तथ्यजाँच गण्डकी मिथ्या सूचना सम्बन्धित प्रदेश

५ लाख नगदसहित नेता पक्राउ परेको भाइरल फोटोको तथ्य: टाउको फेरिएको, दावी मिथ्या


५ लाख नगदसहित नेता पक्राउ परेको भाइरल फोटोको तथ्य: टाउको फेरिएको, दावी मिथ्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी  पाँच लाख रुपैयाँ नगदसहित नियन्त्रणमा परेको दावीसहितको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा उक्त फोटोमा अनुहार डिजिटल रूपमा सम्पादन गरी अर्कै राखेको भेटिएको छ।

के हो दाबी ?

“राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाका उपसभापति ध्रुव अधिकारी ५ लाख नगदसहित नियन्त्रणमा” भन्ने दावीसहितको फोटो सामाजिक सञ्जालमा व्यापक फैलिएको छ।

सेतीमादी डेली नामको  फेसबुक पेजमा मंगलबार मध्यरात पोस्ट गरिएको उक्त सामग्रीमा बुधबार दिउँसोसम्म १२ हजारभन्दा बढी प्रतिक्रिया, १ हजार ८ सय कमेन्ट र १  हजार ५ सय भन्दा बढी शेयर भइसकेका छन्। हेर्नुस् स्क्रिनसट

फेसबुक लिङ्क।

यो दावी अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि फैलाएका छन्।

भाइरल फोटो मा एक पुरुष टेबलमा राखिएको ठूलो रकमको थुप्रोसँग बसिरहेको देखिन्छ। हामीलाई थुप्रैले यो फोटोको विषयमा तथ्य जाँच गर्न अनुरोध आएको छ।

के हो तथ्य ?

हामीले भाइरल फोटोलाई नजिकबाट विश्लेषण गर्‍यौँ। यस क्रममा केही अस्वाभाविक संकेत देखियो। जस्तै, व्यक्तिको टाउको शरीरसँग स्वाभाविक रूपमा मिलेको देखिँदैन।अनुहारको किनार र घाँटीको भागमा जोडिएको जस्तो डिजिटल किनार देखिन्छ। पृष्ठभूमि अत्यधिक ब्लर गरिएको छ।

यी संकेतहरूले फोटो म्यानिपुलेसन भएको भएको सम्भावना देखाउँछन्।

हामीलाई ओरिजिनल फोटो भएको दावी गर्दै अर्को फोटो पनि प्राप्त भयो। त्यो फोटोमा पनि पृष्ठभूमि अत्यधिक ब्लर गरिएको छ। दुवै फोटो तुलना गर्दा शरीर र वातावरण समान देखिन्छ, तर अनुहार फरक छ। यसले मूल फोटोमा टाउको परिवर्तन गरिएको सम्भावना बलियो बनाउँछ।

हेर्नुस् दुई फोटोको तुलना-

यद्यपि, हामीले ओरिजिनल भनिएको फोटोमा देखिएका व्यक्ति को हुन् र कुन सन्दर्भमा सो फोटो खिचिएको हो भन्ने बारे स्वतन्त्र पुष्टि गर्न सकेनौँ। यसका लागि हामीले विभिन्न टुलमा गरेको रिभर्स इमेज सर्चले कुनै नतिजा दिएन।

प्रतिक्रियाहरु

हामीले यसबारे प्रतिक्रिया लिन राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाका उपसभापति ध्रुव अधिकारीसित सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो।

त्यसपछि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह प्रवक्ता प्रतिभा रावलसित सम्पर्क गर्‍यौँ। उनले यस्तो कुनै घटना नभएको र फोटो गलत रहेको बताइन्। उनले हामीलाई रास्वपाको गोरखा जिल्ला समितिद्वारा जारी विज्ञप्ति पनि पठाइन्। विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएको उक्त तस्बिर एआई प्रयोग गरेर बनाइएको ‘डीपफेक’ भएको दाबी गरिएको छ। विज्ञप्तिमा पार्टीका उपसभापति ध्रुव अधिकारीसँग सम्बन्धित भनिएको फोटो कृत्रिम रूपमा तयार गरी चुनावी माहोल प्रभावित पार्ने प्रयास भएको उल्लेख गर्दै त्यस्ता सामग्री नफैलाउन आग्रह गरिएको छ। साथै, यसबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि पार्टीले जनाएको छ। विज्ञप्ति पढ्न क्लिक गर्नुस्। 

यस विषयमा गोरखा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार सुदन गुरुङले पनि पोस्ट गर्दै तस्बिर एआई प्रयोग गरेर बनाइएको र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको दावी गरेका छन्। हेर्नुस् उनको फेसबुक पोस्टको स्क्रिनसट-

फेसबुक लिङ्क। 

उनले र रास्वपा गोरखा जिल्ला समितिले उल्लेख गरेको फेसबुक पेज सेवा समर्पण नेपालले भने पोस्ट डिलिट गरी माफी मागिसकेको छ। हेर्नुस् स्क्रिनसट-

फेसबुक लिङ्क

तथ्य जाँच

दावी : रास्वपा गोरखाका उपसभापति ध्रुव अधिकारी ५ लाख नगदसहित पक्राउ परे।

दावीकर्ता : Setimadidaily फेसबुक पेज र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य/निष्कर्ष : मिथ्या सूचना (False)। सामाजिक सञ्जालमा फैलाइएको फोटो डिजिटल रूपमा सम्पादन गरिएको देखिन्छ। फोटोमा देखिएको व्यक्तिको अनुहार मूल तस्बिरमा पछि जोडिएको जस्तो देखिन्छ। उपलब्ध दृश्य विश्लेषण, प्रतिक्रियाहरू तथा तथ्यहरूको आधारमा उक्त दावी सत्य नभएको पुष्टि हुन्छ।

 

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्यजाँच गर्नेछौँ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add