- टेकमान शाक्य
- चैत्र १७, २०८२

किशोरीले ‘केपी बाले पैसा दिन्छु भनेको छ’ भन्दै गरेको भिडियो एआईबाट बनाइएको ‘नक्कली’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा दिन्छु भनेको र पहिले पनि ६० देखि ७० हजार रुपैयाँ दिएको भनेर एक किशोरीले बोलेको भिडिओ सामाजिक संजालमा भाइरल छ ।
तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उनले बोलेको भिडिओ एआईबाट तयार भएको पुष्टि भएको छ।
के हो दावी ?
‘तिम्रो कथा को जीवन’ नामको फेसबुक पेजमा मार्च ३० मा ८ सेकेन्डको एउटा भिडियो पोस्ट गरिएको छ।
भिडियोमा एक किशोरीले ‘हामीलाई केही थाहा छैन , केपी बाले हामीलाई पैसा दिन्छु भनेको छ, पैला नि पैसा दिएको थियो ६०-७० हजार… तर यो भिडिओ भाइरल नगरिदिनुहोला प्लिज ‘ भनेको सुनिन्छ।
सोमबार राति यो तथ्यजाँच गर्ने समयसम्ममा भिडिओ क्लिपमा ६ सय भन्दा बढी पटक रियाक्ट भएको छ भने १ सय १९ पटक कमेन्ट गरिएको छ । भिडिओलाई ९७९ पटक सेयर गरिएको छ भने १ लाख ७५ हजार पटक हेरिएको छ ।
हेर्नुहोस् ‘तिम्रो कथा को जीवन’ नाम गरेको फेसबुक पेजको स्क्रिनरेकर्ड
भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यो भिडिओलाई अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन्। त्यसमध्ये केहीले यही भिडिओ प्रयोग गरेर रियाक्सन भिडिओ बनाइरहेका छन् जसले दावीलाई अझ फैलाएको छ।
५ लाख ६१ हजार फलोअर्स रहेको Ganesh Saud नाम गरेका फेसबुक प्रयोगकर्ताकर्ताले यही भिडिओलाई प्रयोग गरेर अर्को रियाक्सन भिडिओ बनाएका छन् । भिडिओ पोष्टमा ५३ हजार पटक रियाक्ट भएको छ भने २ हजार २ सय पटक कमेन्ट गरिएको छ । ८ हजार ९ सय पटक सेयर गरिएको छ भने ११ लाख पटक हेरिएको छ।
हेर्नुहोस् Ganesh Saud नामक फेसबुक प्रयोगकर्ताको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
Sarobar Badaila नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि यहि भिडिओमा रियाक्ट गरेका छन् । उनले शीर्षकमा ‘यो सबै पैसाको खेल रहेछ’ भनेर लेखेका छन् ।भिडिओलाई २८ हजार पटक रियाक्ट गरिएको छ भने १ हजार ३ सय पटक कमेन्ट र १३ हजार पटक सेयर गरिएको छ । १० लाख पटक हेरिएको छ । भिडिओलाई १० लाख पटक हेरिएको छ ।
हेर्नुहोस् Sarobar Badaila को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यो भिडिओको तथ्यजाँच गर्न सबैभन्दा पहिले हामीले भिडिओमा कुनै एआई जेनेरेटेड वाटरमार्क छ कि छैन भनेर ध्यान दिएर हेर्यौँ।
नतिजामा हामीले दायाँ छेउमा Veo को लोगो देख्यौँ।
हेर्नुहोस् भिडिओमा देखिएको Veo को लोगो सहितको स्क्रिनसट

त्यसपछि हामीले भिडिओ गुगल एआईमार्फत निर्मित भएको हो कि होइन भनेर पुष्टि गर्न Synth ID जाँच गर्यौँ। SynthID Check गुगलद्वारा विकसित प्रविधि हो, जसले एआईबाट सिर्जित सामग्रीमा डिजिटल वाटर मार्क पहिचान गर्न मद्दत गर्छ।
नतिजामा यो भिडियोका दृश्यहरू Google AI प्रयोग गरेर सम्पादन गरिएको वा सिर्जना गरिएको देखियो। सून्य सेकेन्डदेखि ७ सेकेन्डको बीचमा SynthID वाटरमार्क भेटियो । अडियोमा भने यस्तो कुनै वाटरमार्क भेटिएन।
हेर्नुहोस् गुगलको SynthID ले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले hive moderation मार्फत पनि जाँच गरेर हेर्यौँ । यसले एआई निर्मित हुन सक्ने सम्भावना ९९ दशमलव ८ प्रतिशत देखायो भिडिओ VEO3 मार्फत बनाईएको हुन सक्ने सम्भावना ९३ दशमलव ३ प्रतिशत भेटियो ।

भिडिओमा प्रयोग भएको अडिओ एआई निर्मित हो कि होइन भनेर जाँच गर्नका लागि हामीले Truth Scan को सहायता लिग्यौँ । नतिजामा अडिओ एआई निर्मित भएको ९९ प्रतिशत देखायो ।
हेर्नुहोस् Truth Scan ले दिएको नतिजाको स्क्रिनसट

एआई निर्मित यो भिडिओ तयार पार्नका लागि फ्रेम कुन भिडिओबाट लिइएको हो भनेर जाँच गर्नका लागि हामीले भाइरल भिडिओबाट एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ। नतिजामा थुप्रै सामाजिक संजाल प्रयोगकर्ता र संचारमाध्यमले पनि यी किशोरीको भिडिओ पोष्ट गरेको भेटियो ।
एआई प्रयोग नभएको भिडिओ लिंक यहाँ छ ।
तर उक्त भिडियोमा ओलीले पैसा दिएको/दिने दावी गरिएको छैन। बरु बरु एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध र रिहाइको माग गरिएको छ।
यसले देखाउँछ कि मूल भिडियोको फ्रेम प्रयोग गरेर नयाँ एआई भिडियो बनाइएको हो।
तथ्यजाँच
दावी : किशोरीले केपी शर्मा ओलीले पैसा दिने गरेको बताएको भिडियो।
दावीकर्ता : ‘तिम्रो कथाको जीवन’ फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य/निष्कर्ष : मिथ्या (False) र AI Generated। भाइरल भिडियो एआईमार्फत निर्माण गरिएको हो। विभिन्न प्राविधिक परीक्षण (SynthID, Hive Moderation, TruthScan) ले भिडियो र अडियो दुवै कृत्रिम भएको देखाउँछन्। वास्तविक भिडियोमा यस्तो अभिव्यक्ति नभएकाले दावी पूर्ण रूपमा गलत हो।