कोशी तथ्यजाँच भ्रामक सूचना सम्बन्धित प्रदेश

रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको होइन


रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको दावीसहितका सामग्री सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएका छन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा रेग्मीको मृत्यु मतगणना स्थलमै नभई मतगणना स्थल नजिकै खाना खाने क्रममा बेहोस भएपछि अस्पतालमा उपचारका क्रममा भएको पुष्टि भएको छ।

के हो दाबी ?

खबर हब नामक अनलाइन ले शुक्रबार (फागुन २२, २०८२) दिउँसो  ‘मतगणना स्थलमै हृदयघात हुँदा रास्वपा प्रतिनिधिको निधन’  शीर्षकमा समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि तथा रास्वपा मोरङ जिल्ला कमिटी सदस्य, रंगेली–९ निवासी ५० वर्षीय दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको दावी गरिएको छ।

हेर्नुहोस्, समाचारको स्क्रिन सट :

उक्त समाचारको लिङ्कअर्काइभ लिङ्क

यसै विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा पनि पोस्टहरू फैलिएका छन्। ओम उप्रेती नामक फेसबुक प्रयोगकर्ताले दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको दावी गर्दै पोस्ट गरेका छन्।

एक लाख ५६ हजार फलोअर्स भएको उनको फेसबुक पेजमा एक व्यक्तिको फोटोसहित राखिएको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार एक सय बढी लाइक, एक सय २० कमेन्ट र १२ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त फेसबुक पोस्टको लिङ्कअर्काइभ लिङ्क

यस्तै, एनईबी रिजल्ट नामक फेसबुक पेजले पनि शुक्रबार २:१० बजे ‘रास्वपा मोरङका नेता दुर्गा रेग्मीको Heartattack को कारण मृत्यु भएको छ’ भन्दै पोस्ट राखेको छ । ५ लाख ९७ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा ६ हजार ७ सय लाइक, चार सय २५ कमेन्ट र ५५ शेयर पटक शेयर गरिएको छ । उक्त फेसबुक पोस्टको लिङ्कअर्काइभ लिङ्क

स्टक नेपाल, चासो टिभीरुटिन अफ कीर्तिपुर लगायतका फेसबुक पेजमा पनि उक्त फोटोसहितको पोस्ट राखिएको छ ।

के हो तथ्य ?

यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले दुर्गा रेग्मीको निधनबारे प्रकाशित अन्य समाचार तथा आधिकारिक स्रोतहरू खोजी गर्‍यो। खोजीका क्रममा न्युज अफ नेपाल डटकममा प्रकाशित ‘मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको निधन’  समाचार भेटियो, जसमा मतगणना स्थलमा खटिएका दुर्गा रेग्मी खाना खानका लागि बाहिर निस्किएका बेला अचानक ढलेको र उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको उल्लेख गरिएको छ। उक्त समाचारको लिङ्कअर्काइभ लिङ्क

त्यस्तै, अनलाइनखबर डटकममा प्रकाशित ‘मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु’ समाचारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षकलाई उद्धृत गर्दै मतगणना स्थल नजिकै खाना खाने क्रममा रेग्मी करिब ११:४५ बजे अचानक बेहोस भएर ढलेको र उपचारका लागि रंगेली अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको उल्लेख गरिएको छ। उक्त समाचारको लिङ्कअर्काइभ लिङ्क

नेपालफ्याक्टचेकले यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसँग पनि सम्पर्क गरेको थियो। उनका अनुसार दुर्गा रेग्मीको मृत्यु भएको घटना सत्य भए पनि मृत्यु मतगणना स्थलमै भएको होइन।

उनले भने, “उहाँ मतगणना स्थल नजिकै खाना खाने क्रममा बेहोस भएर ढल्नुभएको हो। त्यसपछि उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभएको हो।”

तथ्य जाँच

 

दावी : रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको।

दावीकर्ता : खबर हब डटकम अनलाइनसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच/निश्कर्ष : भ्रामक सूचना। दुर्गा रेग्मीको मृत्यु भएको घटना सत्य भए पनि मतगणना स्थलमै मृत्यु भएको होइन। मतगणना स्थल नजिकै खाना खाने क्रममा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसैले मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको भन्ने दावी भ्रामक हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add