- टेकमान शाक्य
- चैत्र २०, २०८२

दलित समुदायसित रविको माफीपछि भारतमा बहस भएको दावी तथ्यसँग मेल खाँदैन
सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रमबाट दलित समुदायसँग माफी मागेपछि भारतको लोकसभामा पनि सोही विषय उठेको दावी फैलिएको छ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी समयक्रम उल्ट्याएर प्रस्तुत गरिएकोले भ्रामक रहेको देखिएको छ।
के हो दावी ?
५ लाख ५८ हजार फलोअर्स रहेको पत्रिका नेपाल नामक फेसबुक पेजमा बिहीबार (सन् २०२६ को मार्च २) को दिन ४ मिनेट ५० सेकेन्डको एउटा भिडिओ रिपोर्ट पोस्ट भएको छ।
भिडिओमा रवि लामिछानेले नेपालको प्रतिनिधिसभा बैठकमा बोलेको कुराले भारतीय संसदमा तरंग पैदा गरेको, रविले नेपालको संसदमा दलित समुदायसँग माफी मागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लोकसभाबाट माफी माग्नुपर्ने आवाज उठेको दावी गरिएको छ।
यो तथ्यजाँच गर्ने समयसम्म भिडिओमा १ लाख ४८ हजार पटक रियाक्ट भएको छ भने २ हजार ५ सयभन्दा बढी पटक कमेन्ट गरिएको छ। ८ हजार २ सय पटक सेयर भएको छ भने १७ लाख पटक हेरिएको छ ।
हेर्नुहोस् पत्रिका नेपालको स्क्रिनरेकर्ड
पत्रिका नेपालको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
सामाजिक संजाल प्रयोगकर्ता निमकान्त पाण्डेले पनि ‘रविको चर्चा भारतको संसदमा’ भन्दै २ मिनेट ४४ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन्। यो भिडिओमा पनि रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेपछि भारतको संसदमा पनि यो कुराको उठान भएको दावी गरिएको छ।
यो तथ्यजाँच गर्ने समयसम्ममा भिडिओमा ८ हजारभन्दा बढी पटक रियाक्ट भइसकेको छ भने २ सय १८ पटक भन्दा बढी कमेन्ट र २ सय ६९ पटकभन्दा बढी सेयर भएको छ। भिडिओलाई १ लाख पटकभन्दा बढी हेरिएको छ।
हेर्नुहोस् निमकान्त पाण्डेको स्क्रिनसट

निमकान्त पाण्डेको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
विकास अपडेट (Bikash Update) नामक फेसबुक पेजले पनि यही दावीसहितको भिडिओ पोस्ट गरेका छन्। रवि लामिछाने ह्यासट्याग प्रयोग गरेर सार्वजनिक गरिएको भिडिओमा नेपालमा दलित समुदायसँग माफी मागेपछि भारतीय संसदमा पनि यो विषय उठेको दावी गरिएको छ। ८ लाख २९ हजार फलोअर्स रहेको यो पेजबाट सार्वजनिक भिडिओमा ४७ हजार पटक रियाक्ट भएको छ भने २ सय ७२ पटक कमेन्ट र १ हजार १ सय पटक सेयर भएको छ । भिडिओलाई १२ लाख पटक हेरिएको छ।
हेर्नुहोस् बिकास अपडेटको स्क्रिनसट

विकास अपडेटको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा नेपाल र भारत दुवै संसदमा उक्त विषय उठेको समयक्रम जाँच गर्यौँ।
वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गरेको छ कि छैन भनेर हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको आधिकारिक वेबसाइट हेर्यौँ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची सार्वजनिक भएको भेटियो ।
कार्यसूचीको पाचौँ नम्बरमा दलित तथा ऐतिहासिक रुपमा बहिस्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद भएको औपचारिक स्वीकार गर्दै १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने विषय उल्लेख रहेको भेटियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२०८२ साल चैत १९ गते (सन् २०२६ को अप्रिल २) को दिन बसेको प्रतिनिधिसभा बैठकमा रवि लामिछानेले दलित समुदायसँग माफी मागेको भेटियो। प्रतिनिधिसभा नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको लाइभ भिडिओमा उनले दलित समुदायसँग माफी मागेका छन्।
हेर्नुहोेस् प्रतिनिधसभा नेपालको युट्युब च्यानलको स्क्रिनसट

संसद सचिवालयको आधिकारिक च्यानलको लाइभ लिंक यहाँ छ ।
त्यसपछि हामीले चन्द्रशेखर आजादले भारतको लोकसभामा गरेको सम्बोधनको पछिल्लो सम्बोधनको खोजी गर्यौँ। यसको नतिजामा १ करोडभन्दा बढी सब्सक्राइबर रहेको News18 UP Uttarakhand नाम गरेको युट्युब च्यानलमा ४ मिनेट ४१ सेकेन्डको भिडिओ फेला पार्यौँ। यो भिडिओ सन् २०२६ को मार्च ३१ को दिन अपलोड भएको देखिन्छ ।
भिडिओको अन्त्यतिर अर्थात ४ मिनेट २६ सेकेन्डपछि उनले नेपालको प्रसंग निकाल्दै नेपालमा दलित समुदायसँग माफी माग्ने निर्णय भएको प्रसंग निकाल्दै भारतमा पनि यसो हुनुपर्ने आवाज उठाएका छन् ।
हेर्नुहोस् News18 UP Uttarakhand को स्क्रिनसट

News18 UP Uttarakhand को युटुब च्यानलमा अपलोड भएको लिंक यहाँ छ ।
तथ्यजाँच
दावी : रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा दलित समूदायसँग माफी मागेपछि भारतको लोकसभा संसदमा पनि दलित समूदायसँग माफी माग्नुपर्ने आवाज उठेको।
दावीकर्ता : पत्रिका नेपाल, विकास अपडेट, प्रयास मिडिया, निमकान्त पाण्डे
तथ्यजाँच: भ्रामक (Misleading)। भारतको लोकसभामा दलित समुदायको विषय उठाइएको कुरा सही भए पनि त्यो रवि लामिछानेले नेपालको प्रतिनिधिसभामा माफी मागेपछि भएको होइन। भारतमा उक्त विषय मार्च ३१ मा उठाइएको हो भने नेपालमा माफी अप्रिल २ मा मागिएको हो। समयक्रम उल्ट्याएर कारण–परिणामको गलत सम्बन्ध देखाइएकोले दावी भ्रामक हुन्छ।