तथ्यजाँच मिथ्या सूचना

के महावीर पुनलाई पिपिई बनाउन मेडिकल काउन्सिलले स्वीकृति दिएको हो?


के महावीर पुनलाई पिपिई बनाउन मेडिकल काउन्सिलले स्वीकृति दिएको हो?


महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) को उत्पादन गर्न नेपाल मेडिकल काउन्सिलले स्वीकृति दिएको भन्दै प्रमुख अनलाइनहरुमा आएको समाचार गलत ठहरिएको छ। नेपाल मेडिकल काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिडियामा प्रकाशित समाचार सही नभएको जनाएको हो। देशसञ्चार, पहिलोपोस्ट र अनलाइनखबरले महावीर पुनलाई पिपिई बनाउन काउन्सिलले स्वीकृति दिएको समाचार राखेका थिए। तर काउन्सिलको विज्ञप्तिमा भनिएको छ- ‘यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ।’

देशसञ्चारले चैत १३ गते ‘महावीर पुनलाई नेपालमै पीपीई बनाउन मेडिकल काउन्सिलकाे स्वीकृति’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ‘जसमा पीपीईको परीक्षणपछि मापदण्ड अनुरुप नै भएकाे भन्दै नेपाल मेडिकल काउन्सिलले पुनलाई पीपीई बनाउन स्वीकृति दियो’ उल्लेख छ। समाचारमा महावीरको कोटमात्र रहेको छ, मेडिकल काउन्सिलका कुनै पदाधिकारीको कोट छैन।

त्यसैगरी पहिलोपोस्टले चैत १३ मा नै ‘महावीर पुनले तयार गरेको नमुना पीपीई मेडिकल काउन्सिलबाट स्वीकृत, आजैबाट ४ सय थान सिलाउन सुरु’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। समाचारमा ‘महावीर पुनले तयार गरेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई)को नमुना स्वीकृत भएको’ उल्लेख छ। समाचारमा डाक्टर भगवान कोइरालाको टोलीले पिपिईको जाँच गरेको उल्लेख गर्दै महावीर पुनको कोट राखिएको छ, ‘उक्त स्याम्पलले स्वीकृति पायो। अब शुरुवाती चार सय थान बिहीवारदेखि नै बनाउन थाल्छौं।’ यो समाचारमा पनि मेडिकल काउन्सिलका कुनै पदाधिकारीको कोट राखिएको छैन।

त्यस्तै, अनलाइनखबरले ‘महावीर पुनले बनाइरहेको पीपीई कति भरपर्दो ?’ शीर्षकमा चैत १४ गते राखेको समाचारमा ‘पीपीईको अभाव सिर्जना भएसँगै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले.स्वदेशमै यसको उत्पादनको पहलकदमी लियो । केन्द्रले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत गराएर पीपीई उत्पादन सुरु गरिसकेको छ’ उल्लेख छ। यसमा भने डा. रवीन्द्र समीरको आलोचनात्मक विचार छ। उनले भनेका छन्, ‘हालै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पीपीई बनाउनका लागि नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएको कुरा आएको छ।… राष्ट्रिय अविष्कार केन्द्रले मेडिकल काउन्सिलमा नमूना पठाएर स्वीकृत भएपछि विभिन्न गार्मेन्टमा ४–५ सय पिस सिलाउन सुरु गरेको छ। मेरो विचारमा उसले यसरी सिलाउनुअघि नेपालकै बायोमेडिकल इन्जिनियर र भाइरोलोजिस्टहरुलाई देखाउनुपथ्र्यो। उनीहरुको सुपरभिजनमा बनाएर उनीहरुले हुन्छ भनेपछि मात्रै मेडिकल काउन्सिलमा स्वीकृतिका लागि पठाएको भए राम्रो हुन्थ्यो। उहाँहरुले आफूले सक्दो गुणस्तर त कायम गर्नुहोला। तर, भोलि त्यसमा केही कमी–कमजोरी भएर भाइरस छि¥यो भने ठूलो जोखिमको अवस्था आउनसक्छ।’

नेपाल मेडिकल काउन्सिलको प्रेस विज्ञप्ति यस्तो छ-

प्रेस विज्ञप्ति
नेपाल मेडिकल काउन्सिल जनताको स्वास्थ्य, औषधीको गुणस्तर, उपकारण, सुरक्षा सामाग्री, उपचार पध्दति लगाएतका बिषयमा सम्बेदनशिल छ । चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा विरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झै नियमित छ ।
विभिन्न सञ्चार माध्यमहरुमा नेपाल मेडिकल काउन्सिलले व्यक्तिगत सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट) को जाँचपडताल गरी स्वीकृति वा अनुमति दिएको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । नेपाल मेडिकल काउन्सिल औषधि, उपचार उपकरण, उपचार सामाग्री लगायतका विषयमा संबेदनसिल रहदाँरहदै पनि यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको व्यहोरा अनुरोध छ । स्थानीय श्रोतसाधन उपयोगगरी बनाईएका त्यस्ता सामाग्रीहरु र तिनको उपयोग सह्रानिय भएतापनि उत्पादित बस्तुको गुणस्तर हेर्न तोकिएको निकायले यसको टुंगो लगाउने व्यवस्था भएको स्मरण गराउन चाहन्छौं ।
यसै सन्दर्भमा नेपाल गुणस्तर तथा नापतौल विभागले आगामी हप्ताको आईतबार सरोकारवाला संघसंस्था र विज्ञहरु सम्मिलित बैठकबाट व्यक्तिगत सुरक्षा सामाग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट) को गुणस्तर निर्धारण गर्नका लागि बैठक बोलाउने र निर्णयलिने जानकारी काउन्सिललाई प्राप्त भएको छ । तसर्थ यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागको निर्णय अनुरुप गर्नगराउन हुन सम्बन्धित सबैसंग हार्दिक अपील गदछौं ।

नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौं ।
मिति २०७६ चैत्र १४ गते शुक्रबार ।
डा. कृष्णप्रसाद अधिकारी, रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिलबाट प्रेषित

यसबाट मेडिकल काउन्सिलले स्वीकृति नदिएको स्पष्ट हुन्छ। स्वीकृति दिएको हो कि हैन भनी स्वीकृति दिएको भनिएको निकायसँग सोध्दै नसोधी समाचार प्रकाशन गर्दा पाठकले गलत सूचना पाए। यसलाई ती मिडियाले कसरी सच्याउने हुन्, हेर्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add