- नेपाल तथ्यजाँच
- चैत्र १६, २०८२

रेखा शर्माको हतकडी लगाइएको फोटो वास्तविक होइन
अनलाइन न्युजपोर्टलमा नेकपा (एमाले) की नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हतकडी लगाएर पक्राउ गरिएको फोटो प्रकाशित भएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त फोटो एआईबाट बनेको पुष्टि भएको छ।
के हो दाबी ?
पोखराबाट सञ्चालन भइरहेको डन न्युज नामक अनलाइन मिडियामा चैत १६ गते सोमबार बिहान ‘१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ’ शीर्षकमा समाचार प्रकाशित भएको छ।
समाचारसँगै हतकडी लगाइएको फोटो पनि राखिएको छ।
हेर्नुहोस्, समाचारको स्क्रिनसट

उक्त समाचारको लिङ्क र अर्काइभ लिङ्क
यो विषयको तथ्य खोज्न हामीलाई अनुरोध आएपछि हामीले तथ्य जाँच गरेका छौँ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले दुई मुख्य पक्ष जाँच गर्यौँ:
१. पक्राउको स्थान
विभिन्न विश्वसनीय सञ्चारमाध्यम (अनलाइनखबर, रातोपाटी, सेतोपाटी ) मा प्रकाशित समाचार अनुसार रेखा शर्मालाई धुम्बाराहीबाट पक्राउ गरिएको हो। बालुवाटारबाट पक्राउ गरिएको पुष्टि हुँदैन।
२. हतकडी लगाइएको फोटो
तथ्यजाँचका क्रममा कुनै पनि विश्वसनीय स्रोतमा हतकडी लगाइएको कुनै फोटो फेला परेन। डनन्युजमा प्रकाशित फोटोलाई ध्यान दिएर हेर्दा त्यसमा प्रहरीको पोशाक, लोगो र चिन्हहरू अस्वाभाविक देखिन्छन्।
त्यसैगरी पृष्ठभूमिमा भारतीय प्रहरीजस्तो पोशाकसमेत देखिएको छ। त्यसैगरी पक्राउ परेको राति भनिए पनि फोटो उज्यालो समयमा खिचिएको जस्तो देखिन्छ। 
हामीले तथ्य जाँच गर्ने क्रममा उक्त फोटोलाई गुगलको SynthID परीक्षण गर्यौँ। SynthID Check गुगलद्वारा विकसित प्रविधि हो, जसले एआईबाट सिर्जित सामग्रीमा डिजिटल वाटर मार्क पहिचान गर्न मद्दत गर्छ।
परीक्षणको नतिजाले उक्त फोटोमा SynthID फेला पर्यो जसको अर्थ गुगल एआईबाट बनेको वा सम्पादन गरेको हुन आउँछ।
हेर्नुहोस्, स्क्रिनसट :

हामीले उक्त फोटोलाई हाइभ मोडेरेशनमा पनि चेक गर्यौँ। हाइभ मोडेरेशनले उक्त फोटो ९९.९ प्रतिशत एआईबाट तयार भएको संकेत देखायो।
हेर्नुहोस्, हाइभ मोडेरेशनको नतिजा :

तथ्य जाँच
दावी : रेखा शर्मालाई हतकडी लगाएर पक्राउ गरिएको फोटो।
दावीकर्ता : डन न्युज नामक अनलाइन मिडिया।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। रेखा शर्मालाई पक्राउ गरिएको सही भए पनि हतकडी लगाइएको फोटो एआईमार्फत निर्माण गरिएको हो। साथै, पक्राउको स्थानसम्बन्धी विवरण पनि गलत रूपमा प्रस्तुत गरिएको छ। वास्तविक घटनासँग असम्बन्धित तस्बिर प्रयोग गरी दावी भ्रामक बनाइएको देखिन्छ।