तथ्यजाँच मिथ्या सूचना लुम्बिनी

प्रदीप ज्ञवालीले ‘रास्वपाबाट धोका भयो’ भनेको दावी मिथ्या


प्रदीप ज्ञवालीले ‘रास्वपाबाट धोका भयो’ भनेको दावी मिथ्या

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीको एउटा कथित अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त पोस्टमा ‘रास्वपाबाट आफूहरूलाई धोका भएको र बालेन झापाबाट उठ्ने थाहा पाएको भए अध्यक्ष केपी शर्मा ओलीलाई अरू तिरैबाट उठाउने थियौँ’ भन्ने भनाइ ज्ञवालीको नाममा जोडिएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त अभिव्यक्ति ज्ञवालीले नदिएको पुष्टि भएको छ।

के हो दावी ?

पूर्वेली न्युज नामक फेसबुक पेजले सोमबार बिहान ०७:४५ बजे एउटा पोस्ट सार्वजनिक गरेको छ। उक्त पोस्टमा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीको फोटोसहित उनको भनाइ भन्दै यस्तो अभिव्यक्ति राखिएको छ–

“रास्वपाबाट हामीलाई धोका भयो। बालेन त्यहाँबाट उठ्ने थाहा पाएको भए हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई अरूतिरबाटै उठाउने थियौँ।”

१७ लाखभन्दा बढी फलोअर्स रहेको उक्त फेसबुक पेजमा राखिएको पोस्टमा हजारौँ प्रतिक्रिया र कमेन्ट आएका छन्।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

सोही पोस्टलाई २ लाख १७ हजार फलोअर्स भएको इशा माया गुरुङ, १० हजार फलोअर्स भएको सिधा कुरा अनलाइन, ८ लाख ८० हजार फलोअर्स भएको सानदार मिडिया एचडी लगायतका फेसबुक पेजमा पनि पोस्ट गरिएको छ ।

के हो तथ्य ?

यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले प्रदीप ज्ञवालीको पछिल्ला अभिव्यक्ति र सार्वजनिक गतिविधिबारे खोजी गर्‍यो। गुगल एडभान्स सर्च प्रयोग गरेर विभिन्न सञ्चारमाध्यम, अन्तर्वार्ता, भाषण र सार्वजनिक अभिव्यक्तिहरू जाँच गर्दा उक्त भनाइ उनले दिएको कुनै विश्वसनीय स्रोतमा फेला परेन।

त्यसपछि हामीले प्रदीप ज्ञवालीका आधिकारिक सामाजिक सञ्जाल खाताहरू पनि जाँच गर्‍यौँ। त्यस क्रममा ज्ञवाली आफैले सामाजिक सञ्जालमार्फत उक्त भनाइ आफूले नदिएको स्पष्ट पारेको पोस्ट भेटियो।

ज्ञवालीले आफ्नो एक लाख ३२ हजार फलोअर्स भएको फेसबुक एकाउन्टमा लेखेका छन्, ‘मिथ्या प्रचार र भ्रमको एउटा विद्रूप उदाहरण । न अनलाइन खबरसँग विगत लामो समयदेखि मेरो कुनै कुरा भएको छ, न उसले यस्तो केही प्रकाशन नै गरेको छ । बस्, कसैको लोगो प्रयोग गर्‍यो र मन लागेको लेखिदियो, अनि भ्रम छर्‍यो । लगे रहो मुन्ना भाइ !’

हेर्नुहोस्, स्क्रिनसट :

लिंक यहाँ छ

ज्ञवालीले सुमन नामक एक्स प्रयोगकर्ताले राखेको सोही अभिव्यक्तिको ट्विटमा कमेन्ट गर्दै सोही जवाफ दिएका छन् ।लिंक यहाँ छ

तथ्य जाँच

दावी : ‘रास्वपाबाट धोका भयो, बालेन झापाबाट उठ्ने थाहा पाएको भए ओलीलाई अरूतिरबाट उठाउने थियौँ’ भन्ने अभिव्यक्ति प्रदीप ज्ञवालीले दिएको।

दावीकर्ता : पूर्वेली न्युज, इशा माया गुरुङ, सिधा कुरा अनलाइन, सानदार मिडिया एचडी लगायतका फेसबुक पेज।

तथ्यजाँच : मिथ्या सूचना। प्रदीप ज्ञवालीले सार्वजनिक रूपमा त्यस्तो कुनै अभिव्यक्ति दिएको विश्वसनीय प्रमाण फेला परेन। बरु उनले आफैले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति आफूले नदिएको स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add