तथ्यजाँच मिथ्या सूचना

हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै गृहमन्त्रीको दावी गरिएको भाइरल स्क्रिनसट ‘फेक’


हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै गृहमन्त्रीको दावी गरिएको भाइरल स्क्रिनसट ‘फेक’

सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई सूचना प्रविधि ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको भन्दै एउटा फेसबुक स्टाटसको स्क्रिनसट भाइरल भएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त स्क्रिनसट नक्कली रहेको पुष्टि भएको छ।

के हो दावी ?

Your Information नामक फेसबुक पेजले गृहमन्त्री सुधन गुरुङको फेसबुक स्टाटस दावी गर्दै एउटा रिल्स भिडियो पोस्ट गरेको छ। उक्त स्क्रिनसटमा हर्क साम्पाङले भ्रम फैलाएको भन्दै उनीमाथि सूचना प्रविधि ऐन अन्तर्गत कारबाही गरिने चेतावनी दिइएको देखिन्छ।

यो तथ्यजाँच गर्ने समय सोमबार दिउँसोसम्म रिल्समा ४७ हजारभन्दा बढी पटक रियाक्ट भएको छ भने ४ हजार ७ सय पटक कमेन्ट गरिएको छ । २ हजार पटक सेयर गरिएको छ भने १२ लाख पटक हेरिएको छ ।

हेर्नुहोस् Your Information को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही स्क्रिनसटलाई विश्वास गरेरअरु फेसबुक पेजले पनि राखेको देखिन्छ।

के हो तथ्य ?

यसबारे तथ्यजाँचको सुरुमै हामीले गृहमन्त्री सुधन गुरुङको फेसबुक भिजिट गर्‍यौँ। उनले पछिल्लो स्टाटस सन् २०२६ को मार्च २९ को दिन विहान १० बजेर १५ मिनेटमा गरेका थिए। त्यसपछि कुनै पनि पोस्ट भएको भेटिएन ।

स्क्रिनसटमा प्राविधिक त्रुटि

भाइरल स्क्रिनसट विश्लेषण गर्दा हामीले पायौँ-

  • अक्षरको alignment असामान्य (बीचमा मिलाइएको)
  • फन्ट फेसबुकको मूल शैलीसँग नमिल्ने
  • डिजाइन र spacing अस्वाभाविक

यी सबै नक्कली स्क्रिनसटका सामान्य संकेत हुन्।

‘सूचना प्रविधि ऐन’ नै छैन

भाइरल स्टायटसमा उल्लेख गरिएको सूचना प्रविधि ऐन छ कि छैन भनी हामीले कानुनहरुको संगालो हुने ठाउँ कानुन आयोगको आधिकारिक वेबसाइटमा खोजी गर्‍यौँ।

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकका रुपमा अघिल्लो सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ असार १ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए। तर यो विधेयक पारित भइसकेको छैन।

सन्दर्भ के हो ?

हर्क साम्पाङले मार्च २९ मा एउटा फेसबुक पोस्टमार्फत सरकार र गृहमन्त्रीको आलोचना गरेका थिए। त्यसमा  गुरुङ गृहमन्त्री बनेको २४ घण्टा नबित्दै चीनको नाकामा पुगेकोदेखि चीनले अघोषित नाकाबन्दी गरेकोसम्मका दावी गरिएको छ।

हेर्नुहोस् हर्क सामपाङको स्क्रिनसट

हर्क साम्पाङको ओरिजिनल लिंक यहाँ छ । यसैलाई लिएर नक्कली स्क्रिनसट बनाएको देखिन्छ।

उक्त विषयमा गरिएको अर्को तथ्यजाँचले पनि साम्पाङको दावी भ्रामक रहेको देखाएको छ। सम्बन्धित तथ्यजाँच यहाँ पढ्न सकिन्छ

तथ्यजाँच

दावी : गृहमन्त्री सुधन गुरुङले हर्क साम्पाङलाई कारबाही गर्ने चेतावनी दिँदै फेसबुक स्टाटस लेखे।

दावीकर्ता : Your Information र अन्य फेसबुक पेजहरू।

तथ्य/निष्कर्ष :मिथ्या (False)। गृहमन्त्री सुधन गुरुङको आधिकारिक फेसबुकमा उक्त स्टाटस देखिएन। भाइरल स्क्रिनसटमा फन्ट, अक्षरको मिलान र डिजाइनमा प्राविधिक त्रुटि देखिएकाले यो नक्कली रूपमा तयार गरिएको पुष्टि हुन्छ। साथै, स्क्रिनसटमा उल्लेख गरिएको ‘सूचना प्रविधि ऐन’ नामको कानुनसमेत लागू रहेको फेला नपरेकाले दावी विश्वसनीय देखिँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add