तथ्यजाँच भ्रामक सूचना वागमती

पद्मा अर्यालले ‘रास्वपालाई तह लगाउने’ भनिन् ? महावीर पुनले सेयर गरेको पोस्टको तथ्यजाँच


पद्मा अर्यालले ‘रास्वपालाई तह लगाउने’ भनिन् ? महावीर पुनले सेयर गरेको पोस्टको तथ्यजाँच

सामाजिक सञ्जालमा नेकपा एमालेकी नवनिर्वाचित सांसद पद्मा अर्यालले ‘सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ’ भन्ने अभिव्यक्ति दिएको दावी फैलिएको छ।

सोही दावीको स्क्रिनसट सेयर गर्दै नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पनि सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी तोडमोड गरेर प्रस्तुत गरिएको देखिन्छ।

के हो दावी ?

‘Swatantra Media’ नामक फेसबुक पेजले मार्च २०, २०२६ मा नेकपा एमालेबाट निर्वाचित सांसद पद्मा अर्यालको फोटोसहित एउटा पोस्ट सार्वजनिक गरेको छ।

पोस्टमा अर्यालले: “सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ” भन्ने अभिव्यक्ति दिएको दावी गरिएको छ।

उक्त पोस्ट सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया, कमेन्ट र शेयरसहित फैलिएको छ।

हेर्नुहोस्  Swatantra Media को स्क्रिनसट

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ ‍छ

यसै पोस्टलाई आधार बनाएर स्वतन्त्र सांसद महावीर पुनले पनि मार्च २१ मा अर्यालप्रति आक्रोश व्यक्त गर्दै स्टाटस लेखेका छन्, जसले थप चर्चा र प्रतिक्रिया उत्पन्न गरेको छ।

हेर्नुहोस् पूर्वमन्त्री एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुनको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

यसबारे तथ्यजाँच गर्ने क्रममा हामीले एमालेकी समानुपातिकतर्फका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्यालको फेसबुक भिजिट गर्‍यौँ। उनले पोस्टमा आफूले बोल्दै नबोलेको विषयमा भ्रम फैलाएको र पूर्वमन्त्री पुनले पनि भ्रामक सूचना सेयर गरेको दावी गरेकी छिन्।

हेर्नुहोस् अर्यालको पोस्टको स्क्रिनसट

अर्यालको पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

आधिकारिक भिडियोमा यस्तो अभिव्यक्ति छैन

त्यसपछि हामीले अर्यालले ‘सदनमा रास्वपाका नेताहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ’ भनेर बोलेकी हुन् कि होइनन् भनेर खोजी गर्‍यौँ।

यसका लागि हामीले विभिन्न विश्वसनीय मिडियामा प्रकाशित अर्यालको भिडियो जाँच गर्‍यौँ।

यी दुवै भिडियोमा अर्यालले एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएकी छिन्। तर “रास्वपालाई तह लगाउने” भन्ने अभिव्यक्ति कतै पनि छैन।

उपलब्ध भिडियो, आधिकारिक प्रतिक्रिया र स्रोतहरूको विश्लेषण गर्दा मूल अभिव्यक्तिलाई परिवर्तन गरिएको, नयाँ अर्थ जोडिएको र त्यसलाई उद्धरण जस्तो प्रस्तुत गरिएको देखिन्छ।

तथ्य जाँच

दावी : पद्मा अर्यालले ‘सदनमा रास्वपाका नेताहरूलाई तह लगाउने’ भनेकी हुन्।

दावीकर्ता : Swatantra Media फेसबुक पेज तथा स्वतन्त्र सांसद महावीर पुन।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। पद्मा अर्यालले उक्त अभिव्यक्ति दिएको कुनै प्रमाण फेला परेको छैन। उपलब्ध भिडियो र आधिकारिक स्रोतहरूमा उनले केवल सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन्। मूल अभिव्यक्तिलाई तोडमोड गरेर भ्रामक रूपमा प्रस्तुत गरिएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add