- सुरज घिमिरे
- फाल्गुन १८, २०८२

एक्सप्लेनर : जाडो याम सकिएर प्रि-मनसुन सुरु, कस्तो रहन्छ यो सिजन ?
नेपालमा जाडो याम सकिएसँगै प्रि–मनसुन सिजन सुरु हुन्छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार मार्च १ देखि मे महिनासम्मको अवधिलाई प्रि–मनसुन मानिन्छ। नेपाली पात्रो अनुसार यो समय मध्य फागुनदेखि मध्य जेठसम्म पर्छ। यो जाडो र मनसुनबीचको संक्रमणकाल हो, जहाँ मौसम क्रमशः तातो र अस्थिर बन्दै जान्छ।
के हो प्रि–मनसुनको अवधि ?
जाडो महिनामा नेपालमा पश्चिमबाट आउने “पश्चिमी न्यून चापीय प्रणाली” ले मौसममा प्रभाव पार्छ। वसन्त सुरु हुँदै जाँदा यो प्रणाली कमजोर बन्छ। त्यही समयमा घामको प्रभाव बढेर जमिन छिटो तात्न थाल्छ।
जमिन तात्दा तातो हावा माथि उठ्छ। नदी, पोखरी, वन क्षेत्र र माटोबाट पानी वाफ बनेर वायुमण्डलमा जान्छ। माथिल्लो चिसो तहमा पुगेपछि त्यो वाफ बादलमा रूपान्तरित हुन्छ। यही प्रक्रियाबाट दिउँसो वा साँझतिर मेघगर्जनसहित वर्षा हुन्छ। मौसम विज्ञानमा यसलाई “स्थानीय वायुमण्डलीय अस्थिरता” भनिन्छ। सरल भाषामा भन्नुपर्दा, दिउँसो घाम लागेपछि साँझतिर अचानक बादल लागेर पानी पर्नु नै यसको उदाहरण हो।
मे महिनासम्म चल्ने प्रि–मनसुनको अवधिमा मध्य सागरबाट आउने पश्चिमी न्यून चापीय प्रणालीको वायुमण्डलमा रहे पनि कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी बताउँछन् ।
‘यस बेलामा मध्य सागरबाट आउने पश्चिमी न्यून चापीय प्रणालीको वायुमण्डलमा हुन्छ । तर, यो केही रूपमा कमजोर हुँदै गइरहेको हुन्छ ।’, उनी भन्छन्, ‘यो समयमा हाम्रो वरपर रहेका पानीका स्रोतहरूबाट बनेको बादलले पानी पर्ने प्रणालीको विकास गरिरहेको हुन्छ र पानी पर्छ । यसलाई हामी स्थानीय वायुको प्रभाव पनि भन्छौँ ।’
किन यो समयमा मौसम पूर्वानुमान गर्न गाह्रो हुन्छ?
प्रि–मनसुनको वर्षा प्रायः छोटो समय र सीमित क्षेत्रमा मात्र हुन्छ। एक ठाउँमा घाम लागिरहेको हुन सक्छ भने केही किलोमिटर पर पानी परिरहेको हुन सक्छ। सानो तापक्रम अन्तर, आर्द्रता र हावाको दिशाले पनि वर्षा हुने–नहुने निर्णय गर्छ। त्यसैले यो सिजनमा ठ्याक्कै कहाँ र कति वर्षा हुन्छ भन्ने पूर्वानुमान गर्न चुनौतीपूर्ण हुन्छ।
‘प्रि–मनसुन सिजनमा छोटो समयका लागि थोरै ठाउँहरूमा पानी पर्छ। त्यसैले यहाँ घाम लागिरहेको छ भने अल्लि पर पानी परिरहेको पनि हुन सक्छ। त्यसैले मौसम पूर्वानुमान गर्न यो समयमा अल्लि कठिन हुन्छ’, मौसमविद् पुडासैनी भन्छन् ।
कस्ता मौसमी घटना देखिन्छन्?
प्रि–मनसुन सिजनमा मेघगर्जन, चट्याङ, असिना पानी, हावाहुरी र कहिलेकाहीँ धुलो आँधी देखिन्छ। दिउँसो जमिन धेरै तात्दा बादल तीव्र रूपमा विकास हुन्छ र साँझपख वर्षा गराउँछ। कतिपय अवस्थामा स्थानीय प्रणाली र पश्चिमी प्रणालीको प्रभाव मिसिँदा अझ शक्तिशाली मौसम घटना हुन सक्छ।
यस्ता अवस्थाले रुख ढल्ने, बिजुलीका खम्बा भत्किने, घरका छाना उड्ने जस्ता घटना निम्त्याउन सक्छ। चट्याङ र असिनाले मानिस तथा पशु चौपायामा क्षति पुर्याउन सक्छ भने खेतीबालीमा पनि असर पार्न सक्छ।
यो सिजनमा दिउँसो, साँझ पख र राती मौसम खराब हुने गर्छ । कहिलेकाहीँ स्थानीय मौसम प्रणालीसँगै पश्चिमी मौसम प्रणालीको पनि प्रभाव मिसिँदा प्रि-मनसुनमा ठुलो किसिमको मौसमी घटनाहरू हुने उनको बुझाई छ।
गत वर्ष कस्तो रह्यो?
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विभाग (जलवायु विश्लेषण शाखा)का अनुसार सन् २०२५ मा प्रि–मनसुन अवधिमा देशभर औसत वर्षा ११८.९ प्रतिशत पुगेको थियो, जुन सामान्यभन्दा बढी हो। ९० प्रतिशतभन्दा कम वर्षा भए सामान्यभन्दा कम, ९० देखि ११० प्रतिशत भए सामान्य नजिक र ११० प्रतिशतभन्दा बढी भए सामान्यभन्दा बढी मानिन्छ।
केही स्थानमा अत्यधिक वर्षा मापन गरिएको थियो। नुम मा ९९०.३ मिलिमिटर वर्षा मापन भयो भने चौरजहारीटार मा सामान्यभन्दा ३२८.३ प्रतिशत बढी वर्षा रेकर्ड गरिएको थियो। तर गण्डकी प्रदेशको उत्तरी भागमा भने मध्यम सुख्खा अवस्था देखिएको थियो, जसले प्रि–मनसुनको असमान वितरण देखाउँछ।
तापक्रमतर्फ हेर्दा तराईका अधिकांश भागमा अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि र न्यूनतम तापक्रम १८ डिग्रीभन्दा माथि पुगेको थियो।
मनसुन कहिले प्रवेश गर्यो?
सन् २०२५ मा मनसुन २९ मेमा पूर्वी नेपालबाट प्रवेश गरेको थियो, जुन सामान्य मिति १३ जुनभन्दा १५ दिन अगाडि हो। सक्रिय प्रि–मनसुन कहिलेकाहीँ मनसुन छिटो प्रवेश गर्ने संकेत पनि हुन सक्छ, तर यो सधैं निश्चित नियम होइन।
किन महत्वपूर्ण छ प्रि–मनसुन?
प्रि–मनसुन सिजन नेपालका लागि महत्वपूर्ण संक्रमणकाल हो। यसले गर्मीको सुरुवात जनाउँछ, स्थानीय स्तरमा आवश्यक वर्षा गराउँछ, तर सँगै चट्याङ, असिना र हावाहुरीको जोखिम पनि बढाउँछ। मौसम छिटो बदलिने भएकाले आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्नु र सावधानी अपनाउनु यस सिजनमा विशेष आवश्यक मानिन्छ।

