- सुरज घिमिरे
- फाल्गुन २७, २०८२

नझुक्किनुस्, आज देशभरका कुनै पनि स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छैन
इमेजखबर डटकमले बुधबार बिहान ‘मधेशसहित ७ वटै प्रदेशका केही स्थानमा आज दिउँसोदेखि भारी हिमपात र वर्षा हुँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ।
तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमान अनुसार आज देशका कुनै पनि स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना उल्लेख गरिएको छैन।
के हो दाबी ?
इमेज टेलिभिजनको अनलाइन संस्करण इमेजखबर डटकममा बुधबार बिहान ८ः१५ बजे ‘मधेशसहित ७ वटै प्रदेशका केही स्थानमा आज दिउँसोदेखि भारी हिमपात र वर्षा हुँदै’ भन्ने शीर्षकको समाचार प्रकाशित भएको छ।
समाचारमा हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको उल्लेख गरिएको छ।
समाचारमा दिउँसो र राति विभिन्न प्रदेशमा मेघ गर्जन–चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ। तर शीर्षकमा भने ‘भारी हिमपात र वर्षा’ हुने दावी गरिएको छ।
हेर्नुहोस्, समाचारको स्क्रिनसट

उक्त समाचारको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गर्ने तीन दिनको मौसम पूर्वानुमान जाँच गरेका छौँ।
महाशाखाले सार्वजनिक गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षा वा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।
त्यस्तै मधेश प्रदेश तथा अन्य तराई क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
तर मौसम पूर्वानुमान महाशाखाको विवरणमा कहीँ पनि ‘भारी वर्षा’ वा ‘भारी हिमपात’ हुने सम्भावना उल्लेख गरिएको छैन।
हेर्नुहोस्, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान :

इमेज खबरले दाबी गरेजस्तो मधेशमा आज दिउँसोदेखि भारी हिमपात र वर्षा सम्भावना रहेको छैन । यद्यपि, आज दिउँसो तराई क्षेत्रमा साधारणतया बदली रही एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने राती तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हेर्नुहोस्, प्रादेशिक मौसम पूर्वानुमान :


लिङ्क यहाँ छ ।
हल्का वर्षा र भारी वर्षा कसरी छुट्याइन्छ ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको मापन मिलिमिटर (मि.मि.)मा गरिन्छ। १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटरलाई मध्यम वर्षा भनिन्छ।
५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा मानिन्छ। त्यसभन्दा माथि अझ धेरै भारी वर्षाको श्रेणीमा पर्छ।
यसैले मौसम विभागले हल्का वर्षाको सम्भावना जनाएको अवस्थामा ‘भारी वर्षा’ हुने दावी गर्नु तथ्यसँग मेल खाँदैन।
तथ्य जाँच :
दावी : मधेशसहित ७ वटै प्रदेशका केही स्थानमा आज दिउँसोदेखि भारी हिमपात र वर्षा हुँदै।
दावीकर्ता : इमेजखबर डटकम।
तथ्य : भ्रामक सूचना। मौसम पूर्वानुमान महाशाखाको आधिकारिक पूर्वानुमान अनुसार बुधबार देशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षा वा हल्का हिमपातको सम्भावना मात्र रहेको छ। देशका कुनै पनि स्थानमा भारी वर्षा वा भारी हिमपात हुने सम्भावना उल्लेख गरिएको छैन।