- सुरज घिमिरे
- चैत्र ६, २०८२

समानुपातिक सूचीमा रहे पनि मिलन लिम्बु सांसद नबनाइएका हुन् ? तथ्य के भन्छ
सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बु समानुपातिक सूचीको दोस्रो नम्बरमा रहे पनि सांसद बन्न नपाएको दावी फैलिएको छ। साथै उनी रास्वपाका केन्द्रीय सदस्य रहेको दावी समेत गरिएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उनी केन्द्रीय सदस्य नरहेको र समानुपातिक सूचीबाट आफैँले नाम फिर्ता लिएको देखिन्छ।
के हो दाबी ?
१९ हजार फलोअर्स भएको कपुरी मिडिया नामक फेसबुक प्रोफाइलमा बुधबार (मार्च १८, २०२६) बिहान मिलन लिम्बुको फोटोसहित एउटा पोस्ट गरिएको छ।
पोस्टमा मिलन लिम्बुसम्बन्धी मुख्यतः तीन वटा दावी गरिएको छ-
-
उनी रास्वपाका केन्द्रीय सदस्य रहेको
-
समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेको
-
तर पार्टीले उनलाई सांसद नबनाएको
हामीले शुक्रबार दिउँसो तथ्य जाँच गर्दै गर्दा यो पोस्टमा एक हजार ५ सय रियाक्सन र तीन सय ७२ कमेन्ट रहेका छन् भने उक्त पोस्ट ४३ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले भाइरल पोस्टमा भएका तीन वटा दावीलाई पालैपालो जाँच गर्यौँ।
१. मिलन लिम्बु रास्वपाका केन्द्रीय सदस्य होइनन्
रास्वपाको आधिकारिक वेबसाइटमा प्रकाशित केन्द्रीय समितिको सूची जाँच गर्दा मिलन लिम्बुको नाम फेला परेन। यस विषयमा बुझ्न हामीले लिम्बुलाई फोनमा सम्पर्क गर्यौँ। उनले आफू केन्द्रीय सदस्य नभई साधारण सदस्य मात्र रहेको बताए।
यसले उनी पार्टीका केन्द्रीय सदस्य हुन् भन्ने दावी गलत भएको पुष्टि गर्छ।
रास्वपाको केन्द्रीय समितिको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्
२. प्रारम्भिक सूचीमा नाम थियो, तर दोस्रो नम्बरमा होइन
रास्वपाले निर्वाचन आयोगमा पेस गरेको प्रारम्भिक समानुपातिक बन्द सूचीमा मिलन लिम्बुको नाम छ कि छैन भनेर खोज्ने क्रममा हामीले रातोपाटीमा पुस १५ गते प्रकाशित रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको बन्द सूची : क्रिकेटरदेखि गायकसम्म समेटिए (सूचीसहित)’ शीर्षकको समाचार भेट्यौँ । उक्त समाचारमा रास्वपाले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको प्रारम्भिक बन्द सूची समावेश छ। यसमा आदिवासी जनजातितर्फ ६ नम्बरमा मिलन लिम्बुको नाम रहेको छ ।
हेर्नुहोस्, सूचीको स्क्रिनसट :

रातोपाटीमा प्रकाशित उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
३. लिम्बुले आफैँ नाम फिर्ता लिएका थिए
मिलन लिम्बुले पुस २१ मा फेसबुकमार्फत आफूले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको जानकारी दिएका थिए।
नेपालफ्याक्टचेकसँगको कुराकानीमा पनि उनले यही कुरा पुष्टि गरेका छन्।
उनका अनुसार: “मैले एकताबाट आएका साथीहरूलाई व्यवस्थापन गर्नुपर्ने कारणले आफ्नो नाम सूचीबाट फिर्ता लिएको थिएँ।” उनको उक्त स्ट्याटस हेर्न यहाँ क्लिक गर्नुहोस्
४. अन्तिम सूचीमा नाम समावेश थिएन
निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सूचीमा मिलन लिम्बुको नाम छैन। हेर्नुस् निर्वाचन आयोगको वेबसाइटमा राखिएको अन्तिम बन्द सूची।
यसका साथै, निर्वाचनपछि सिफारिस गरिएका समानुपातिक सांसदहरूको सूचीमा पनि उनको नाम समावेश छैन।।
हेर्नुहोस्, निर्वाचन आयोगले जारी गरेको लिस्ट अनुसार रास्वपाको आदिवासी जनजातीतर्फको अन्तिम बन्दसूची
लिम्बुले हामीलाई भने, “पार्टीले सुरुमा निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा आदिवासी जनजाति क्लस्टरतर्फ मेरो नाम ६ नम्बरमा रहेको थियो । तर, मैले त्यति बेला एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्छ भनेर समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएको थिए ।”
तथ्य जाँच
दावी : रास्वपाका केन्द्रीय सदस्य मिलन लिम्बु समानुपातिक सूचीको दोस्रो नम्बरमा रहे पनि पार्टीले उनलाई सांसद नबनाएको।
दावीकर्ता : कपुरी मिडिया नामक फेसबुक एकाउन्ट।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। मिलन लिम्बु रास्वपाका केन्द्रीय सदस्य होइनन्। साथै उनी समानुपातिक सूचीको दोस्रो नम्बरमा पनि थिएनन्। प्रारम्भिक सूचीमा छैटौँ नम्बरमा रहेका उनले आफैँ आफ्नो नाम बन्द सूचीबाट फिर्ता लिएका थिए। त्यसैले उनलाई पार्टीले सांसद नबनाएको भन्ने दावी गलत सन्दर्भमा आधारित छ।