तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

विवेक थपलियामाथि खुकुरी प्रहार भएको छैन, भाइरल दाबी मिथ्या


विवेक थपलियामाथि खुकुरी प्रहार भएको छैन, भाइरल दाबी मिथ्या

कन्टेन्ट क्रियटर विवेक थपलियामाथि कुटपिट भएकोदेखि खुकुरी प्रहार भएकोसम्मका दाबीसिहतका पोष्टहरु सामाजिक सञ्जालमा भाइरल छन् । तर हामीले गरेको तथ्य जाँचमा यी सबै दाबी मिथ्या रहेको पुष्टि भएको छ।

के हो दाबी ?

२ लाख ३५ हजार फलोअर्स रहेको MUSIC HUB नाम गरेको फेसबुक पेजबाट माघ २६ गते (२०२६ को फेब्रुअरी ९) को दिन कन्टेन्ट क्रियटर विवेक थपलियाबारे एउटा पोष्ट सार्वजनिक भएको छ। पोष्टमा थपलिया झापा ५ जाने क्रममा कुटपीट भएको दाबी गरिएको छ। यो तथ्यजाँच गर्ने समयसम्ममा पोष्टमा ७७९ पटक रियाक्ट भएको छ भने ११२ पटक कमेन्ट भएको देखिन्छ। पोष्टलाई  ८ पटक सेयर गरिएको छ।

हेर्नुहोस् MUSIC HUB नामक फेसबुक पेजले गरेको पोष्टको स्क्रिनसट

MUSIC HUB ले गरेको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अनलाइन टिभी नेपाल डटकमले फागुन १० गते (फेब्रुअरी २२) को दिन विवेक थपलियाबारे समाचार प्रकाशित गरेको छ । समाचारको हेडलाइनमै थपलियामाथि खुकुरी प्रहार भएको र उनको आइसियुमा उपचार भइरहेको दाबी गरिएको छ । यो तथ्य जाँचकाे समयसम्ममा अनलाइनमा प्रकाशित समाचारलाई १ हजार १ सय पटक सेयर गरेको देखिन्छ ।

समाचारमा शनिबार राति एउटा समूहले थपलियामाथि खुकुरी प्रहार गरेको र  उनलाई वीर अस्पतालको आईसियूमा भर्ना गरेर राखिएको उल्लेख गरिएको छ ।

प्रहरीले घटनास्थल आसपासका सिसिटिभी क्यामेराको फुटेज संकलन गरिरहेकोदेखि आक्रमणमा संलग्न व्यक्तिहरु फरार रहेको र फरार रहेकाहरुको खोजी गर्न प्रहरीले विशेष टोली परिचालन गरेर नाकाहरूमा कडा निगरानी गरिरहेकोसम्मको दाबी गरिएको छ ।

हेर्नुहोस् अनलाइन टिभी नेपाल डटकमले प्रकाशित गरेको समाचारको स्क्रिन सट

अनलाईन टिभी नेपाल डटकमको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही दाबीसहितको पोष्ट १७ हजार फलोअर्स रहेको Nepal News नामक फेसबुक पेजले पनि सार्वजनिक गरेको भेटियो। नेपाल न्यूज नामक फेसबुक पेजले सार्वजनिक गरेको पोष्टमा यो तथ्य जाँच गर्ने समयसम्ममा ५७७ पटक रियाक्न र २ सयभन्दा बढी पटक कमेन्ट भएको छ ।

हेर्नुहोस् नेपाल न्यूज नामक १७ लाख फलोअर्स रहेको पेजको पोष्टको स्क्रिन सट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

५ लाख ७१ हजार फलोअर्स रहेको मेरो देश मेरो गौरव नाम गरेको फेसबुक पेजले पनि यहि दावीसहितको पोष्ट सार्वजनिक गरेको छ । सार्वजनिक भएको फोटोमा विवेक थपलिया अस्पतालको बेडमा देख्न सकिन्छ । यो तथ्य जाँच गर्ने समयसम्ममा पोष्टले १ हजार १ सय पटक रियाक्ट पाएको छ भने ४ सय ५६ पटक कमेन्ट भएको छ । पोष्टलाई १४ पटक सेयर गरिएको छ ।

हेर्नुहोस् मेरो देश मेरो गौरव नाम गरेको फेसबुक पेजले गरेको पोष्टको स्क्रिन सट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

के हो तथ्य ?

यो दाबीबारे तथ्य जाँच गर्न हामीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले यसबारे कुनै पनि सूचना प्राप्त नभएको र आफूलाई जानकारी नभएको बताए ।

आक्रमणमा संलग्नहरुको खोजीका लागि प्रहरी परिचालनदेखि नाकामा निगरानी बढाएको र सिसिटिभी फुटेज संकलन गरेको दाबीमा सत्यता नभएको उनले बताए ।

त्यसपछि हामीले यसबारे बुझ्न स्वयम् विवेक थपलियालाई सम्पर्क गर्‍यौँ । उनले आफूमाथि कुनै पनि समूहले आक्रमण नगरेको र आफू ठीक रहेको बताए ।

‘वीर अस्पतालको आईसीयूमा भर्ना गरेर राखिएको भनिएको समयमा म गोरखामा थिएँ’, उनी भन्छन्, ‘ममाथि खुकुरी प्रहार भएको भन्ने दावीमा कुनै पनि सत्यता छैन’ । उनको भनाई अनुसार शनिवार उनी गोरखामा एमाले उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) को चुनावी अभियानमा सरिक भएका थिए ।

उनले यसअघि पनि आफूमाथि कुटपीट भएको भन्दै मिथ्या सूचना फैल्याएको बताए । अहिले मात्रै नभई केही दिनअघि मात्रै पनि ‘झापा ५ मा जाने क्रममा कुटपीट भएको’ भनेर मिथ्या सूचना फैल्याएको भन्दै उनले आफ्नो बारेमा निरन्तर मिथ्या दाबीसहितको पोष्ट सार्वजनिक भइरहेको बताए । थपलियाले बताए अनुसार उनी अहिले दाबी गरिएजस्तो वीर अस्पतालको बेडमा नभई आफ्नै घरमा रहेका छन् ।

सुन्नुहोस् विवेक थपलियासँगको टेलिफोन कुराकानी

तथ्य जाँच

दाबी : कन्टेन्ट क्रियटर विवेक थपलियामाथि कुटपिट, खुकुरी प्रहार भएको।

दावीकर्ता : MUSIC HUB नामक फेसबुक पेज, अनलाइन टिभी नेपाल डटकम, Nepal News नामक फेसबुक पेज र  ‘मेरो देश मेरो गौरव’ नामक फेसबुक पेज

तथ्य : मिथ्या सूचना। विवेक थपलियामाथि कुटपिटदेखि खुकुरी प्रहार भएको छैन । स्वयम् विवेक थपलियाले आफूमाथि कुटपिट या खुकुरी प्रहार नभएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add