तथ्यजाँच भ्रामक सूचना वागमती

सोविता गौतमले ‘आदिवासी जनजातिलाई पैसामा बिक्ने भने’ दावीसहित विज्ञप्ति यसकारण भ्रामक


सोविता गौतमले ‘आदिवासी जनजातिलाई पैसामा बिक्ने भने’ दावीसहित विज्ञप्ति यसकारण भ्रामक

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम ले चुनावी सभामा आदिवासी जनजाती (विशेषगरी गुरुङ र थारु समुदाय) लाई लक्षित गरेर अपमानजनक अभिव्यक्ति दिएको दावीसहित केही विज्ञप्ति सार्वजनिक भएका छन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा सोविता गौतमको भाषण तोडमोड गरेर सन्दर्भभन्दा बाहिर प्रस्तुत गरिएको पुष्टि भएको छ।

के हो दावी ?

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवनले २०८२ साल फाल्गुन १८ गते अध्यक्ष सागर कुमालको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै सोविता गौतमले आदिवासी जनजाती समुदायको अपमान गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा गौतमले गुरुङ र थारु समुदायलाई “सोझो र पैसामा बिक्ने समुदाय” का रूपमा वर्गीकृत गरेको उल्लेख गर्दै सार्वजनिक माफी र लिखित स्पष्टीकरण माग गरिएको छ। साथै उम्मेदवारलाई चुनाव बहिष्कार गर्ने चेतावनीसमेत दिइएको छ।

हेर्नुहोस् नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय, चितवनको विज्ञप्ति

त्यसको भोलिपल्ट तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवनले पनि गम्भीर ध्यानाकर्षणसहितको विज्ञप्ति प्रकाशित गरेको छ। उक्त विज्ञप्तिको सामग्री नेपाल आदिवासी जनजाती महासंघले जारी गरेको विवरणसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ।

हेर्नुहोस् तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवनले प्रकाशित गरेको विज्ञप्ति

 

यी विज्ञप्तिलाई आधार बनाएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सोविता गौतमको आलोचना गरिएको देखिन्छ। स्पेस फोरके टेलिभिजन ले यस विषयमा भिडियो रिपोर्ट तयार पारेको छ।

हेर्नुहोस् स्पेस फोर्केले सार्वजनिक गरेको भिडिओ रिपोर्टको स्क्रिनसट

Space 4K टेलिभिजनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

शिलापत्र डटकमले पनि आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा सोविता गौतम तानिएको र महासंघले कारबाहीको चेतावनी दिएको भनेर समाचार प्रकाशित गरेको छ  ।

हेर्नुहोस् सिलापत्र डटकममा प्रकाशित समाचारको स्कृनसट

शिलापत्र डटकमको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

जनआस्थाले ४३ सेकेन्डको भिडिओ क्लिप पोस्ट गरेको छ।  भिडिओमा तथ्य जाँच गर्ने समयसम्ममा ८ हजार ८ सय पटक रियाक्ट भएको छ भने १ हजार १ सय पटक कमेन्ट भएको छ । १ हजार ७ सय पटक सेयर भएको छ भने २ लाख ५० हजार पटक सेयर गरिएको छ।

भिडिओको बीचबीचमा निक्कै जर्क (नमिलेको) अनुभव गर्न सकिन्छ।

हेर्नुहोस् जनआस्थाको स्क्रिनरेकर्ड

जनआस्थाको  लिंक यहाँ छ

भाइरल भिडियोमा प्रयोग गरिएको अंश

सामाजिक सञ्जालमा फैलाइएको ४३ सेकेन्डको भिडियो क्लिपमा सोविता गौतमले यसरी बोलेको सुनिन्छ:

“यो समुदाय, गुरुङ समुदाय, थारु समुदाय यो समुदाय चाहिँ वास्तवमा भन्ने हो भने निकै सोझो समुदाय हो। हेर्नुस् तपाईँहरू जस्तो वर्ग र समुदायलाई आज पैसाले किन्न सक्ने वर्ग हो भनेर त्यसरी सोच बनाइराखेका छन्। त्यस कारणले तपाईँहरूको समुदायप्रति धोका पनि धेरै हुन्छ । तपाईँहरूको समुदायलाई धोका पनि धेरै दिइन्छ के ।

तपाईँहरूलाई चाहिँ एउटालाई भनेपछि हुन्छ यो समुदायलाई भन्ने किसिमको सोच राखिन्छ र जब जब निर्वाचनको अन्तिम अन्तिम समय आउँछ त्यो अन्तिम अन्तिम समयमा तपाईँहरूलाई प्रभावित पार्न आउँछन् भने नलिनुस् भन्दिन भन्ने दिनुस् तपाईँहरूलाई कसैले दिन्छ भने तपाईँहरूकै पैसा हो चुनावको मुखमै भए पनि दिन्छन् लिनुस् त्यो राख्नु पर्छ तर भोट यो पालि इमानदार नेतृत्वलाई दिनुपर्छ।”

यो अंशलाई सन्दर्भभन्दा अलग गरी प्रस्तुत गर्दा उनले समुदायलाई “पैसामा बिक्ने” भनेर आरोप लगाएको जस्तो अर्थ लाग्ने देखिन्छ।

के हो तथ्य ?

नेपालफ्याक्टचेकलाई सोविता गौतमको २ मिनेट १४ सेकेन्ड लामो मूल भिडियो प्राप्त भएको छ। पूरा भिडियो विश्लेषण गर्दा उनले आदिवासी जनजाती समुदायलाई “पैसामा बिक्ने” भनेको देखिँदैन।

बरु उनले उक्त समुदायलाई इमानदार र वचनमा अडिग रहने समुदाय भन्दै प्रशंसा गर्दै सम्बोधन गरेकी छन् र चुनावको समयमा पैसा बाँडेर मत प्रभावित गर्ने प्रयास हुनेबारे मतदातालाई सचेत गराएको देखिन्छ।

हेर्नुहोस् सोविता गौतमको भाषणको पूर्णअंश

 

सन्दर्भका लागि सोविता गौतमको भाषणको पूरा अंश

मूल भिडियोमा उनले यसरी सम्बोधन गरेकी छन्:

यो समुदाय, तपाईँहरूको समुदाय, गुरुङ समुदाय, थारु समुदाय, यो समुदाय चाहिँ वास्तवमा भन्ने निकै सोझो समुदाय हो। निकै एकचोटी बोलिसकेपछि जे भन्छ त्यसमा अडिग रहन्छ। एकदम इमानदार समुदाय हो। त्यस कारणले तपाईँहरूको समुदाय प्रति धोका पनि धेरै हुन्छ। तपाईँहरूको समुदायलाई धोका पनि धेरै दिइन्छ के।

तपाईँहरूलाई चाहिँ एउटा भनेपछि हुन्छ यो समुदायलाई भन्ने किसिमको सोच राखिन्छ र जब जब निर्वाचनको अन्तिम अन्तिम समय आउँछ त्यो अन्तिम अन्तिम समयमा भनिन्छ के, ए त्यो ठाउँमा त फलानो चिज दिएपछि हुन्छ भन्ने किसिमको कुराहरू बाहिर सुनिन्छ।

हेर्नुस् तपाईँहरू जस्तो एउटा इमानदार वर्ग र समुदायलाई आज पैसाले किन्न सक्ने वर्ग हो भनेर त्यसरी सोच बनाइराखेका छन्। यो आफैमा तपाईँहरू माथि गरेको अन्याय हो।

त्यस कारणले तपाईँहरू अब यो अन्तिम समयमा आएर तपाईँहरूलाई प्रभावित पार्ने, तपाईँहरूलाई केही कुरा दिएझैँ गर्ने मनसायले कोही मानिसहरू आउँछन् भने त्यसमा स्पष्ट हुनुस्। नलिनुस् भन्दिन म, लिनुस्। तपाईँहरूलाई कसैले दिन्छ भने लिनुस्।

किनभने तपाईँहरूलाई आज अन्तिम समयमा चुनावको मुखमा आएर कसैले केही कुरा दिन्छ भने त्यो उसको खल्तीबाट हालेर दिन्छ भने के कुरा बुझ्नुस् भने तपाईँहरूले हिँड्ने बाटो, तपाईँहरूले जाने स्वास्थ्य चौकी, तपाईँहरू जाने अस्पताल, तपाईँका छोराछोरी पढ्ने विद्यालय यिनैबाट भ्रष्टाचार गरेर कमाएका पैसाहरू तपाईँहरूलाई चुनावको मुखमा दिन आउने हो।

त्यस कारणले तपाईँहरू यी कुरामा स्पष्ट हुनुस्। अन्तिम समयमा तपाईँहरूलाई प्रभावित पार्न आउँछन् भने नलिनुस् भन्दिन म, लिनुस्। तपाईँहरूलाई कसैले दिन्छ भने तपाईँहरूकै पैसा हो। चुनावको मुखमै भए पनि दिन्छन् लिनुस्, त्यो राख्नु पर्छ तर भोट यो पालि इमानदार नेतृत्वलाई दिनुपर्छ।”

यसमा बोल्ड गरिएको भाइरल भिडियोमा छ, नगरिएको काटिएको छ।

पूरा भाषण हेर्दा उनले समुदायलाई अपमान गरेको नभई उनीहरूलाई लक्षित गरेर पैसा बाँड्ने चुनावी रणनीतिबारे चेतावनी दिएको देखिन्छ।

 

तथ्य जाँच

दावी : सोविता गौतमले आदिवासी जनजाती (विशेषगरी गुरुङ र थारु समुदाय) लाई अपमानजनक अभिव्यक्ति दिइन्।

दावीकर्ता : नेपाल आदिवासी जनजाती महासंघ जिल्ला परिषद सचिवालय चितवन तथा तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवन।

तथ्य/निष्कर्ष : भ्रामक दावी (Misleading)। सोविता गौतमको भाषणको अंश काटेर सन्दर्भभन्दा बाहिर प्रस्तुत गरिएको छ। पूर्ण भिडियो विश्लेषण गर्दा उनले आदिवासी जनजाति समुदायलाई अपमान गर्ने अभिव्यक्ति दिएको पुष्टि हुँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add