुनै पनि आधिकारिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित भएको फेला पर्न सकेन । त्यसपछि हामीले यो भिडिओ एआईमार्फत बनेको हो कि होइन भनेर जाँच गरेर  हेर्‍यौँ । गुगलको synth ID परीक्षण गर्दा नतिजामा यो भिडिओ‌मा एआईको प्रयोग नगरिएको देखियो ।

हेर्नुहोस् गुगलको synth ID परीक्षण गर्दा प्राप्त नतिजा

त्यसपछि हामीले यो विषयमा बुझ्न नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापालाई सम्पर्क गर्‍यौँ । उपाध्यक्ष थापाले अछाममा भीम रावल लखेटिएको कुरामा सत्यता नरहेको बताए । भिडिओमा देखिएको भूगोल अछाम जिल्लासँग सम्बन्धित नरहेको भन्दै उनले अरू कतै ठाउँको पुरानो भिडिओ प्रयोग गरेर मिथ्या सूचना फैल्याउने प्रयास भएको बताए ।

भाइरल भिडिओबारे हामीले अछामका फोटो पत्रकार एवम् नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका महासचिव पूर्णबहादुर खड्कालाई पनि सम्पर्क गर्‍यौँ । उनले पनि अछाममा भीम रावल लखेटिएको दाबीमा सत्यता नरहेको र भिडिओ पनि कुनै मेला या पर्वको हुन सक्ने बताए ।

अछाममा कुनै घटना भएको छ कि छैन भनेर हामीले जिल्ला प्रहरी कार्यालय अछामलाई पनि सम्पर्क गर्‍यौँ । नेपाल तथ्य जाँचसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रकाश खनालले अछाममा त्यस्तो कुनै घटना नभएको र भीम रावल लखेटिएको दाबीसहितको फेसबुक पोष्टमा पनि सत्यता नरहेको बताए ।

डिएसपी खनालको भनाइ अनुसार उनले पनि भीम रावल लखेटिएको दाबीसहितको भाइरल भिडिओ हेरेका रहेछन् । त्यो भिडिओ कुनै मेला पर्वको हुन सक्ने भन्दै उनले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम रावल लखेटिएको भनेर गरिएको दाबीमा कुनै सत्यता नरहेको बताए ।

तथ्य जाँच 

दाबी : भीम रावल अछामबाट लखेटिएको भन्दै भाइरल भिडिओ

दाबीकर्ता : लक्ष्मण धामी, रोशन क्षेत्रीलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : अपुष्ट दाबी । अछामबाट भीम रावल लखेटिएको दाबी पुष्टि हुन सकेन। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रकाश खनाल, फोटो पत्रकार एवम् नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका महासचिव पूर्ण बहादुर खड्का र नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापाले यो घटना नै नभएको बताएका छन् ।  भाइरल भिडिओ कहाँको हो भनेर हामीले पत्ता लगाउन सकेनौँ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add