- सुरज घिमिरे
- चैत्र ३, २०८२

‘भारी वर्षा’ भन्दै फैलाइयो भ्रम, वास्तविकता हल्का र मध्यम वर्षा
सोमबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएपछि केही अनलाइन मिडिया र सामाजिक सञ्जाल पोस्टहरूले ‘भारी वर्षा’ भएको दाबी गरेका छन्।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त वर्षा ‘भारी’ नभई ‘हल्का’देखि ‘मध्यम’ स्तरको रहेको पुष्टि भएको छ।
के हो दावी ?
४ लाखभन्दा बढी फलोअर्स भएको मकालु खबर डटकमको फेसबुक पेजले मार्च १६, २०२६ साँझ ५:४९ बजे ‘काठमाडौंमा हावाहुरी र भारी वर्षा’ शीर्षकसहित सामग्री पोस्ट गरेको छ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
५ लाख २६ हजार फलोअर्स भएको यस्तै, अनलाइन टिभी नेपाल नामक फेसबुक पेजले ‘काठमाडौँमा मेघ गर्जनसहित भारी वर्षा हुँदै’ शीर्षकसहित भिडियो लाइभ गरेको छ। उक्त लाइभलाई ६ हजार तीन सय पटक हेरिएको छ ।
उक्त लाइभको अर्काइभ गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
लाइभ भिडियोको लिङ्क र अर्काइभ लिङ्क
यस्तै, ६३ हजार फलोअर्स भएको एनपीएल वर्ल्ड न्युज नामक फेसबुक पेजमा पनि ‘सुनसरीको भोक्राहा–नरसिंहमा असिनासहित भारी वर्षा’ शीर्षकसहित वर्षा भइरहेको भिडियो पोस्ट गरिएको छ । भिडियोको लिङ्क र अर्काइभ लिङ्क
यी सामग्रीहरूले वर्षालाई ‘भारी’ भनेर प्रस्तुत गरेका छन्।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको विवरण जाँच गर्यौँ।
महाशाखाका अनुसार चैत २ गते बिहानदेखि चैत ३ गते बिहानसम्म (२४ घण्टा)मा देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको उल्लेख छ।
हामीले हावापानी विश्लेषण शाखाको वर्षा मापन डेटा पनि जाँच गर्यौँ।
उक्त रिपोर्टमा २४ घण्टामा:
-
देशभर १२३ स्थानमा वर्षा मापन भएको
-
सबैभन्दा बढी वर्षा धनकुटाको मुलघाटमा ३५ मि.मि.
-
काठमाडौंमा सबैभन्दा बढी वर्षा कीर्तिपुरमा ९.२ मि.मि.

पछिल्लो २४ घण्टामा काठमाडौंको कीर्तिपुर, नैकाप, पानीपोखरी, कपन, सुन्दरी जल लगायतका केन्द्रहरूमा पनि वर्षा मापन भएको थियो । तर, कीर्तिपुरमा मापन भएको ९.२ मि.मि सबैभन्दा बढी थियो । त्यसैले, काठमाडौंमा भएको वर्षा हल्का वर्षा हो ।
यस्तै, सोमबार साँझ सुनसरीको चतरा मापन केन्द्रमा २९ मि.मि. वर्षा भएको थियो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले यो मध्यम वर्षा भित्र पर्दछ ।
पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा मापन भयो ? हेर्न यहाँ क्लिक गर्नुहोस्
वर्षाको वर्गीकरण अनुसार ‘भारी’ होइन
मौसम पूर्वानुमान महाशाखा अनुसार कति वर्षा हुँदा कति भनिन्छ ?
१० मि.मि.सम्म → हल्का वर्षा
१०–५० मि.मि. → मध्यम वर्षा
५०–१०० मि.मि. → भारी वर्षा
उपलब्ध तथ्यांक अनुसार:
काठमाडौं (९.२ मि.मि.) → हल्का वर्षा
सुनसरी (२९ मि.मि.) → मध्यम वर्षा
अधिकतम धनकुटाको मूलघाट (३५ मि.मि.) → अझै मध्यम वर्षा
अर्थात्, कुनै पनि स्थानमा ५० मि.मि. भन्दा बढी वर्षा मापन भएको छैन, जसले ‘भारी वर्षा’ को मापदण्ड पूरा गर्दैन।
तथ्य जाँच
दावी : काठमाडौंसहित देशभर सोमबार भारी वर्षा भएको।
दावीकर्ता : मकालु खबर, अनलाइन टिभी नेपाल, एनपीएल वर्ल्ड न्युज लगायत सामाजिक सञ्जालका पेजहरू।
तथ्य/निष्कर्ष : भ्रामक सूचना। आधिकारिक मौसम तथ्यांक अनुसार उक्त अवधिमा देशभर हल्कादेखि मध्यम वर्षा मात्र भएको हो। ‘भारी वर्षा’ भन्ने दावी तथ्यसँग मेल खाँदैन।