- सुरज घिमिरे
- चैत्र २६, २०८२

सांसदले मतदातालाई ‘धन्यवाद दिएको’ भिडियो सम्पादन गरी ‘श्रद्धाञ्जलि दिएको’ बनाउँदै भाइरल
सामाजिक सञ्जालमा रास्वपा सांसद कामेनी कुमारी चौधरीले संसदमा ‘मतदाताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु’ भनेको दावी फैलिएको छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो सम्पादन (तोडमोड) गरी भ्रामक रूपमा प्रस्तुत गरिएको देखिन्छ।
के हो दाबी ?
टंक जूबु राई नामक फेसबुक प्रयोगकर्ताले बुधबार राति फेसबुकमा एउटा भिडियो पोस्ट गरे, जसको शीर्षकमा लेखिएको छ, ‘यिनले त बर्बादै पारिन नि..आफ्नै घण्टीका मतदाताहरूलाई हार्दिक श्रद्धाञ्जली दिएर’
भिडियोमा एक महिलाले भनेकी छिन्, ‘म कामेनी कुमारी चौधरी । प्रणाम । म सम्पूर्ण सम्मानित मतदाताहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।’
व्यङ्ग्यात्मक मिमहरूलाई जोडेर बनाइएको उक्त २० सेकेन्डको भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार एक सय लाइक, दुई सय ६८ कमेन्ट र ९ सय १९ पटक शेयर गरिएको छ । उक्त भिडियोलाई एक लाख ६७ हजार बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
सोही भिडियोलाई थुप्रै प्रयोगकर्ताहरूले फेसबुकमा पोस्ट गरेका छन्।
हेर्नुहोस्, स्क्रिन रेकर्ड :
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले प्रतिनिधिसभाको हालैको बैठकहरूको लाइभ भिडियोहरू हेर्यौ ।
सोही क्रममा प्रतिनिधिसभा नेपालको आधिकारिक युट्युब च्यानलमा ‘चैत २४ गते मंगलबार दिउँसो १ः०० बजे’ बसेको प्रतिनिधिसभा बैठकको लाइभ भिडियो भेट्यौं।
उक्त दिनको बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी महिला कोटाबाट समानुपातिकतर्फबाट सांसद बनेकी कामेनी कुमारी चौधरीको मन्तव्य देखिन्छ।
बैठकमा उनले भनेकी छिन्, “सम्माननीय सभामुख महादोय, म मधेसी महिला कामेनी कुमारी चौधरी । प्रणाम । यस गरिमामय सङ्घीय संसद् भवनमा पहिलो पटक बोल्ने अवसर पाउँदा आफूलाई अत्यन्तै गौरवान्वित महसुस गरिरहेकी छु । यस सदनको गरीमा, मर्यादा र जनताको विश्वासलाई सधैँ उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
सर्वप्रथम, यस राष्ट्रको लोकतन्त्र, गणतन्त्र र परिवर्तनको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । म हाम्रा सम्मानित मतदाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
सभामुख महोदय, म एउटा ध्यानाकर्षण गराउन चाहन्छु उहाँलाई, मधेसमा लगभग ६ प्रतिशत मधेसी दलित बसोबास गरिरहनुभएको छ र उहाँहरूलाई पनि यो राज्यको नीतिमाथि सम्बोधन गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ ।”
हेर्नुहोस्, प्रतिनिधिसभाको बैठकमा चौधरीले राखेको धारणाको स्क्रिन रेकर्ड :
चैत २४ गतेको प्रतिनिधिसभाको बैठकको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
भाइरल भिडियोमा वाक्यका दुई फरक भाग जोडिएको छ र सन्दर्भ काटेर अर्थ परिवर्तन गरिएको छ जसले “मतदातालाई श्रद्धाञ्जली” दिएको जस्तो गलत अर्थ बनाउँछ।
तथ्य जाँच
दावी : सांसद कामेनी कुमारी चौधरीले मतदाताहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। चौधरीले सहीदहरूप्रति श्रद्धाञ्जली र मतदाताप्रति धन्यवाद व्यक्त गरेकी हुन्। भिडियोको अंश काटेर जोड्दा अर्थ परिवर्तन गरिएकोले दावी भ्रामक हुन्छ।