तथ्यजाँच कोशी भ्रामक सूचना

ओखलढुंगामा प्रहरीले गोली चलाएको दावीसहितको भाइरल भिडिओ यसकारण भ्रामक


ओखलढुंगामा प्रहरीले गोली चलाएको दावीसहितको भाइरल भिडिओ यसकारण भ्रामक

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएसँगै सामाजिक सञ्जालमा ओखलढुंगामा झडप भएको र प्रहरीले गोली चलाएको दावीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा निर्वाचन सुरक्षा अभ्यासको पुरानो भिडिओ प्रयोग गरेर भ्रम फैलाइएको पुष्टि भएको छ।

के हो दावी ?

१ हजार ९ सय फलोअर्स रहेको ‘रुटिन अफ आठविसकोट’ नामक फेसबुक पेजले १ मिनेट ५९ सेकेन्डको एउटा भिडिओ सार्वजनिक गरेको छ। बिहीवार बिहान ९ बजेर ४८ मिनेटमा पोस्ट गरिएको उक्त भिडिओमा ओखलढुंगामा झडप भएको र प्रहरीले गोली चलाएको दावी गरिएको छ। यो तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा १ हजार १ सयभन्दा बढी प्रतिक्रिया, १ सय ७३ कमेन्ट र ९२७ पटक शेयर भएको छ। भिडिओलाई २ लाख ११ हजारभन्दा बढी पटक हेरिएको छ।

हेर्नुस् रुटिन अफ आठविसकोटले पोस्ट गरेको भिडिओको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यही दावीसहित उक्त भिडिओ क्लिप पोस्ट गरिरहेका छन्। भिडिओ पोस्ट गर्नेहरूले ओखलढुंगामा झडप भएको र आर्मीले मतदानस्थलमै गोली चलाएको दावी गरेका छन्।

हेर्नुहोस् सामाजिक संजाल प्रयोगकर्ताको भिडिओ स्टाटसको स्किनरेकर्ड

यो भिडिओ क्लिप २५ हजार फलोअर्स रहेको Sushasan Sanchar नामक फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको देखिन्छ। पछि उक्त पेजले भिडिओ हटाउँदै माफी मागेको छ। नेपाल प्रहरीले कारबाहीको चेतावनी दिएपछि यो पेजले भिडिओ हटाएको छ।

हेर्नुहोस् सुशासन संचारले भिडिओ डिलिट गर्दै माफी मागेको फेसबुक पोष्टको स्किनसट

पोष्टको ओरिजिनल लिंक यहाँ छ 

के हो तथ्य ?

यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आधिकारिक फेसबुक पेज जाँच गरेको छ। ‘जिल्ला प्रहरी कार्यालय ओखलढुंगा’ नामक पेजबाट फागुन २१ गते बिहान १० बजेर ५० मिनेटमा सार्वजनिक गरिएको विज्ञप्ति भेटियो।

विज्ञप्तिमा ओखलढुंगामा कुनै झडप नभएको र गोली नचलेको स्पष्ट पारिएको छ। सामाजिक सञ्जालमा गोली लागेर एक जना घाइते भएको भन्ने समाचार फैलिएको भए पनि त्यस्तो कुनै घटना नभएको प्रशासनले जनाएको छ।

विज्ञप्तिमा अहिले ओखलढुंगामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र गलत अफवाह फैलाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।

हेर्नुस् जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सार्वजनिक गरेको विज्ञप्ति

हेर्नुहोस् ‘जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा’ को फेसबुक पेजबाट सार्वजनिक भएको विज्ञप्ति

जिल्ला प्रहरी कार्यलयको ओरिजिनल लिंक यहाँ छ

यस विषयमा नेपाल प्रहरीले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ। नेपाल प्रहरीले सामाजिक सञ्जालमा पुरानो भिडिओ सामग्री तथा सुरक्षा अभ्यासका भिडिओलाई तोडमोड गरेर भ्रम फैलाइएको जनाएको छ।

हेर्नुहोस् नेपाल प्रहरीको स्किनसट

नेपाल प्रहरीले गरेको पोष्टको ओरिजिनल लिंक यहाँ छ

त्यसपछि हामीले भिडिओको एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। नतिजामा १ लाख २६ हजार फलोअर्स रहेको सगरमाथा टेलिभिजनको आधिकारिक फेसबुक पेजमा फेब्रुअरी २८ मा २ मिनेट १० सेकेन्डको भिडिओ पोस्ट भएको भेटियो। सगरमाथा टेलिभिजनले उक्त भिडिओ तेह्रथुममा मतदानस्थलमा गरिएको सुरक्षा अभ्यासको भएको जनाएको छ।

हेर्नुहोस् सगरमाथा टेलिभिजनले गरेको पोष्टको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ

तथ्यजाँच

दावी : ओखलढुंगामा मतदानका क्रममा झडप भएको र प्रहरीले गोली चलाएको दावीसहितको भिडिओ क्लिप।

दावीकर्ता : Sushasan Sanchar र Routine of Aathbiskot नामक फेसबुक पेजसहित अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच/निश्कर्ष : भ्रामक सूचना। सामाजिक सञ्जालमा फैलाइएको भिडिओ ओखलढुंगाको हालको घटना होइन। उक्त भिडिओ तेह्रथुममा मतदानस्थलमा गरिएको सुरक्षा अभ्यासको पुरानो भिडिओ हो। ओखलढुंगामा झडप वा गोली चलेको घटना नभएको जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ। त्यसैले निर्वाचनको दिन पुरानो भिडिओ प्रयोग गरेर भ्रम फैलाइएको पुष्टि हुन्छ।

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ। 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add