तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

प्रत्यक्षतर्फ सिट नजिते समानुपातिक सिट नपाइने भन्ने दावी भ्रामक


प्रत्यक्षतर्फ सिट नजिते समानुपातिक सिट नपाइने भन्ने दावी भ्रामक

इकान्तिपुरमा प्रकाशित समाचारमा प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएकाले समानुपातिक सिटको बाँडफाँट नहुने दावी गरिएको छ।

तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको पुष्टि भएको छ। नेपालको निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ प्राप्त मतका आधारमा सिट प्राप्त गर्न सकिने व्यवस्था छ।

के हो दावी ?

इकान्तिपुरमा फागुन २५, २०८२ मा प्रकाशित समानुपातिकको आधा भन्दा बढी मत गणना हुँदा यी ६ पार्टी मात्रै ‘थेस्रहोल्ड’ पार गर्ने अवस्थामा शीर्षकको समाचारमा प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएकाले समानुपातिक सिटको बाँडफाँट नहुने दावी गरिएको छ।

समाचारमा लेखिएको छ-

किनभने प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएकाले सिटको बाँडफाँट हुने छैन।

इकान्तिपुर समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी बीबीसी नेपालीले पनि मार्च ६ मा गणना अन्तिम चरणमा, सङ्ख्या र नक्सामा मतपरिणाम शीर्षकको समाचारमा दावी गरेको छ- प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलहरूले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउँदा मात्र यो प्रणालीतर्फ सीट पाउँछन्।

हेर्नुस् स्क्रिनसट-

यस्तै दावी सामाजिक सञ्जालमा पनि चर्चा भएको देखिन्छ। निर्वाचन प्रक्रियाबारे अन्यौल देखिएकोले र हामीलाई अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।

के हो तथ्य ?

नेपालको निर्वाचन प्रणाली मिश्रित प्रणालीमा आधारित छ, जसमा प्रत्यक्ष (First Past the Post) र समानुपातिक (Proportional Representation) दुवै विधिबाट प्रतिनिधि चयन गरिन्छ।

नेपालको संविधानको धारा ८४ अनुसार प्रतिनिधि सभामा रहने २७५ सदस्यमा १६५ प्रत्यक्षबाट र ११० समानुपातिकबाट निर्वाचित हुन्छन्।

निर्वाचित घोषणा कसरी गर्ने भन्ने विषय प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ ले गरेको छ। यो ऐनको दफा ६० मा समानुपातिक निर्वाचन परिणामको घोषणा सम्बन्धी व्यवस्था छ। यसको उपदफा ११ र १२ मा यस्तो व्यवस्था छ-

अर्थात् ऐनले समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गरे मात्र उम्मेदवार निर्वाचित गर्ने व्यवस्था गरेको छ। त्यसबाहेक प्रत्यक्षमा सिट जित्नै पर्ने भन्ने शर्त यो ऐनले राखेको छैन।

त्यसैले कुनै दलले प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ पर्याप्त मत प्राप्त गरेमा सिट प्राप्त गर्न सक्छ।

यसको उदाहरण बागमती प्रदेश सभामा देखिन्छ। २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा विवेकशील साझाले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन। हेर्नुस् परिणाम-

तर प्रत्यक्षमा एक सिट नजिते पनि विवेकशील साझाले समानुपातिकतर्फ भने ३ सिट जितेको थियो। हेर्नुस् परिणाम-

प्रदेश सभा सदस्य निर्वाचन २०७४ को आधिकारिक परिणामका लागि यहाँ क्लिक गर्नुस्।

यसैले प्रत्यक्षतर्फ एक सिट पनि नजितेका दलले समानुपातिक सिट पाउँदैनन् भन्ने दावी तथ्यसँग मेल खाँदैन।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा कम्तिमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको रुपमा मान्यता पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ ले गरेको छ।

यो व्यवस्थासँग समानुपातिकमा सिट पाउने/नपाउनेसँग कुनै सम्बन्ध छ। राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड र समानुपातिक सिट प्राप्त गर्ने व्यवस्था फरक विषय हुन्।

तथ्यजाँच

दावी : प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले समानुपातिक सिटको बाँडफाँट पाउँदैनन्।

दावीकर्ता : इकान्तिपुर।

तथ्यजाँच : भ्रामक दावी। नेपालको निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ प्राप्त मतका आधारमा सिट प्राप्त गर्न सकिन्छ। बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व पाएको उदाहरण यसैको प्रमाण हो। राजनीतिक दलसम्बन्धी ऐनको राष्ट्रिय दलको मान्यतासम्बन्धी प्रावधानलाई समानुपातिक सिटसँग जोडेर भ्रम फैलाइएको हो।

(सच्याइएको : यसअघि वर्तमान प्रदेश सभामा हाम्रो नेपाली पार्टीले प्रत्यक्षतर्फ सिट नजितेको उल्लेख भएकोमा तथ्य गलत भएकोले २०७४ को प्रदेश सभाको उदाहरण राखिएको छ। हाम्रो नेपाली पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको थियो। गल्ती सच्याइएको छ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add