- सुरज घिमिरे
- चैत्र १७, २०८२

एक्सप्लेनर : चट्याङ किन खतरनाक हुन्छ ? जोगिन के-के कुरामा ध्यान दिनुपर्छ ?
पानी परिरहेको वा पर्न लागेको बेला आकाशमा अचानक बिजुली चम्किन्छ, त्यसपछि ठूलो आवाजसँगै गर्जन सुनिन्छ। सामान्य प्राकृतिक दृश्यजस्तो देखिए पनि चट्याङ अत्यन्त शक्तिशाली र खतरनाक प्राकृतिक घटना हो। यस एक्सप्लेनरमा हामीले चट्याङ के हो, किन पर्छ, कति खतरनाक हुन्छ र यसबाट कसरी बच्ने भन्ने विषयबारे चर्चा गर्दैछौं ।
चट्याङ के हो ?
चट्याङ भनेको आकाशमा हुने शक्तिशाली बिजुलीको झिल्को हो। वैज्ञानिक रूपमा हेर्दा, यो वायुमण्डलमा हुने विद्युतीय डिस्चार्ज हो। अर्थ साइन्स डेटा सिस्टम (इएसडीएस) का अनुसार चट्याङ बादल–बादलबीच, बादल र जमिनबीच वा वायुमण्डलभित्रै पनि हुन सक्छ।
चट्याङ किन पर्छ ?
आँधीबेहरीको समयमा बादलभित्र पानीका थोपा, बरफ र असिना ठोक्किँदा धनात्मक र ऋणात्मक चार्ज छुट्टिन्छ। अमेरिकी राष्ट्रिय मौसम सेवा का अनुसार जब यी चार्ज धेरै जम्मा हुन्छन्, एक्कासी जोडिएर ठूलो करेन्ट बग्छ, त्यसैलाई चट्याङ भनिन्छ।
चट्याङ कसरी देखिन्छ ?
हामीले देख्ने चम्किलो झिल्को चट्याङको अन्तिम र सबैभन्दा तेज चरण हो, जसलाई “रिटर्न स्ट्रोक” भनिन्छ।
चट्याङसँगै गर्जन (थन्डर) किन हुन्छ ?
चट्याङ पर्दा हावा करिब ३० हजार डिग्री सेल्सियससम्म तात्छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकाल भन्छन् – “चट्याङ पर्दा करिब ३० हजार डिग्री सेल्सियससम्म ताप उत्पन्न हुने गर्छ। यो भनेको सूर्यको सतह भन्दा करिब ५ गुणा बढी तातो हुनु हो। तातोले वायुमण्डलमा रहेको हावा एक्कासी फैलने र खुम्चने गर्दछ, जसबाट विस्फोटको आवाज निस्किन्छ। त्यो आवाज नै चट्याङको आवाज अर्थात् मेघ गर्जन हो।”
पहिले बिजुली देखिन्छ, आवाज पछि किन आउँछ ?
किनभने प्रकाश ध्वनिभन्दा धेरै छिटो चल्छ। त्यसैले पहिले चट्याङ देखिन्छ र केही समयपछि मात्र गर्जन सुनिन्छ।
कहाँ र कहिले बढी चट्याङ पर्छ ?
मौसमविद् ढकालका अनुसार चट्याङ जुनसुकै समय र ठाउँमा पर्न सक्छ । तर, प्रायः चट्याङ पर्ने भनेको अग्ला वस्तुहरूमा हो। उनी भन्छन् – अग्ला टावर, भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरामा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ। उनी प्रि-मनसुन अर्थात् मध्य फागुनदेखि मध्य जेठ (मार्च–अप्रिल–मे) महिनासम्मको समयमा धेरै चट्याङ पर्ने बताउँछन् । दिउँसो १२ बजे पछिको समयमा चट्याङको जोखिम धेरै हुने गर्छ, उनले बताए ।
चट्याङ किन खतरनाक हुन्छ ?
चट्याङमा अत्यन्त उच्च करेन्ट र ताप हुन्छ। यसले मानिसको ज्यान लिन सक्छ, आगलागी गराउन सक्छ र घरका विद्युतीय उपकरण बिगार्न सक्छ।
अर्थिङ (Earthing) के हो ?
अर्थिङ भनेको अतिरिक्त करेन्टलाई सुरक्षित रूपमा जमिनमा पठाउने प्रणाली हो। यसले चट्याङको असर कम गर्न मद्दत गर्छ र मानिस तथा उपकरणलाई सुरक्षित राख्छ।
चट्याङबाट कसरी बच्ने ?
चट्याङ पर्दा खुला ठाउँमा नबस्ने, अग्ला रुख वा पोलबाट टाढा रहने, पानी नजिक नजाने, धातुका वस्तु नछुने र सकेसम्म घरभित्र बस्नु नै सुरक्षित मानिन्छ।

नेपालको अवस्था के छ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्म देशभर चट्याङका एक सय २९ घटना घटेका थिए । जसबाट १६ जनाको मृत्यु भएको थियो एक सय जना घाइते भएका थिए ।
चट्याङका कारण सो अवधिमा ११ घरमा आंशिक क्षति पुगेको थियो भने १७४ परिवार प्रभावित भएका थिए । साथै, ५० लाख २५ हजार ५०० बराबरको निजी सम्पत्तिमा नोक्सानी पुगेको थियो ।
हेर्नुहोस्, २०८२ साउन १ गतेदेखि पुस मसान्तसम्म देशभर चट्याङले पुर्याएको क्षतिको विवरण :

प्राधिकरणअन्तर्गतको विपद् पोर्टलको तथ्यांकअनुसार सन् २०१४ देखि २०२५ सम्म देशभर चट्याङका तीन हजार २०९ वटा घटना भएका थिए । जुन घटनामा परी ९ सय ६४ जनाको मृत्यु भयो भने तीन हजार १७९ जना घाइते भए ।
प्राधिकरणले चट्याङबाट बच्न सुझाएका उपायहरू
१. पूर्व तयारी :
– घरमा उचित अर्थिङ प्रणाली जडान गर्ने,
– घरको माथिल्लो भागमा तामा/एल्युमिनियम रड (लाइटनिङ रड) राख्ने,
– अग्ला रुख, टावर र बिजुली लाइनबाट टाढा घर निर्माण गर्ने,
– विद्युतीय वायरिङ नियमित जाँच गर्ने
२. चट्याङ परेको बेला :
– खुला ठाउँमा नबस्ने.
– अग्ला रुख, पोल, बिजुलीका तारबाट टाढा रहने,
– पानी (नदी, पोखरी) नजिक नजाने,
– धातुका वस्तु (गेट, पाइप) नछुने,
– घरभित्र बसेर झ्याल–ढोका बन्द गर्ने,
– विद्युतीय उपकरण प्रयोग नगर्ने,
– यदि खुला ठाउँमा फसेको अवस्थामा शरीर सानो बनाएर कुर्कुच्चा जोडेर बस्ने र कान थुन्ने
चट्याङ लागि हाले :
– प्रभावित व्यक्तिलाई तुरुन्त प्राथमिक उपचार गरी अस्पताल लैजाने,
– क्षतिको मूल्याङ्कन गर्दा संवेदनशील समूह (बालबालिका, जेष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति) लाई प्राथमिकता दिने ।