- टेकमान शाक्य
- चैत्र २, २०८२

कांग्रेसका समानुपातिक सांसदबारे भाइरल पोस्ट: केही नाता सही, केही दावी गलत
नेपाली कांग्रेसले नेताका नातेदारलाई समानुपातिकतर्फ सांसद बनाएर शक्तिको दुरुपयोग गरेको दावीसहितका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा केही दाबी सत्य भए पनि धेरैजसो दाबी गलत रहेको पुष्टि भएको छ।
के हो दावी ?
५४ हजार फलोअर्स भएका हिमाल सरोवर नामक फेसबुक प्रयोगकर्ताले मार्च १५, २०२६ मा गगन थापाको तस्वीरसहित पोस्ट सार्वजनिक गरेका छन्। पोस्टमा नेपाली कांग्रेसले समानुपातिकतर्फ सांसद चयन गर्दा नेताका नातेदारहरूलाई प्राथमिकता दिएको दाबी गरिएको छ।
तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा तीन हजारभन्दा बढी प्रतिक्रिया, सयौँ कमेन्ट र सयौँ शेयर आएका छन्।
हेर्नुहोस् हिमाल सरोवरको स्क्रिनसट

हिमाल सरोवरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
त्यस्तै फेसबुकमा ३ लाख ८९ हजार फलोअर्स रहेका पूर्व सचिव भीम उपाध्यायले पनि आइतबार यस्तै पोस्ट गरेका थिए (अहिले भने उनले सो पोस्ट हटाएका छन्)। हेर्नुस् स्क्रिनसट
यस्तै दाबी ९१ हजार फलोअर्स रहेको Routine Of Kathmandu Banda , ९५ हजार फलोअर्स भएको आमा नामको फेसबुक पेजबाट पनि भाइरल भएको छ।
त्यसैगरी सूत्र न्युजले पनि यही दावीका साथ अझै छोडेन पुरानाभित्र आफ्नालाई अघि सार्ने रोग शीर्षकको समाचार लेखेको थियो। (अहिले भने त्यसलाई सम्पादन गरी हटाइएको छ)
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम बन्दसूची जाँच गर्यौँ र गुगल एडभान्स सर्च गर्यौँ। यस क्रममा हामीले भेटेको तथ्य यस्तो छ।
गगन थापाका ससुरा- सही
बन्दसूचीको ५५ नम्बरमा रहेका अर्जुननरसिंह केसी कांग्रेस नेता गगन थापाका ससुरा भएको विभिन्न समाचार स्रोतबाट पुष्टि हुन्छ। प्रशासन डटकम, अनलाइनखबर र नेपालप्रेसमा प्रकाशित समाचार तथा अन्तर्वार्तामा पनि उक्त सम्बन्ध उल्लेख गरिएको छ।
रुक्मिणी देवी कोइराला- गलत
भाइरल पोस्टमा उनलाई कांग्रेस नेता शेखर कोइरालाकी पत्नी भनिएको छ। तर निर्वाचन आयोगको बन्दसूचीमा उनका श्रीमानको नाम शैलेश कोइराला उल्लेख गरिएको छ।
शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि सामाजिक सञ्जालमार्फत उक्त दाबी गलत भएको बताएका छन्। (थपलियाको फेसबुक पोस्ट लिंक)
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम बन्दसूचीमा रुक्मिणी देवी कोइरालाको श्रीमानको नाम शैलेश कोइराला उल्लेख गरिएको छ ।

गंगालक्ष्मी अवाल- गलत
भाइरल पोस्टमा उनलाई स्वर्गीय कांग्रेस नेता नवीन्द्रराज जोशीकी पत्नी भनिएको छ। तर निर्वाचन आयोगको बन्दसूचीमा उनका श्रीमानको नाम दिनेश नारायण सिद्धकार उल्लेख छ।

प्रमिला कुमारी गच्छदार – गलत
भाइरल पोस्टमा उनलाई कांग्रेस नेता विजयकुमार गच्छदारकी पत्नी भनिएको छ। तर नेपाललाइभ डटकममा प्रकाशित यो समाचार अनुसार गच्छदारकी पत्नीको वि.सं. २०७८ मा निधन भइसकेको छ।

बन्दसूचीमा पनि प्रमिला गच्छदारका श्रीमानको नाम उल्लेख गरिएको छैन।

चन्द्रमोहन यादव- सही
भाइरल पोस्टमा उनलाई पूर्व राष्ट्रपति रामवरण यादवका छोरा उल्लेख गरिएको छ। निर्वाचन आयोगको बन्दसूची अनुसार पनि चन्द्रमोहन यादवका पिताको नाम डा. रामवरण यादव नै उल्लेख छ।

रीना उप्रेती- सही
भाइरल पोस्टमा दावी गरिए जस्तै बन्दसूचीमा पनि उनको पिताको नाम बलबहादुर केसी नै उल्लेख गरिएको छ।

निनु कुमारी कर्ण – सही
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम बन्दसूचीमा ८८ नम्बरमा रहेकी निनु कुमारी कर्णको बुबाको नाम चन्द्रदेव लाल कोशिक हो भने जानकीदेवी उनकी आमा हुन्। उनका श्रीमानको नाम मनाेज कुमार लाल हुन्।
भाइरल पोस्टमा उनलाई विमलेन्द्र निधिकी भान्जी भएको दावी गरिएको छ। हामीले विमलेन्द्र निधिकै सचिवालयका एकजना सदस्यसँग यसको पुष्टि गर्यौँ।

तथ्य जाँच
दाबी : नेपाली कांग्रेसले नेताका नातेदारलाई समानुपातिकतर्फ सांसद बनाएको।
दाबीकर्ता : पूर्व सचिव भीम उपाध्याय, सूत्र न्युज, हिमाल सरोवर, Routine Of Kathmandu Banda, लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य/निष्कर्ष : आंशिक सत्य, धेरैजसो भ्रामक। समानुपातिक सूचीमा केही व्यक्तिहरू नेताका नातेदार रहेको तथ्य भेटिन्छ। तर भाइरल पोस्टमा उल्लेख गरिएका धेरै सम्बन्धहरू गलत वा अतिरञ्जित रूपमा प्रस्तुत गरिएको छ। उदाहरणका लागि रुक्मिणी देवी कोइराला, गंगालक्ष्मी अवाल र प्रमिला कुमारी गच्छदारबारे गरिएको दाबी तथ्यसँग मेल खाँदैन। त्यसैले सामाजिक सञ्जालमा फैलाइएका दाबीहरू पूर्ण रूपमा सही होइनन्।

