- टेकमान शाक्य
- फाल्गुन २६, २०८२

ओलीले ७ सिट आउने बताएको भनिएको भाइरल भिडिओ भ्रामक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भइरहेका बेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७ सिट आउने आँकलन गरेको दावीसहितको १८ सेकेन्डको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडिओ अहिलेको चुनावसँग सम्बन्धित नभई २०७९ सालको संसदीय निर्वाचनअघि दिएको अभिव्यक्तिको अंश भएको पुष्टि भएको छ।
के हो दावी ?
२०८२ साल फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि मतगणना चलिरहेका बेला ‘The Digital Video’ नामक फेसबुक पेजले फागुन २३ गते (मार्च ७) राति ११:३६ बजे १८ सेकेन्डको भिडिओ क्लिप पोस्ट गरेको छ।
उक्त भिडिओमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘७ सिट आउला जस्तो लाग्छ’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ। भिडिओ पोस्टमा ओलीले अहिलेको निर्वाचन परिणामबारे पहिले नै यस्तो अनुमान गरेका थिए भन्ने भान पारिएको छ।
भिडिओ पोस्ट भएको समयमा देशभर मतगणना जारी थियो। सामाजिक सञ्जालमा उक्त क्लिप व्यापक रूपमा फैलिएको देखिन्छ। नेपालफ्याक्टचेकले तथ्यजाँच गर्ने समयसम्म उक्त भिडिओमा १५ हजार प्रतिक्रिया, १ हजार कमेन्ट र २ हजारभन्दा बढी शेयर भएको थियो। भिडिओलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ।
हेर्नुहोस् The Digital Video पेजबाट सार्वजनिक भिडिओ क्लिपको स्क्रिनरेकर्ड
भिडिओ पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यही भिडिओ क्लिप अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यही दावीसहित पोस्ट गरेका छन्। भिडिओ पोष्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यो ७ सिट जित्ने भनेर ओलीले कसको आंकलन गरेका हुन् स्पष्ट खुलाएका छैनन् । भिडिओको तल्लो भागमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अग्रस्थानमा रहेको पछिल्लो मत परिणामको अपडेटको स्क्रिनसटलाई पनि समावेश गरेको देखिन्छ।
हेर्नुहोस् सामाजिक सञ्जालमा देखिएका पोस्टहरुको स्क्रिनरेकर्ड
के हो तथ्य ?
यस विषयमा तथ्यजाँच गर्न नेपालफ्याक्टचेकले भाइरल भिडिओको एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्यो। खोजीका क्रममा उक्त भिडिओ सन् २०२२ नोभेम्बर १७ मा कान्तिपुरको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको पूर्ण अन्तर्वार्ताबाट काटिएको अंश भएको भेटियो।
कान्तिपुरको युट्युब च्यानलमा रहेको मूल भिडिओ १ घण्टा १४ मिनेट ३४ सेकेन्ड लामो छ। उक्त भिडिओको ४७ मिनेट ५२ सेकेन्डतिर ओलीले तत्कालीन चुनावी सन्दर्भमा माओवादी केन्द्रले जित्न सक्ने सिटबारे टिप्पणी गरेका छन्।
त्यहाँ ओलीले माओवादी केन्द्रले प्रत्यक्षतर्फ करिब ७ सिट जित्न सक्ने अनुमान व्यक्त गरेका छन्। कांग्रेससँगको गठबन्धन सहज नहुने भन्दै माओवादीलाई कांग्रेसका मतदाता नजुट्न सक्ने तर्क गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
यो अभिव्यक्ति २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा दिइएको हो। उक्त निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भएको थियो।
यसरी तीन वर्षअघिको अन्तर्वार्ताबाट काटिएको १८ सेकेन्डको अंशलाई अहिलेको निर्वाचनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको देखिन्छ।
हेर्नुहोस् कान्तिपुरको युटुब च्यानलमा अपलोडे गरिएको भिडिओको स्क्रिन रेकर्ड
कान्तिपुरको भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
तथ्यजाँच
दावी : प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ सिट ल्याउने आंकलनसहितको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको १८ सेकेन्डको क्लिप ।
दावीकर्ता : The Digital Video नाम गरेको फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्यजाँच : भ्रामक सूचना। भाइरल बनाइएको भिडिओ अहिलेको निर्वाचनसँग सम्बन्धित होइन। उक्त क्लिप सन् २०२२ नोभेम्बर १७ मा कान्तिपुरको युट्युब च्यानलमा प्रकाशित अन्तर्वार्ताबाट काटिएको अंश हो, जहाँ ओलीले तत्कालीन सन्दर्भमा माओवादी केन्द्रको सिटबारे टिप्पणी गरेका थिए। पुरानो भिडिओलाई अहिलेको निर्वाचनसँग जोडेर गलत सन्दर्भमा प्रस्तुत गरिएको हो।