एआई जेनेरेटेड जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना वागमती

काभ्रेको रोशी खोलामा माइक्रो बस फसेको वास्तविक हो, तर भाइरल दृश्य अतिरञ्जित


काभ्रेको रोशी खोलामा माइक्रो बस फसेको वास्तविक हो, तर भाइरल दृश्य अतिरञ्जित

काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रो बस र मानिसहरू भन्दै एउटा भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ। भिडियोमा खोलाको बीचमा चार वटा माइक्रो बस अलपत्र परेको र चर्को भेलले रुख ढालिरहेको देखिन्छ। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा रोशी खोलामा बस फसेको घटना वास्तविक भए पनि भाइरल भिडियोमा एआई प्रयोग गरी दृश्यलाई अतिरञ्जित बनाइएको पुष्टि भएको छ।

के हो दावी  ?

८६ हजार ४ सय बढी फलोअर्स भएको जस्ट फोर यू ग्रीन (just4ugreen)  नामको टिकटक एकाउन्टमा मंगलबार (मे ५, २०२६) बिहान एउटा भिडियो पोस्ट भयो। भिडियोमा खोलाको बीचमा ४ वटा माइक्रो बस फसेको र पानीको चर्को बहावले रुख ढलेको देखिन्छ। भिडियोको क्याप्सनमा लेखिएको छ, “४ वटा माइक्रो फसेका थिए, रोशी खोला”।

दावीको प्रभाव

८ सेकेन्डको उक्त भिडियो यो तथ्यजाँच तयार पार्दासम्म २१ हजारभन्दा बढी पटक हेरिएको छ भने ४ सय ११ लाइक, १४ कमेन्ट र ३२ पटक शेयर भइसकेको छ।

हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

हामीले यस विषयको सत्यता पत्ता लगाउन निम्न चरणहरू अपनायौँ:

. किवर्ड सर्च

हामीले ‘रोशी खोलामा माइक्रो बस’ किवर्ड राखेर गुगलमा सर्च गर्दा रातोपाटी लोकान्तर मा प्रकाशित समाचारहरू फेला पार्‍यौँ। समाचार अनुसार वैशाख २१ गते राति काभ्रेको रोशी खोलामा ४ वटा माइक्रो बस फसेको र ८९ यात्रुको उद्धार गरिएको उल्लेख छ। नेपाल प्रहरीले पनि आफ्नो फेसबुक पेजमा सोही घटनाको फोटो राखेको छ।

रातोपाटीको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

लोकान्तरको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपाल प्रहरीको फेसबुक पेजमा पनि उक्त फोटो भेट्न सकिन्छ ।

 

२. दृश्य तुलना

वास्तविक घटना राति भएको थियो। ‘मदानी बिट’गौरीगञ्ज दर्पण नामक फेसबुक पेज मा अपलोड गरिएका वास्तविक भिडियोहरूमा माइक्रो बसहरू खोलाको बीचमा फसेको देखिए पनि भाइरल भिडियोमा जस्तो चर्को भेलले रुख ढालेको वा मानिसहरूले खतरनाक ढंगले उद्धारको प्रयास गरेको देखिँदैन।

गौरीगञ्ज दर्पणको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

मदानी बिटको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

३. प्राविधिक परीक्षण

भिडियो शंकास्पद देखिएकाले हामीले गुगलको SynthID प्रविधि मार्फत यसको जाँच गर्‍यौँ। यो गुगलद्वारा विकसित एक प्रविधि हो, जसले एआईद्वारा सिर्जित सामग्रीमा रहने अदृश्य डिजिटल वाटरमार्क पहिचान गर्छ। यस परीक्षणले भिडियोमा डिजिटल वाटरमार्क फेला पार्‍यो, जसले यो एआईद्वारा सम्पादित भएको पुष्टि गर्छ

हेर्नुहोस्, जाँचको नतिजा :

त्यसैगरी ‘हाइभ मोडेरेशन’ (Hive Moderation) एआई-निर्मित सामग्री पहिचान गर्ने एक शक्तिशाली टुल हो। यसमा जाँच गर्दा उक्त भिडियो ९९.९ प्रतिशत एआईद्वारा तयार पारिएको (AI Generated) नतिजा प्राप्त भयो

 

रोशी खोलामा माइक्रो बस र यात्रुहरू फसेको घटना सत्य हो। तर टिकटकमा भाइरल भएको भिडियोमा एआई प्रयोग गरी वास्तविक घटनालाई अतिरञ्जित र भयानक बनाइएको छ। रातिको समयमा भएको सामान्य उद्धारको घटनालाई एआईको मद्दतले दिउँसोको जस्तो उज्यालो र विनाशकारी देखिने गरी सम्पादन गरिएको हाम्रो तथ्यजाँचबाट पुष्टि हुन्छ।

तथ्यजाँच

दावी : रोशी खोलामा ४ माइक्रो बससहित मानिसहरू अलपत्र परेको भयानक दृश्य देखिने भिडियो।

दावीकर्ता : जस्ट फोर यू ग्रीन (just4ugreen) नामक टिकटक एकाउन्ट

तथ्य : भ्रामक (Misleading)/एआई निर्मित (AI Generated) घटना वास्तविक भए पनि भिडियोमा एआई प्रयोग गरी दृश्यलाई अतिरञ्जित बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add