तथ्यजाँच भ्रामक सूचना वागमती

‘सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड बोकेको रास्वपा उम्मेदवार गणेश कार्कीको फोटो तोडमोड गरिएको


‘सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड बोकेको रास्वपा उम्मेदवार गणेश कार्कीको फोटो तोडमोड गरिएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले सिंहदरबार जलाएरै छाड्यौँ’ लेखिएको प्लेकार्ड बोकेको दावीसहितको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा यो फोटो पुरानो फोटो तोडमोड गरेर सन्दर्भभन्दा बाहिर प्रस्तुत गरिएको पुष्टि भएको छ।

के हो दावी ?

२७ हजारभन्दा बढी फलोअर्स रहेका राजिव भट्टराई नामक फेसबुक प्रयोगकर्ताले मार्च २, २०२६ मा गणेश कार्कीको फोटोसहित पोस्ट गरेका छन्। त्यसमा सहकारी पीडितले सभा बहिष्कार गरेर लखेट्ने भनेर सूचना थाहा पाएपछि रास्वपाले पोखराको अमरसिंह चौरमा आयोजना गरिएको कोणसभा स्थगित गरेको दावी गरिएको छ ।

फोटोमा गणेश कार्की देखिन्छन् भने उनले हातमा ‘देखिस ओली सिंहदरबार जलाएरै छाड्यौँ’ लेखेको प्लेकार्ड समातेको देखिन्छ। यो तथ्यजाँच गर्ने समयसम्म पोस्टमा २ हजार ६ सय पटक रियाक्ट, ४ सय ४४ वटा कमेन्ट तथा २ सय ८४ पटक सेयर गरिएको छ।

हेर्नुहोस् राजिव भट्टाराईको पोष्टको स्क्रिनसट

राजिव भट्टराईको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

खप्तड डेलीको ९२ हजार फलोअर्स रहेको  फेसबुक पेजमा पनि यही दावीसहित फोटो पोष्ट भएको छ। यो तथ्यजाँच गर्ने समयसम्ममा पोष्टमा १ हजार १ सय पटक रियाक्ट भएको छ भने १ सय ६६ पटक कमेन्ट र २ सय ४४ पटक सेयर भएको छ।

हेर्नुहोस् खप्तड  डेलीले गरेको पोष्टको स्क्रिनसट

खप्तड डेलीको पोष्टको ओरिजिनल लिंक यहाँ छ ।

नेपाली कम्युनिष्ट पार्टी निकट जेनजेड रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले पनि यही फोटो पोष्ट गर्दै रास्वपा उम्मेदवार गणेश कार्कीको उम्मेदवारी खारेजीको माग गरेकी छिन् ।

उनले कार्कीको उम्मेदवार खारेजीको माग गर्दै निर्वाचन आयोगलाई मेन्सनसमेत गरेकी छन्। यो तथ्य जाँच गर्ने समयसम्ममा पोष्टमा १४१ पटक रियाक्ट भएको छ भने ३२ पटक कमेन्ट र ६ पटक सेयर भएको छ ।

हेर्नुहोस् स्मृति तिमिल्सिनाको पोष्टको स्क्रिनसट

स्मृति तिमिल्सिनाको ओरिजिनल पोस्ट लिंक यहाँ छ

के हो तथ्य ?

यसबारे तथ्यजाँचका लागि हामीले भाइरल तस्बिरलाई गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। नतिजामा गणेश कार्कीले सन् २०२५ को अक्टोबर २६ को दिन आफ्नो फेसबुकमा यही फ्रेमको फोटो पोष्ट गरेको भेटियो ।

उनले स्टाटसमा आफू आन्दोलनमा गएको स्वीकार गरेका छन्। उनले हातमा लिएको प्लेकार्डमा भने ‘NOT GEN-Z BUT WITH GEN-Z’  लेखेको देखिन्छ।

हेर्नुहोस् गणेश कार्कीले गरेको पोष्टको स्क्रिनसट

गणेश कार्कीको ओरिजिनल लिंक यहाँ छ 

भाइरल फोटो र वास्तविक फोटोको तुलना गर्दा यस्तो देखियो ।

भाइरल फोटो र मूल फोटो तुलना गर्दा फ्रेम, एङ्गल र पोज समान छन्, प्लेकार्डको लेखाइ मात्र परिवर्तन गरिएको छ। यसले फोटो सम्पादन (manipulation) गरिएको स्पष्ट संकेत गर्छ।

तथ्यजाँच

दावी : गणेश कार्कीले ‘सिंहदरबार जलाएरै छाड्यौँ’ लेखिएको प्लेकार्ड बोकेको फोटो।

दावीकर्ता : राजिव भट्टराई, खप्तड डेली फेसबुक पेज, स्मृति तिमिल्सिना लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य/निश्कर्ष : भ्रामक (Misleading)। भाइरल फोटो २०२५ मा पोस्ट गरिएको वास्तविक फोटो हो, जसमा लेखिएको सन्देश डिजिटल रूपमा परिवर्तन गरिएको छ। पुरानो फोटोलाई तोडमोड गरी गलत सन्दर्भमा प्रस्तुत गरेर भ्रम फैलाइएको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add