तथ्यजाँच भ्रामक सूचना लुम्बिनी

सांसद भएपछि बोलेको भन्दै भाइरल भिडियो वास्तवमा १० महिना पुरानो


सांसद भएपछि बोलेको भन्दै भाइरल भिडियो वास्तवमा १० महिना पुरानो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले ‘शिक्षकलाई पैतलामा भाटा हान्नुपर्छ’ भन्दै दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सुनारले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि उक्त अभिव्यक्ति दिएको दाबी गर्दै भिडियो व्यापक रूपमा फैलाइएको छ।

तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो १० महिना पुरानो रहेको खुलेको छ।

के हो दाबी ?

शिक्षा अपडेट नामक फेसबुक पेजले शुक्रबार (मार्च १३, २०२६) बिहान ६:५३ बजे ३० सेकेन्डको एउटा भिडियो अपलोड गरेको छ। भिडियोमा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले शिक्षकलाई लक्षित गर्दै ‘पैतालामा भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ।

“कन्सिरी तानेर डस्टरले ट्वाक्क टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ भनेर अभिव्यक्ति दिएका रास्वपाका नवनिर्वाचित माननीय खगेन्द्र सुनारको भिडियो अहिले भाइरल छ” भन्ने शीर्षकसहित उक्त भिडियो पोस्ट गरिएको छ।

यो तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा ६ सयभन्दा बढी प्रतिक्रिया, २ सयभन्दा बढी कमेन्ट र २ सयभन्दा बढी शेयर भइसकेका छन्। भिडियो एक लाखभन्दा बढी पटक हेरिएको छ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिंक, अर्काइभ लिंकअर्काइभ भिडियो

उक्त भिडियोलाई व्यङ्ग्यात्मक शैलीमा ९ हजार फलोअर्स भएको तनहुँ सेरोफेरो नामक फेसबुक पेजले बुधबार (११ मार्च, २०२६) दिउँसो ४:३९ मा अपलोड गरेको छ ।

शीर्षकमा लेखिएको छ – “रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् – मास्टरले पढाउँदा जसरी कन्सिरीको रौँ तानेर डस्टरले टाउकोमा ठ्वाक्क हान्थे त्यस्ता मास्टरलाई पनि ठाडो खुटा उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ ।”

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा ५ सय ८९ रियाक्सन, दुई सय ४७ कमेन्ट र तीन सय १९ पटक शेयर गरिएको छ । उक्त भिडियोलाई ७४ हजार बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो

उक्त भिडियोलाई थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपलोड गरेका छन् ।

यसैबीच भिडियो भाइरल भएपछि नेपाल शिक्षक महासङ्घले पनि प्रतिक्रिया दिएको छ। महासङ्घले खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शिक्षक पेशाप्रति अमर्यादित टिप्पणी भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

हेर्नुहोस्, महासङ्घले जारी गरेको विज्ञप्ति

खगेन्द्रको अभिव्यक्ति र महासंघको विज्ञप्तीलाई केन्द्रित गरेर हुलाक सञ्चार नामक फेसबुक पेजमा पनि समाचारको स्टाइलमा डिजाइन गरी अपलोड गरिएको छ ।

हेर्नुहोस् स्क्रिनसट अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले भिडियोमा देखिएको ‘सार्थक मझेरी’ नामक प्लेटफर्मबारे खोजी गर्यौँ। खोजी गर्दा ‘सार्थक मझेरी न्युज’ नामक युट्युब च्यानलमा सन् २०२५ मे २० मा अपलोड गरिएको भिडियो फेला पर्यो।

‘खगेन्द्र सुनार इन्टरभ्यु’ शीर्षकको २९ सेकेन्डको उक्त भिडियो अहिले भाइरल भइरहेको भिडियोसँग ठ्याक्कै मिल्छ।

हेर्नुहोस्, सार्थक मझेरी न्युज नामक युट्युब च्यानलमा १० महिनाअघि अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यस्तै, ‘अमिन परियारका बारेमा बोले खगेन्द्र’ शीर्षकमा सन् २०२५ मे १९ मा अमलाबोट अनलाइन नामक टिकटक एकाउन्टमा पनि सोही अभिव्यक्तिसहितको भिडियो पोस्ट गरिएको भेटियो।

 

हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्कअर्काइभ लिङ्क

यी प्रमाणहरूले भिडियो हालैको नभई कम्तीमा १० महिना अघि सार्वजनिक भएको देखाउँछन्।

खगेन्द्र सुनार फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन्। त्यसैले उक्त अभिव्यक्ति उनले सांसद निर्वाचित भएपछि दिएको भन्ने दाबी तथ्यसँग मेल खाँदैन।

सन्दर्भ के हो ?

भाइरल क्लिप पूर्ण भिडियोबाट काटिएको अंश हो। ‘प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीलाई खगेन्द्र सुनारको ठाडो चेतावनी’ शीर्षकमा अपलोड गरिएको १४ मिनेट २५ सेकेन्ड लामो भिडियोमा यो अभिव्यक्ति आएको देखिन्छ।

उक्त भिडियोमा सञ्चारकर्मीले पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको कथित जातीय दुर्व्यवहारको घटनाबारे प्रश्न सोधेका थिए। शैक्षिक भ्रमणका क्रममा प्राध्यापकले विद्यार्थी अमन परियारमाथि जातीय टिप्पणी गरेको आरोप सार्वजनिक भएपछि सो घटनाबारे प्रतिक्रिया मागिएको थियो।

पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी अमन परियारमाथि शैक्षिक भ्रमणका क्रममा प्राध्यापक डा. देवीलाल शर्माले जातीय टिप्पणी गरेको आरोप लागेको थियो। उक्त घटनापछि दलित विद्यार्थी समाजले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको थियो। घटनाप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएपछि क्याम्पस प्रशासनले सम्बन्धित प्राध्यापकलाई जिम्मेवारीबाट हटाएको समाचार सार्वजनिक भएको थियो।

हेर्नुस् यस विषयमा नागरिकमा प्रकाशित समाचार गुरुबाटै दलित विद्यार्थीमाथि जातीय दुर्व्यवहार !

रातोपाटीमा प्रकाशित समाचार जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

यही घटनाबारे प्रतिक्रिया माग्दै सञ्चारकर्मीले खगेन्द्र सुनारलाई प्रश्न सोधेका थिए, जसको जवाफ दिने क्रममा उनले उक्त अभिव्यक्ति दिएका थिए।

तथ्य जाँच

दाबी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले ‘शिक्षकलाई पैतालामा भाटा हान्नुपर्छ’ भन्दै दिएको अभिव्यक्ति ।

दाबीकर्ता : शिक्षा अपडेट, तनहुँ सेरोफेरो, हुलाक सञ्चार लगायतका विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक सूचना (Misleading/context missing) भिडियोमा खगेन्द्र सुनारले उक्त अभिव्यक्ति दिएको तथ्य सही हो। तर उनले यो अभिव्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दिएका होइनन्। उपलब्ध स्रोतहरू अनुसार उक्त भिडियो सन् २०२५ मे महिनामा सार्वजनिक भएको पुरानो अन्तर्वार्ताबाट काटिएको क्लिप हो। त्यसैले हालै सांसद बनेपछि दिएको अभिव्यक्ति जस्तो देखाएर भिडियो फैलाउनु गलत सन्दर्भमा प्रस्तुत गरिएको सामग्री हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add