- क्लाइमेट डेस्क
- बैशाख १६, २०८३

एक्सप्लेनर : तराईमा लुको जोखिम- भ्रम, तथ्य र विज्ञको सुझाव
नेपालमा गर्मी मौसम सुरु भएसँगै तराई–मधेश क्षेत्रमा ‘लु’ अर्थात् तातो हावाको लहरको जोखिम बढ्दै गएको छ। यो केवल सामान्य गर्मी मात्र नभएर स्वास्थ्य र जीवनमै जोखिम पुर्याउन सक्ने अवस्था हो। जलवायु परिवर्तनसँगै यस्ता चरम मौसमीय घटनाहरू बढ्दै गएको सन्दर्भमा ‘लु’बारे सही जानकारी झन् महत्वपूर्ण हुन्छ। हामी यो एक्सप्लेनरमार्फत तातो हावाको लहर (लु), लुको जोखिम रहेका क्षेत्र, मानव स्वास्थ्यमा पर्ने असर र जोगिने उपायहरूबारे चर्चा गर्दैछौँ।
‘लु’ भनेको के हो?
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार लगातार दुई दिन वा सोभन्दा बढी समय ४०°C वा सोभन्दा माथि तापक्रम पुगेमा त्यसलाई तातो हावाको लहर (heatwave) भनिन्छ।
उनका अनुसार “चर्को घाम लागेर तापक्रम बढ्दै जाँदा हावा पनि तातो र सुख्खा हुन थाल्छ। यसले गर्दा गर्मी झन् कडा अनुभव हुन्छ।”
नेपालको सङ्घीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनहरूमा यसलाई ‘तातो हावाको लहर’ भनी उल्लेख गरिएको छ । यसलाई तराई–मधेशमा चलनचल्तीको भाषामा ‘लु’ पनि भन्ने गरिन्छ।
अहिले कहाँ-कहाँ छ जोखिम ?
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा यस्तो जोखिम देखिन्छ-
- उच्च जोखिम: कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही
- मध्यम जोखिम/प्रभावित: अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुर
केही स्थानमा तापक्रम ४०–४१°C पुगिसकेको छ।
केही भ्रम र तथ्य
“लु भनेको सामान्य गर्मी हो”
तथ्य: यो अत्यधिक तापक्रम र सुख्खा हावाको संयोजन हो, जसले शरीरको ताप सन्तुलन बिगार्छ। यसले टाउको दुख्ने, चक्कर लाग्ने, मुटुको गति बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, शरीर अत्यधिक तात्ने, छाला सुक्खा र रातो हुने तथा बेहोस हुने जस्ता असर देखिन सक्छ।
मौसमविद् मीनकुमार अर्याल का अनुसार गम्भीर अवस्थामा ‘लु’ ले हिट स्ट्रोक गराएर ज्यानसमेत जान सक्छ। त्यसैले यसलाई सामान्य गर्मी ठानेर बेवास्ता गर्नु खतरनाक हुन्छ, र समयमै सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ।
“तराईमा सधैं यस्तै हुन्छ, नयाँ केही होइन”
तथ्य: विज्ञका अनुसार अहिले गर्मीको अवधि लामो हुँदैछ, तापक्रम अझ तीव्र हुँदैछ। यो जलवायु परिवर्तनसँग जोडिएको प्रवृत्ति हो।
“कोल्ड ड्रिंक पिए पुग्छ”
तथ्य: क्याफिन र चिनीले डिहाइड्रेसन बढाउन सक्छ। यसले झन् हानी गर्छ। त्यसैले सुरक्षित विकल्प पानी, कागती पानी, नरिवल पानी हो।
“लु लाग्दा पसिना आउँछ, ठिकै हुन्छ”
तथ्य: गम्भीर अवस्थामा शरीरले पसिना निकाल्नै छोड्छ। यो हिट स्ट्रोक को संकेत हुन सक्छ।
“यसको जोखिम वृद्धलाई मात्र हुन्छ”
तथ्य: बालबालिका, युवा (विशेष गरी बाहिर काम गर्ने), सबै जोखिममा हुन्छन्।
“लु लागेमा सामान्य थकान मात्र हुन्छ”
तथ्य: ‘लु’ लागेमा केवल थकान होइन,
- टाउको दुख्ने
- चक्कर लाग्ने
- वाकवाकी
- मुटुको धड्कन तीव्र हुने
- शरीर अत्यधिक तात्ने
- छाला सुक्खा र रातो हुने
गम्भीर अवस्थामा बेहोस वा कोमासम्म हुन सक्छ।
“घामबाट जोगिएपछि मात्र लु लाग्दैन”
तथ्य: तातो र बन्द ठाउँ (जस्तै टिनको छानो भएको कोठा वा भान्सा) मा पनि ‘लु’ को जोखिम हुन्छ।
के गर्ने? (तथ्यमा आधारित सुझाव)
- दिउँसो चर्को घाममा बाहिर ननिस्कने
- बाहिर निस्कँदा छाता वा टाउको ढाक्ने
- हल्का र खुकुलो कपडा लगाउने
- प्रशस्त पानी र झोलिलो पदार्थ पिउने
- बिहान वा साँझ मात्र बाहिरी काम गर्ने
- चिसो पानीले शरीर चिस्याउने
के नगर्ने?
- दिउँसो अनावश्यक बाहिर ननिस्कने
- चिया, कफी, सोडा जस्ता पेय पदार्थ धेरै नपिउने
- मदिरा र धूम्रपान नगर्ने
- लामो समय तातो ठाउँमा नबस्ने
‘लु’ लागेमा के गर्ने?
- बिरामीलाई तुरुन्त शीतल ठाउँमा सार्ने
- कपडा खुकुलो बनाउने
- शरीरमा चिसो पानी लगाउने
- होसमा भए पानी वा झोल दिने
- गम्भीर अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा लैजाने
‘लु’ सामान्य गर्मी होइन, गम्भीर स्वास्थ्य जोखिम भएको अवस्था हो। सही जानकारीको अभावले जोखिम बढाउन सक्छ, त्यसैले तथ्यमा आधारित सावधानी अपनाउनु आवश्यक हुन्छ।