एक्सप्लेनर सही सूचना

एक्सप्लेनर : के नागरिकता भएपछि भोट हाल्न पाइन्छ? मतपेटिका सुरक्षाको जिम्मा कसको ?


एक्सप्लेनर : के नागरिकता भएपछि भोट हाल्न पाइन्छ? मतपेटिका सुरक्षाको जिम्मा कसको ?

फागुन २१ गते देशभरका १६५ वटै क्षेत्रमा प्रतिनिधि सभा सदस्य चुन्न मतदान हुँदैछ। निर्वाचनको विषयमा केही मिथ्या र भ्रामक खबरहरू पनि फैलिएका छन्। यो एक्सप्लेनरमा हामी निर्वाचनसँग सम्बन्धित केही विषयहरूलाई स्पष्ट पार्ने छौं।

फागुन २१ गते हुन लागेको निर्वाचन के हो?

फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि मात्रै निर्वाचन हुन लागेको हो। अघिल्लो पटक प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकै पटक भएको थियो। गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकार बनेको थियो। उक्त सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा भङ्ग भएपछि नयाँ प्रतिनिधि सभाका लागि चुनाव हुन लागेको हो।

कति जना सदस्य यो निर्वाचनमा चुनिन्छन्?

देशभरका १६५ वटा क्षेत्रबाट सबैभन्दा बढी भोट ल्याउने एक जना गरी १६५ जना सदस्य चुनिन्छन् भने सम्पूर्ण देशलाई एक क्षेत्र मानी राजनीतिक दलहरुले पाएको मतका आधारमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य गरी कूल २६५ जना सदस्य चुनिन्छन्।

यो निर्वाचन प्रधानमन्त्री चुन्नका लागि हुन लागेको हो ?

मतदाताले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने प्रणाली नेपालमा छैन। मतदाताले आफ्ना प्रतिनिधि सभा सदस्य चुन्छन् र ती सदस्यहरु मध्ये जसले सबैभन्दा बढी सदस्यको समर्थन जुटाउन सक्छ, उही प्रतिनिधि सभाबाट प्रधानमन्त्री निर्वाचित हुन्छ। प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैबाट निर्वाचित भएका २६५ जना प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री बन्न योग्य हुन्छन्। नेपालको संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री प्रतिनिधि सभाका सदस्य मध्येबाट नियुक्त गरिन्छ। त्यहाँ प्रत्यक्ष वा समानुपातिक भनेर छुट्याइएको छैन।

कति छन् मतदाता ? विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् कि पाउँदैनन् ?

निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य (फागुन २० गतेसम्म १८ वर्ष पुगेका) एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् जसमा पुरुष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार एक सय ३१ र अन्य २०० जना छन् ।

निर्वाचन आयोगका अनुसार विदेशमा रहेका नेपालीहरू मतदानमा सहभागी हुन पाउँदैनन्। विदेशमा भएका नेपाली नागरिकहरूलाई पनि मतदानमा सहभागी गराउने सम्बन्धमा चर्चा भए पनि यो विषय यस पटक सम्भव भएको छैन। मतदानमा सहभागी हुन व्यक्ति स्वयं आफ्नो जिल्लाको मतदान केन्द्रमा उपस्थित हुनुपर्छ।

मतदाता परिचयपत्र नभएको खण्डमा पनि भोट हाल्न पाइन्छ ?

आयोगका अनुसार निर्वाचनमा मतदान गर्नको लागि अन्तिम मतदाता नामावलीमा नाम उल्लेख भएको हुनुपर्छ । फागुन २० गते सम्म १८ वर्ष (उमेर) पूरा भई मतदाता नामावलीमा नाम उल्लेख भएको नागरिक मतदान गर्न योग्य हुने आयोगले जनाएको छ।

तर यदि तपाईँको मतदाता परिचय पत्र हराएको छ भने पनि तपाईँ मतदानबाट वञ्चित हुनुपर्दैन। नागरिकता, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र देखाएर पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगले स्पष्ट पारेको छ। तर त्यसका लागि मतदाता नामावलीमा नाम भने हुनुपर्छ। मतदाता नामावलीमा नाम छ कि छैन यहाँबाट हेर्न सकिन्छ।

मतदानको दिन लाइनमा को–को बस्नुपर्दैन ?

निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरका अनुसार कुनै पनि मतदान केन्द्र वा मतदान स्थलमा सहज पहुँचता पुग्नुपर्छ भन्नेमा आयोग दृढ रहेको छ । उनी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, लैङ्गिक अल्पसङ्ख्यक मतदाता लाइनमा बस्नु नपर्ने र जाने बित्तिकै मतदान गर्न पाउने व्यवस्था मिलाइएको बताउँछिन् ।

‘कुनै पनि मतदान केन्द्र वा मतदान स्थलमा सहज पहुँचता पुग्नुपर्छ भन्नेमा आयोग दृढ रहेको छ। सोही अनुसार हामीले व्यवस्थापन गरेका छौं’, उनी भन्छिन्, ‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, लैङ्गिक अल्पसङ्ख्यक मतदाता लाइनमा बस्नुपर्दैन, उहाँहरू जाने बित्तिकै मतदान गर्न पाउनुहुन्छ।’

एक पटक भन्दा बढी मतदान गरे के हुन्छ ?

आयोगका अनुसार कसैले पनि एउटै निर्वाचनको लागि एक पटक भन्दा बढी पटक मतदान गर्न पाउँदैनन् । यसले कसैले एकभन्दा बढी पटक मतदान गरेको पाइएमा मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ मा उल्लेख गरिएको छ ।

मतपेटिकाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनाले लिएको हो ?

यसपालि मतदानपछि मतपत्रलाई गणना स्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको भन्दै खबरहरू फैलिएका छन्। तर, केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्य योजना–२०८२’ अनुसार विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतगणना स्थलसम्म मतपेटिका ढुवानी गरिने छ।

नेपाली सेनाले एक विज्ञप्ति प्रकाशन गर्दै स्पष्ट पारेको छ, ‘विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेनासहित एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने छ।’

नेपाली सेनाले भनेको छ, ‘वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न भएका सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाण्डौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् नेपाली सेना, अन्य सुरक्षा निकायहरू, निर्वाचन अधिकृत लगायत दलका प्रतिनिधिहरू सहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको नजिर हामी माझ रहेको छ।’ नेपाली सेनाको विज्ञप्ति हेर्नुस्। 

यस पटकको मतदानमा कति वटा मतपत्र हुन्छन्?

मतदान गर्न जाँदा तपाईंलाई एउटा रातो मतपत्र उम्मेदवार छान्न अर्को कालो मतपत्र दल छान्न दिइन्छ। मतदान निर्देशिका, २०८२ अनुसार दुवै प्रणालीका लागि छुट्टाछुट्टै मतपेटिका र मतपत्र राख्नुपर्ने व्यवस्था छ। त्यसैगरी, “१” र “२” लेखिएको स्टिकरबाट दुवै प्रणाली छुट्याइने व्यवस्था गरिएको छ।

मतदान स्थलमा के के लैजान पाइँदैन?

मतदान निर्देशिका, २०८२ अनुसार मतदान गर्न जाँदा केही वस्तु लैजान पाइँदैन। जस्तै मोबाइल फोन, क्यामेरा, फोटो खिच्ने कुनै पनि उपकरण, अन्य निषेधित वस्तु। मादक पदार्थ सेवन गरेको व्यक्ति पनि मतदान केन्द्रमा प्रवेश गर्न पाउँदैन।

निर्वाचन सम्बन्धी आधिकारिक जानकारी र सूचनाहरु कहाँ हुन्छ ?

निर्वाचन सम्बन्धी आधिकारिक जानकारी र सूचनाहरु निर्वाचन आयोगको वेबसाइट (यहाँ क्लिक गर्नुस्), आयोगको फेसबुक पेज (यहाँ क्लिक गर्नुस्), आयोगको टिकटक (यहाँ क्लिक गर्नुस्) मा हुन्छ।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देख्दा यो सही हो कि होइन भन्ने शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add