- नेपाल फ्याक्ट चेक
- फाल्गुन २०, २०८२

गगन थापालाई सर्लाहीमा लखेटियो? होइन, भाइरल भिडियो आठ वर्ष पुरानो
नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापालाई सर्लाहीका जनताले लखेटेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडियो अहिलेको नभई आठ वर्ष पुरानो स्थानीय निर्वाचनको मौन अवधिको भिडियो भएको पुष्टि भएको छ। पुरानो भिडियोको सानो अंश काटेर अहिले सर्लाहीको घटना जस्तो प्रस्तुत गरिएको हो।
दावी के छ ?
३ लाख ५६ हजारभन्दा बढी फलोअर्स रहेको सूर्य खबर डटकम नामक फेसबुक पेजले “गगन थापाको सर्लाहीमा लखेटेको भनेको विषयको भिडियो…” लेख्दै एउटा भिडियो अपलोड गरेको छ।
३० सेकेन्डको उक्त भिडियोमा: “गगन थापा मुर्दाबाद”, “गगनलाई लखेट” जस्ता नाराबाजी सुनिन्छ।
भिडियोमा गगन थापा गाडीमा देखिन्छन्। त्यहाँ एक युवतीले उनलाई “आचार संहिता उल्लंघन गर्न पाइन्छ ?” भनेर प्रश्न गरेको सुनिन्छ।
त्यसको जवाफमा थापाले “किन डराको यसरी… हत्तेरिका” भनेको सुनिन्छ।
बुधबार दिउँसो यो तथ्यजाँच गर्ने समयसम्म भिडियोमा २१,९०० प्रतिक्रिया १,३०० कमेन्ट २,७०० शेयर भइसकेका छन्।
हेर्नुस्, स्क्रिन रेकर्ड, भिडियो लिंक
तथ्य के हो ?
यस विषयमा तथ्यजाँच गर्न हामीले फेसबुकमा “गगन थापा मुर्दाबाद”, “गगन थापा विरुद्ध नाराबाजी” लगायतका कीवर्ड प्रयोग गरेर खोजी गर्यौँ।
त्यस क्रममा २०१७ मे १३ मा अपलोड गरिएको १ मिनेट १७ सेकेन्ड लामो भिडियो फेला पर्यो।
उक्त भिडियोमा गगन थापाको पहिरन, चढेको गाडी, नाराबाजी, प्रश्न सोध्ने युवतीको आवाज, वरिपरिको परिवेश अहिले भाइरल गरिएको भिडियोसँग ठ्याक्कै मेल खान्छ।
तुलना गर्दा अहिले भाइरल भिडियो त्यही भिडियोको करिब ३० सेकेन्ड मात्र काटेर प्रयोग गरिएको देखिन्छ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस् । हेर्नुस्, स्क्रिन रेकर्ड
भिडियोको सन्दर्भ के थियो ?
२०१७ मे १३ लाई नेपाली मितिमा परिवर्तन गर्दा २०७४ वैशाख ३० पर्छ। त्यसको भोलिपल्ट २०७४ वैशाख ३१ मा स्थानीय तह निर्वाचन भएको थियो।
त्यतिबेला गगन थापा स्वास्थ्यमन्त्री थिए। निर्वाचनको मौन अवधि चलिरहेको थियो। भिडियोमा पनि केही व्यक्तिले प्रहरीलाई “मन्त्रीलाई आचार संहिता लाग्दैन ?” भन्दै प्रश्न गरेको सुनिन्छ।
अर्थात् उक्त भिडियो मौन अवधिमा आचार संहिता उल्लंघन भएको आरोप लगाउँदै गरिएको नाराबाजीको दृश्य हो। अहिलेको चुनावसँग यसको कुनै सम्बन्ध छैन।
तथ्यजाँच
दावी : गगन थापालाई सर्लाहीमा लखेटियो।
दावीकर्ता : सूर्यखबर डटकम नामक फेसबुक पेज।
तथ्यजाँच/निश्कर्ष : भ्रामक (Misleading)। भाइरल गरिएको भिडियो अहिले सर्लाहीमा भएको घटना होइन। यो २०७४ सालको स्थानीय निर्वाचनको मौन अवधिमा खिचिएको पुरानो भिडियो हो। पुरानो भिडियोको छोटो अंश काटेर अहिलेको घटना जस्तो देखाएर सामाजिक सञ्जालमा फैलाइएको हो।