जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

सुनाखरी फूल वैशाख १ मा मात्र फूल्ने दावी भ्रामक


सुनाखरी फूल वैशाख १ मा मात्र फूल्ने दावी भ्रामक

सामाजिक सञ्जालमा वैशाख १ गते मात्र सुनाखरी फूल फूल्ने र यो वर्ष चैत मै फुलेको भन्दै केही पोस्टहरू भाइरल भएका छन्।

तर नेपालफ्याक्टचेकको तथ्य जाँचले यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ। सुनाखरी फूल वैशाख १ मा मात्र नभई यसका प्रजाति अनुसार वर्षैभरि फरक-फरक समयमा फूल्ने गरेको पाइएको छ।

के हो दावी ?

एक लाख ६६ हजार फलोअर्स भएको हाम्रो विराटनगर नामक फेसबुक पेजले  अप्रिल ३, २०२६ (चैत २१) मा सुनाखरी फूलको फोटो पोस्ट गर्दै लेखेको छ, ‘वैशाख १ गते फूल्ने सुनाखरी विराटनगरमा अहिल्यै फूल्यो’। यो तथ्य जाँच तयार पार्दासम्म उक्त पोस्टमा २,१०० रियाक्सन, ६० कमेन्ट र ७ पटक शेयर गरिएको छ।

हेर्नुहोस्, स्क्रिनसट

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

त्यस्तै, ४ लाख २ हजार फलोअर्स भएको कृषि गुरु नामक फेसबुक पेजले पनि अप्रिल १४, २०२५ मा सुनाखरी फूल हरेक वर्ष वैशाख १ गते मात्र फूल्ने दाबी गरेको थियो। उक्त पोस्टमा ५,६०० भन्दा बढी रियाक्सन र ११९ पटक शेयर भएको देखिन्छ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

यी दुवै पोस्टहरूले सामाजिक सञ्जालमा ठूलो संख्यामा दर्शकहरू माझ भ्रम फैलाएको देखिन्छ। हजारौँ रियाक्सन र शेयरका कारण धेरै प्रयोगकर्ताले सुनाखरीलाई वैशाख १ गतेसँग मात्र जोडिएको प्राकृतिक चमत्कारका रूपमा विश्वास गरेको पाइएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ। 

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले वनस्पति शास्त्रीहरूको लेख, आधिकारिक पुस्तक र विज्ञहरूसँग परामर्श गर्‍यौँ।

२५ वर्षदेखि सुनाखरी अनुसन्धान गरिरहेकी प्रा.डा. विजया पन्तले नेपालफ्याक्टचेकसँग भनिन्, “ठ्याक्कै १ गते नै फूल्छ भन्ने होइन। यति खेर फूल्ने सहलेस हो । सहलेस फूलबारीको सुनाखरी ‘डेन्ड्रोबियम एफिलम’ प्रजातिको हो । कुनै प्रजाति कुनै एक टाइममा फूल्छ, कुनै अर्को समयमा फूल्छ ।चैतको अन्तिम र वैशाखको बेलामा चाहिँ फूल्ने समय पर्छ । “

वनस्पति शास्त्री कमल मादेनका अनुसार सुनाखरी वैशाख १ मा मात्र फूल्ने कुरा वास्तविकता होइन। यो मार्च-अप्रिल (चैत-वैशाख) महिनाभरि फुल्न सक्छ। सिराहाको सलहेश फूलबारीमा देखिने सुनाखरी पनि एक दिन मात्र फूल्ने होइन। २०७५ वैशाख २ गते अनलाइन खबरमा प्रकाशित ‘भ्रममा नपरौं, सुनाखरी एक दिन मात्रै फुल्दैन !’ शीर्षकको लेखमा उनले लेखेका छन्, ‘सुनाखरी वैशाख १ गते फुल्छ भनिए पनि मार्च–अप्रिल अर्थात् चैत्र वैशाख महिनाभरि फूल्ने’ उल्लेख गरिएको छ । साथै, उनले लेखमा लेखेका छन्, ‘कतिपय पत्रकारले लहैलहैमा सिराहाको सहलेस फूलबारीमा एक दिन फूल्ने सुनाखरी भनेर लेखे । त्यो वास्तविकता हुँदै होइन ।’

अनलाइन खबरमा प्रकाशित लेखको स्क्रिन सट

अनलाइनखबरमा प्रकाशित उक्त लेख पढ्न यहाँ क्लिक गर्नुहोस्

भक्तबहादुर रास्कोटी र रीता आलेको पुस्तक ‘द अर्कीडस् अफ् नेपाल’ (२००९) अनुसार नेपालमा सुनाखरीका ३७७ भन्दा बढी प्रजाति पाइन्छन् र ती सबैको फूल्ने समय फरक-फरक हुन्छ। पछिल्लो अनुसन्धानले यो संख्या ५०२ पुगेको देखाएको छ। रिचर्स गेटमा पनि प्रकाशित गरिएको ‘द अर्कीडस् अफ् नेपाल’ पढ्न यहाँ क्लिक गर्नुहोस्

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सन् २०२४ मा प्रकाशित गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू नामक चित्रात्मक पुस्तिकाले अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएको उल्लेख गरिएको छ । तर, उनीहरूको फूल्ने समय, स्थान र उँचाइ भने फरक फरक रहेको उल्लेख छ।

उदाहरणका लागि Acampe rigida सेप्टेम्बर-अक्टोबरमा फुल्छ भने Dendrobium fimbriatum अप्रिल-जुन महिनामा फुल्छ।  अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू नामक चित्रात्मक पुस्तिका पढ्न यहाँ क्लिक गर्नुहोस्

तथ्य जाँच

दावी : नेपालमा सुनाखरी फूल वैशाख १ मा फुल्छ ।

दावीकर्ता : हाम्रो विराटनगर र कृषि गुरु नामक फेसबुक पेज ।

तथ्य : भ्रामक (Misleading)। सुनाखरी फूल वैशाख १ मा मात्र फूल्ने कुनै वैज्ञानिक आधार छैन। नेपालमा पाइने ५०० भन्दा बढी प्रजातिका सुनाखरीहरू प्रजाति अनुसार वर्षका विभिन्न महिनामा फूल्ने गर्छन्। वैशाख १ मा फुल्ने भनिएको ‘सलहेश फूल’ पनि चैतको अन्त्यदेखि नै फूल्न सुरु गर्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add