तथ्यजाँच कोशी भ्रामक सूचना सम्बन्धित प्रदेश

नझुक्किनुस्, हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागेका छैनन्


नझुक्किनुस्, हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागेका छैनन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ मा भोट मागेको दावीसहितको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।

तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा साम्पाङको भाषणलाई सम्पादन गरी फरक अर्थ लाग्ने गरी प्रस्तुत गरिएको पाइएको छ।

के छ दावी ?

फेसबुकमा १७ हजारभन्दा बढी फलोअर्स रहेको केशव आचार्य ले जनवरी २६ मा ‘झापा ५ का मतदातालाई हर्क साम्पाङको आग्रह’ शीर्षकमा एउटा भिडिओ अपलोड गरेका छन्।

उक्त भिडिओमा साम्पाङले यसो भनेको सुनिन्छ:

‘ल म झापा पाँचबाट भन्न चाहन्छु, झापा पाँचका मतदातालाई, केपी ओलीलाई फेरि एक पटक मन्त्री बनाइदिएर हुन्छ के ? केपी ओलीलाई हराउनकै लागि भएपनि घण्टीमा चाहीँ, भोट ओइराउनुपर्छ…. त्यसो भएको हुनाले गर्दाखेरि केपी ओलीलाई भोट हाल्नु हुँदैन।’

हेर्नुस्, स्क्रिन रेकर्ड, लिंक

 

यो तथ्यजाँच गर्दासम्म उक्त भिडिओ एक लाखभन्दा बढी पटक हेरिएको छ। भिडिओमा ३४ सयभन्दा बढी रियाक्सन, ७१ कमेन्ट र १७६ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्न हामीले युट्युबमा ‘haraka sampang damak jhapa’ कीवर्ड राखेर खोजी गर्‍यौँ। त्यस क्रममा फेब्रुअरी १७ मा झापाको दमकमा साम्पाङले गरेको भाषणका धेरै भिडिओ फेला परे।

त्यसमध्ये मेरो आवाज मिडिया ले ‘बाफ्रे! झापा दमकमा हर्क साम्पाङको खरो गर्जन, केपि र बालेनको सातो लिने भाषण @damakNews’ शीर्षकमा ३४ मिनेट लामो भिडिओ अपलोड गरेको भेटियो।

पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुस्।

उक्त भिडिओको २१ मिनेट ५० सेकेन्डमा सामपाङले:

‘ल म झापा पाँच बाट भन्न चाहन्छु, झापा पाँचका मतदातालाई, केपी ओलीलाई फेरि एक पटक मन्त्री बनाइदिएर हुन्छ के ?’ भनेका छन्। त्यसपछि उनले केपी ओलीको आलोचना गर्दै अन्य प्रसङ्ग बोलेका छन्। त्यो प्रसङ्ग अन्त्य गर्ने क्रममा उनले: ‘त्यसो भएको हुनाले गर्दाखेरि केपी ‌ओलीलाई भोट हाल्नु हुँदैन’ भनेका छन्।

तर भाइरल भिडिओमा सुनिएजस्तो ‘केपी ओलीलाई हराउनकै लागि भएपनि घण्टीमा चाहीँ, भोट ओइराउनुपर्छ….’ भनेका छैनन्।

हेर्नुस्, स्क्रिन रेकर्ड:

भिडिओको २७ मिनेट ४ सेकेन्डमा साम्पाङ यसो भन्छन्:

“…अघि भर्खर मैले के सुने भने… केपी ओलीलाई हराउनकै लागि भएपनि घण्टीमा चाहीँ भोट ओइराउनुपर्छ अरे… हैन यो देशलाई विदेश बनाउने हो र भनेको….”

यहाँ उनले आफूले सुनेको कुरा उद्धृत गरेका छन्, समर्थन गरेका होइनन्। त्यस प्रसङ्गपछि उनले झापा ५ मा उपयुक्त उम्मेदवार समिर तामाङ रहेको बताउँदै आफ्नै पार्टीका उम्मेदवारको पक्षमा मत मागेका छन्।

भाइरल भिडिओमा भने:

  • ‘अघि भर्खर मैले के सुने भने…’ भन्ने सन्दर्भ काटिएको छ,
  • त्यसपछि ‘घण्टीमा भोट ओइराउनुपर्छ…’ भन्ने अंश राखिएको छ,
  • र पछिल्लो प्रसङ्गमा ओलीविरुद्ध बोलेको ‘त्यसो भएको हुनाले केपी वलीलाई भोट हाल्नु हुँदैन…’ भन्ने लाइन जोडिएको छ।

दुई फरक प्रसङ्गका वाक्य काँटछाट गरी जोड्दा साम्पाङले ‘घण्टी’ मा भोट मागेको जस्तो अर्थ लाग्ने बनाइएको छ। तर पूर्ण भिडिओमा उनले झापा ५ का उम्मेदवारहरू केपी शर्मा ओली र बालेन शाह दुबैको आलोचना गर्दै आफ्नै पार्टीको उम्मेदवारको पक्षमा भोट मागेका छन्।

साम्पाङले कतै पनि ‘केपी ओलीलाई हराउनकै लागि भए पनि घण्टीमा भोट हाल्नुपर्छ’ भनेका छैनन्।

तथ्यजाँच

दावी : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागे।

दावीकर्ता : केशव आचार्य नामक फेसबुक प्रयोगकर्ता।

निष्कर्ष :  भ्रामक सूचना (Misleading) । साम्पाङको भाषणका दुई फरक सन्दर्भका अंश काँटछाँट गरी जोड्दा उनले घण्टीको पक्षमा मत मागेको जस्तो देखाइएको हो। पूर्ण भिडिओ विश्लेषण गर्दा उक्त दावी पुष्टि हुँदैन।

अनलाइनखबर nepalfactcheck.orgको सहकार्य

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add