तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

दोलखामा ‘कांग्रेस–नेकपा मिलेर बुथ कब्जा’ दावी भ्रामक, प्रहरीले भन्यो- एजेन्ट विवाद भएको हो


दोलखामा ‘कांग्रेस–नेकपा मिलेर बुथ कब्जा’ दावी भ्रामक, प्रहरीले भन्यो- एजेन्ट विवाद भएको हो

कांग्रेस र नेकपा मिलेर दोलखा जिल्लाको मालुमा बुथ कब्जा गरेको दावीसहितको सामग्री सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।

तर नेपालफ्याक्टचेकको तथ्यजाँचले उक्त दावी भ्रामक रहेको पुष्टि गरेको छ। मालुमा मतदान सुरु हुनुअघि मतदान अधिकृतसँग विवाद भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर गरेको थियो।

दावी के हो ?

फेसबुकमा १७ लाखभन्दा बढी फलोअर्स रहेको ‘नेपाली न्यूज’ नामक फेसबुक पेजले “Breaking: काङ्ग्रेस र नेकपा मिलेर दोलखा मालुमा बुथ कब्जा” भन्ने क्याप्सनसहित पोस्ट सार्वजनिक गरेको छ।

तर उक्त क्याप्सनबाहेक पोस्ट वा कमेन्टमा कुनै विस्तृत समाचार उल्लेख गरिएको छैन।

हेर्नुस् स्क्रिनसट, अर्काइभ लिंक

 

मालु तामाकोशी गाउँपालिका-४ मा पर्छ।

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ४४६ रियाक्शन छ भने ४९ कमेन्ट र ११ पटक  सेयर गरिएको छ।

त्यस्तै, नेपालप्रेस अनलाइनले आफ्नो ट्विटरमा ‘काङ्ग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि दोलखा मालुमा एमाले र रास्वपाको नाराबाजी’ क्याप्सन राखेर एउटा भिडिओ अपलोड गरेको छ। भिडिओमा मतदान केन्द्रअघि मानिसहरुले नाराबाजी गरेको सुन्न सकिन्छ।

यो तथ्यजाँच गर्दासम्म उक्त भिडिओ ८ हजार ६ सय ३५ जनाले हेरेका छन्, भने ५३ रिट्विट, १०५ फेब र १० वटा कमेन्ट गरिएको छ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुस्। हेर्नुस् अर्काइभ लिङ्क।  स्क्रिनसट-

फेसबुक पेजको पृष्ठभूमि

हामीले यो सूचनालाई ब्रेकिङ न्युज दावी गर्दै फेसबुकमा राख्ने ‘नेपाली न्यूज’  को प्रोफाइल हेर्‍यौँ।  त्यसमा Broadcasting & media production company लेखिए पनि यो प्रोफाइल ट्रान्सपरेन्सीमा हेर्दा पहिले ‘जोक्सै जोक्सको खानी’ नाम राखिएको पेजलाई पछि नेपाली जोक्स हुँदै सन् २०१६ देखि नेपालीन्युज नाममा परिवर्तन गरिएको पायौँ। हेर्नुस् स्क्रिनसट-

यो पेज अमेरिकाबाट ५ जनाले र नेपालबाट एक जनाले अपडेट गरिरहेको त्यसमा उल्लेख छ।

तथ्य के हो ?

यस विषयमा जानकारी लिन नेपालफ्याक्टचेकले जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजकुमार लामासँग टेलिफोन सम्पर्क गरेको छ।

उनका अनुसार मतदान सुरु हुनुअघि मतदान केन्द्रमा एजेन्ट बस्ने विषयमा विवाद भएको थियो। विवादका क्रममा नाराबाजी भएको र स्थिति तनावपूर्ण बनेको उनले बताए।

विवाद बढ्दै जाँदा केही व्यक्तिले मतदान अधिकृतमाथि हातपात गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणका लागि एक राउण्ड हवाइ फायर गरेको उनले जानकारी दिए।

उनका अनुसार त्यसपछि मतदान स्थगित गरिएको छ र सर्वदलीय बैठकमार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको छ।

डिएसपी लामाले भने: “एजेन्ट बस्ने विषयमा विवाद भएर मतदान अधिकृतलाई हातपात गर्न खोजेपछि हामीले एक राउण्ड हवाइ फायर गरेका हौँ। अहिले सर्वदलीय बैठक बसेर विवाद मिलाउने काम भइरहेको छ। विवाद मिलाएपछि मतदान सुरु हुन्छ। बुथ कब्जा भएको छैन, त्यो हल्ला मात्रै हो।”

तथ्यजाँच

दावी : कांग्रेस र नेकपा मिलेर दोलखा जिल्लाको मालुमा बुथ कब्जा गरे।

दावीकर्ता : ‘नेपाली न्यूज’ नामक फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य/निष्कर्ष :  भ्रामक सूचना (misleading)। दोलखाको तामाकोशी गाउँपालिका–४ मालुमा मतदान सुरु हुनुअघि एजेन्ट बस्ने विषयमा विवाद भएको थियो। उक्त विवाद बढेपछि मतदान अधिकृतमाथि हातपातको प्रयास भएको र स्थिति नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार त्यहाँ बुथ कब्जा भएको छैन। त्यसैले सामाजिक सञ्जालमा फैलाइएको दावी भ्रामक हो।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add